• २०८३ कार्तिक ३०, आईतवार

तिलोत्तमा साहित्य सङ्गमको २६औँ शृङ्खला सम्पन्न

तिलोत्तमा ।

तिलोत्तमा साहित्य, कला, सङ्गीत प्रतिष्ठानको आयोजनामा महाकवि देवकोटाको व्यक्तित्व र कृतित्व चर्चा सहित तिलोत्तमा साहित्य सङ्गमको २६औँ शृङ्खला सहिद गङ्गालाल पुस्तकालय तिलोत्तमा–१ ड्राइभर टोलको सभाहलमा सम्पन्न भयो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरलाई जोड्दै सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले नेपाली साहित्यका विराट प्रतिभा, मूर्धन्य साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व र कृतित्वमाथी वृहत् चर्चा गर्नुभएको थियो

संस्थाका अध्यक्ष वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीको अध्यक्षतामा तथा संस्थाका महासचिव लीलाधर पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा लक्ष्मण ज्ञवाली, लीलाधर पाण्डेय, श्रीराम नेपाली, नारायण प्रसाद भण्डारी डी.आर. न्यौपाने ’सूर्य’, ढालानन्द चालिसे ,उद्धव देवकोटा लगायतका साहित्यकार हरूले आआफ्ना मौलिक रचना वाचन गर्नु भएको थियो ।

वाचित रचनाको समीक्षा गर्दै वरिष्ठ साहित्यकार डा. मुरारि पराजुलीले यस किसिमका साहित्यिक सङ्गम सर्जकहरूका लागि सिकाइको एकीकृत मञ्च बन्न सफल रहेको कुरा बताउँदै साहित्य सङ्गम सर्जकका सिर्जनालाई परिस्कृत ञञधब११बनाउने उत्कृष्ट माध्यम बनेकोमा खुसी ब्यक्त गर्नुभयो ।
सो कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष होमराज भुसालले संस्थाले गरिरहेका रचनात्मक कामहरूको प्रशंसा गर्दै साहित्य लेखनमा सहभागिता बढाउन आगामी दिनमा सिर्जनात्मक लेखनका कार्यशालाहरू पनि सञ्चालन गर्न संस्थालाई सुझाब दिनुभयो। कार्यक्रममा राष्ट्रिय सहकारी बैंक भैरहवा शाखाका प्रमुख ऋषिकेश ज्ञवाली तथा समाजसेवी भूमिश्वर ढकालको पनि उपस्थिति रहेको थियो ।

तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार दिउँसो २ः०० बजेदेखि सहिद गङ्गालाल पुस्तकालयमा सञ्चालन हुने कुरा कवि उद्धव देवकोटाले जानकारी गराउनुभयो ।