कविता

यात्रामा सोचेको पनि हुनसक्छ र नसोचेको पनि । यात्रामा बुझेको पनि नबुझिन सक्छ र नबुझेको पनि बुझिन सक्छ । नजानेको जानिन सक्छ, जानेको असत्य साबित पनि हुनसक्छ । यात्रा साधारणतया हिँड्नुसँग जोडिन्छ । हिँड्नु एउटा गति हो, र गतिको मापदण्डमै प्रगतिको तह स्थापित हुँदैजान्छ । यात्रा खुट्टाले मात्र नाप्दैन, विचारको अनुभूति–अनुभव र उमेरको पनि सँगसँगै क्रमशः यात्रा भइ नै रहन्छ । जीवनमा भौतिक सम्पन्नता भए अरू कुरा त अरूबाट पनि गराउन सकिएला । तर विचार, अनुभूति र अनुभव भने आफैँले आर्जन गर्नुपर्छ । जस्तो आमा बन्न कुनै पनि नारीले आफैँ गर्भिणी हुनुपर्छ र शिशु जन्माउनुपर्छ । आमा हुनुको अनुभव र अनुभूति आमा भएपछि मात्र थाहा हुन्छ ।
जीवनवयको आरोहण जति अघि बढ्दै जान्छ, विचार–अनुभूतिमा पनि त्यस्तै परिवर्तन हुदै जाँदोरहेछ । कताकता हार्दिकता पनि लाटो बन्दै जाँदोरहेछ । व्यावहारिक प्रवञ्चनाको गधा भएपछि बाध्यतावश जति ठूलो भारी पनि बोक्नै पर्दोरहेछ । कहिलेकाहीँ यसबाट वाक्कदिक्क भएर भाग्न खोज्दा पनि बाटो हराएर फेरि उहीँ फर्कन बाध्य हुँइदोरहेछ । मनभित्र हज्जारौँ कोलाहल बोकेर एकान्त ठाउँमा बस्ने कल्पना गर्दा पनि ठाउँ मात्र एकान्त हुँदोरहेछ । मन त उही भीडभाड र कोलाहलबीच निसास्सिँदो रहेछ । कहिलेकाहीँ भीडमा पनि एकान्त अनुभूति हुनेरहेछ र कहिलेकाहीँ एकान्तमा पनि हल्ला–होहल्ला र जुलुसको सामना गरिरहनु पर्दोरहेछ ।
कसले कसलाई बुझ्न सक्छ र जीवनमा ! बुझ्छ भन्ने र बुझ्छु भन्ने एउटा मीठो भ्रम हो । आत्मिक सम्बन्ध धेरै कममा हुन्छ, कृत्रिम हार्दिकता भने सबैमा हुन्छ । यही हार्दिकताका मोहमा मख्ख पर्नेहरू नै यो दुनियाँमा सबभन्दा बढी दुःखी हुन्छन् । एक दिन त असली र नक्कली व्यवहारको भेद प्रदर्शन भइहाल्छ । भ्रम हटेकोमा त्यस बेला खुसी हुनुपर्ने हो तर मानिस दुःखी हुन्छन् र सत्र ठाउँ गुनासा र आक्रोशका पोकाहरू खोल्दै जान्छन् ।
मानिसलाई सबभन्दा प्यारो लाग्ने आफ्नै रूप, अनुहार र स्वभाव हो । झडङ्गे, उटपटाङ्गे, शान्त, गम्भीर, किचकचे, पिलन्धरे जस्तो स्वभाव भए पनि प्रत्येक मानिसले आफ्नो स्वभावलाई बडो जतनले स्याहारेको हुन्छ । जस्तो प्रत्येक मान्छेसँग आफ्नै नाम हुन्छ, त्यस्तै प्रत्येक मान्छेभित्र आफ्नै स्वभाव हुन्छ । आफ्नो स्वभावको ऐनामा अरूलाई हेरेर टीकाटिपप्णी गर्दा मानिसहरूलाई औधी आनन्द लाग्छ । धेरैजसो मानिसहरू जीवनको अनमोल समय अर्काकै टिप्पणी र चियो–चर्चोमा बिताउँछन् । अर्काको कुरा काटेर समय काट्नु, आरम्भमा त मज्जै होला । तर यसको लत बसेपछि कुनै लागू–पदार्थभन्दा उसको असर कम हुँदैन । बिस्तारैबिस्तारै उसको जीवनको महत्वपूर्ण काम नै कुरा काट्ने हुनजान्छ, त्यो नभएसम्म, नपाएसम्म ऊ न राम्ररी खानसक्छ, न सुत्न, बस्न सक्छ ।
शिष्टाचार, सभ्यता निर्वाह गर्न पनि अब अप्ठ्यारो हुँदैजाँदैछ । प्रेम, हार्दिकता, सदभावना– आखिर जे भने पनि समय हो । यो महानगरी सभ्यतामा, यो महँगाइको हिमाल चढ्न कति कठिन छ । पैदलहरूको कुरा ३० वर्ष शासन गर्ने निर्दलले पनि बुझेन, यसपछि आएको बहुदल र लोकतन्त्रले पनि बुझेन । सत्र ठाउँ, सत्र नमस्कार गरेर सत्र ठाउँ काम गर्नुपर्ने बाध्य मानिसहरूसँग आफूलाई अलिकति सुमसुम्याएर माया गर्ने त समय हुँदैन भने अरूका लागि कसरी समय उबारोस् । अरूप्रति दर्शाउनुपर्ने प्रेम, हार्दिकता र सद्भावनाका लागि त्यस्ता मानिसहरूलाई कसरी अवसर प्राप्त होस् । नित्य, निरन्तर कोल्हुको बयलजस्तो एकनास खटिरहनुपर्नेहरूसँग आफ्नै लागि त सदा रित्तो हुन्छ, अरूलाई के जोगाएर राखोस् । जीवनयात्राको यस शिखरमा आइपुग्दा अचेल नित्य यस्तै अनुभूति भइरहेछ ।
कुनै प्रयोगवादी कवि भनाउँदाको कविताजस्तो शब्द, वाक्य सबै हुँदाहुँदै पनि कुनै अर्थहीन भाव जञ्जालमा परेको तर कविता भन्नैपर्ने बाध्यताजस्तो जीवन अमूर्त बन्दै जाँदैछ । एब्स्ट्र्याक्ट कलाजस्तो रङ्ग, आकृति भएर पनि स्पष्ट चिन्न नसकिने, जस्तो अर्थ लगाए पनि हुने जस्तो– जीवन कति अस्पष्ट बन्दै गइरहेछ । जसलाई सँगसँगै भएर पनि छुन सकिरहेको छुइनँ, जोसँग यतिका वर्ष बाँचेर पनि आफैँले आफैँलाई स्पष्ट ठम्याउन सकिरहेको छुइनँ । जुन जीवनसँग म यतिञ्जेल बाँचेँ, र बाँचिरहेछु– सधैँ ऊसँग निरन्तर हिंडिरहँदा पनि अहिलेसम्म एउटा यकिन विश्वास र स्पष्ट विचार पाउन सकिरहेको छुइनँ ।