समाचार
समाल्न गाह्रो हुन्छ दिनमै मनमा सपनाहरु हुल बनेर पसेपछि
दिल सधैं रसाइरहन्छ झरनाहरु पहाडबाट मूल बनेर खसेपछि
झुल्किन त झुक्किन्छ सूर्य पहाड तराई र बेंसीका फाँटहरुमा
तर दिन रात उस्तै हुन्छ दिलमा अँध्यारो नै सुल बनेर बसेपछि ।।
गुदी नभएको बोक्राको तामझाम देखियो
नामवाला पनि तामझाममा बदनाम देखियो
गन्हाए पनि फोहोरिलाई गन्ध, सुगन्ध लाग्छ
मै हुँ भन्छ जो, उसैबाट यहाँ छलछाम देखियो ।।
आकाशभन्दा पर उज्यालो एउटा जून छ
जूनेली रातमा बजिरहेको एउटा धून छ
म त्यो धूनमा एक्लै नाँच्न चाहान्थे तर,
त्यही धूनभित्र घाउ बल्झाउने बैगून छ ।
दिलभित्रै खिल बनेछौ चाहेर पनि फाल्न सकिनँ
आँखाभित्रै छायाँ बनेछौ कदम कतै चाल्न सकिनँ
बेलाबेलामा मेरो ब्यवहार बिझायो कि तिमिलाई ?
सोचभित्रै चित्र बनेछौ मायामा विष हाल्न सकिनँ ।
अचेल मानिसको मनमा रत्ती भर पनि डर भएन
अचेल आफ्ना भन्नेहरुको कत्ती पनि भर भएन
मानवको भन्दा बढी ईश्वरको बिश्वास गरे
तर ईश्वरको दृस्टी सधै पर कहिल्यै वर भएन ।
उषा केसी