वसन्तवेला

यो घरमा जब म नयाँ दुलही भएर भित्रीए त्यही दिनदेखि देउरानी र म बीच बोलचाल बन्द भो । त्यो घरमा दुई दाजुभाइ । मेरा श्रीमान जेठा । भाइले पहिला बिहे गरे । बिहे गरेको दुई बर्ष सम्म हाम्रा देवर बाबुको सन्तान भएको थिएन । किन सन्तान भएनन् त्यो मेरो चासोको विषय बनेको थियो । यो चासो हाम्रा सासू ससुरालाई पनि थियो । खासै भन्ने हो भने हाम्रा देवरलाई बच्चा नभएकोमा कुनै ग्लानी देखेकी थिइन मैले ।
हामी दुवै देउरानी जेठानी एकै गाउँका । एकै स्कुलमा पढेका । बच्चामा सँगै बाख्रा गोठालो गाको । अलिक हुर्कँदै गएपछि मेलापात भारो पर्म सँगै हिड्ने गरेको । उनी बच्चा देखि अलि नक्कली थिइन । तेर्ह चौधको वय उमेरमै लिपिस्टिक लगाउथिन । आठ नौ कक्षा पढ्दा नै लभ लेटरको ओइरो लाग्थ्यो । मलाई देखाउँथिन । राम्री पनि थिइन बिछट्टकी । दस बर्षको उमेरमा नछुने भइन ।
मेरो देवर र श्रीमान पनि त्यही महेन्द्र मा. वि. मा पढेका । देवर पढ्न अलिक कम्जोर । देउरानी बिजुली थिइन । सेन्ट अप परिक्षा सकिनु अघि देवरले पनि प्रेम प्रस्ताव राखेछन् । एकान दुईकान मैदान भो । हेड सरले पनि थाहा पाए । देउरानी उत्ताउली सबैलाई थाहा छ । देउरानीले मेरा श्रीमानलाई मन पराउदिरछिन । फेरि मेरा श्रीमानचै मलाई मन पराउने रछन । पुष्पाको प्रेमलाइ उहाँले इन्कार गर्नुभएको रहेछ ।
एकदिन एकान्तमा भेटेर पुष्पालाई सम्झाउनु भएछ ।
“तिमीलाई मेरो भाइ केशवले मन पराउँछ उसैसँग बिहे गर”
“म त हजूरलाई पो मन पराउछु कसरी भाइसँग बिहे गरू” परिस्थितिले भाइसँग बिहे हुन पुग्यो । बिहेमा हाम्री देउरानीले मेरा श्रीमानलाइ भनेकी थिइनरे-
“आखिर जुन घरमा तपाईं हुनुहुन्छ म त्यही घरमा भित्रिँदै छु । मैले मन पराको पुरूष म सँगै मेरै आँखा वरिपरि नै त हुन्छन् देखुँला म पनि … ।”
दाइको बिहे नगरी भाइको बिहे गर्नुहुन्न भन्ने सामाजिक प्रचलन समेतको वेवास्ता गरि हाम्रा देवर राजाले बाजा बजाए । पुष्पाले मेरा श्रीमानलाई मन पराउछिन भन्ने कुरो अरू कसैलाई पनि थाहा छैन । हाम्रा देवर राजाको एकोहोरो पिरती र पुष्पाको उत्तालो पनले ती सबै परिस्थिति निम्त्याएको थियो ।
सत्य कुरो भन्नुपर्दा मैले चै मेरा देवर राजा लाइ मन पराउथे ।
मनको कुरा भन्न मात्रै पो नसकेको हो । मैले मेरा देवर राजालाई पाउने जुक्ति गर्दा मेरी देउरानीले भाजो हालेकी थिइन । आखिर न मैले चाहेको पुरूषसँग मेरो बिहे भयो न उन्ले चाहेको पुरूषसँग उनको बिहे भयो ।
आज बिहे गरेको पनि तीन महिना बित्यो ।
हामीले माया गरेका दुवै पुरूष एकै घरमा छन् । हामी दुई नारी संयोगवश एकै घरमा परेका छौँ । म मेरी देउरानीको लोग्नेलाई मन पराउँछु । उनी मेरो लोग्नेलाई मन पराउँछिन । म मेरा देवर देखेर मक्ख छु । देउरानी मेरा श्रीमान देखेर मक्ख छिन् । हामी सबै एकाघरमै छौँ तर त्याहा आत्मीयताको वसन्त फुल्न सकेको छैन ।
प्रेम शरीरसँग हुन्छ कि आत्मासँग ?
यो प्रश्न सुर्यास्त सँगै अस्ताउँथ्यो र सुर्योदय सँगै झुल्कन्थ्यो । सुर्य मलीन भएर अस्ताए पनि उदाउदा उसको तेज निर्विकल्प सत्य भएर फूलका बोटहरूलाई तातो किरणले माया गर्छ ।
माया न्यानो स्वेच्छाचारको आमन्त्रण हो । काँडाले घोचेका फूलहरू मात्रै सुरक्षीत बाँच्न सक्छन बोटमा । शरीर भोग्नु एउटा कुरा प्रेममा रहनु अर्को कुरा । तर दुवैको सहमिलन उत्तम हो । हामीमा यो कुराको अभाव बाँचिरह्यो । जिन्दगीमा चाहेका कतिपय कुराहरू पूर्ण हुँदैनन् । तर मान्छे कहिले अपुरो बाच्दैन ।
देउरानीको व्यवहारमा परिवर्तन आयो । बचपनदेखिको साथी थिइ ऊ तर बोल्दिन । मैले उसको प्रेम खोसेँ । कसैको प्रेम खोसिदिनु पनि पाप थियो होला । यसो त उसले पनि मेरो प्रेम खोसेकी थिइ । मैले त्यो बेला अभिव्यक्त गर्न सकेकी थिइन त्यो चै मेरो गल्ती थियो । त्यो कुरा मैले स्वीकार गर्नैपर्छ । ऊ मेरो लोग्नेलाई चाहन्थी । म उसको लोग्नेलाई चाहन्थे । चाहँदामा के हुँदोरहेछ र आखिर !
प्रेमको मुहान कहाँ थुनिएको छ र बहाव मात्रै त फरक हो नि !
रातभर हाम्रा देवर राजा र देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर सुन्थे मेरा श्रीमान निदाएको बेला ।
के कुरा गर्छन होला । बिहे गरेको यतिका बर्ष भयो साच्चै आफुले माया गरेकी केटी पाउँदा आफ्नो प्रेमको सदुपयोग गरेका छन त ? कस्तो अचम्मको छ यो दुनियाँ ? चाहेको पुग्दैन र पनि मान्छे त्यही चाहना पुर्तीको बाटोमा हिडिरहन सक्छ । म त्यस्तै भएँ आज ।
मानिस सपनाको छाया वरिपरि घुमिरहन्छन् । सपना आशा हो । मानिस आफैँ त्यागिन्छ तर आशाबाट बन्चित हुन सक्तैन ।
एकै ओछ्यान एकै अगालोमा जवर्जस्त बेरिएर सुतेपनी मनले बेरिन सकेन भने मायाले बेरिन सकेन भने त्यहाँ प्राप्तिको बाटो अन्त हुन्छ र मानिस आफू हिड्ने बाटो मोडन खोज्छ ।
म देवरलाई मन पराउने । देउरानी मेरा लोग्नेलाइ मन पराउने । मेरा देवर मलाई होइन आफ्नै श्रीमतीलाई मन पराउने ।
एउटाले मात्रै एकोहोरो मन पराउनु अन्तत पराजित हुनु हो ।
यहाँ अपराजिताहरू ज्यादै कम छन । एकदिन मैले मेरा श्रीमान लाई भने-
“हाम्रा केशव बाबू दुखी देखिनु हुन्छ किन होला ?”
“उसले मनपराको ले उसलाइ मन पराइनन समस्या यति हो”
“समस्या यो भन्दा अरू गम्भीर के हुन सक्छ र ?”
“जिन्दगी बिताउनु त हो बितिहाल्छ नि ?”
“केवल बिताउने नाउँमा आफ्नो आत्मालाई किन बलि दिनु ?”
“एउटा कुरा भनी भने म महिला भन्नू होला ?”
“भनन महिला पुरूष भन्दा पनि समस्या पो ठूलो रह्यो”
“हाम्री देउरानीले हजूरलाई मन पराउँछिन ?”
“कसरी !! यो त पाप हो । म जेठाजु हुँ उसको !”
“जेठाजु हुनुभन्दा पहिल्यै मन पराउथिन उनले हजूरलाई”
त्यो दिन मैले भेद खोलिदिए । मनमा लागेको भने । भन्नू थियो । उहाँले सुन्नु भो । मैले नभने पनि घरकाले थाहा पाउँथे कुनै दिन । मलाई पनि हलुको भो । एउटा भारी बिसाएँ । देउरानी नबोल्ने म सँग । तर एकदिन आफैँ बोलेँ । बोलेर आयु घटदैन । बुहारी जेठाजु भन्दा भुतुक्कै । “तिम्ले सानैमा मन पराको मान्छेले मलाई त्यति वास्ता गर्दैनन आज कल” कुरा सुनेर पुष्पा खुशी भइन । अरूको दुःखमा मानिस आफू सुखको अनुभूति गर्छ किनकि त्यस्तै दुःख उसले भोग गरिरहँदा म जस्तै दुखी अरू पनि रेछन भनेर ऊ खुशी हुन्छ रे ! मानिस दुखी यो मानेमा छन् कि अरू खुशी छन् र मानिस खुशी यो मानेमा छन् कि अरू दुखी छन् ।
स्त्रीले चाहिन भने घर सप्रन्छ । चाहिनन् भने घर बिग्रन्छ । कसैको आवाद घर स्त्रीकै कारणले उजाड बन्छ कसैको उजाड घर स्त्रीकै कारणले आवाद बन्छ । देउरानी अब मसँग बोल्ने भइन । हामी मिल्न थाल्यौँ । म उनको जेठाजुसँग खुशी हुन नसकेको कुरा खुलेर कुरा गर्न थालेँ । सिङ्गो जिन्दगी बिताउनु त छदैंछ तर यसरी यो ढंगले जीवन नौका कसरी अगाडि जाने होला र ! दबिएको त्यो अमित वासना किनार हुन खोज्दैथ्यो ।
ढोका थुनेर घन्टौसम्म म देवरको कल्पना गरि बस्थेँ । देख्छु उहाँले खाएको, लाएको, हिडेको बोलेको । अति मीठो लाग्थ्यो । घोप्टो परेको जुँघा, चौडा छाति, बलिस्ठ हात । मैले कल्पेकी एउटा पुरूष हुन मेरा देवर ।
तर देउरानी उनै देवरलाइ मन पराउदिन । पुरूष मन पग्लिन्छ छिटो । स्त्री हिमालको बरफ हुन । धेरै तातो किरण चाहिन्छ जमेको हिउँ पग्लिन ।
मन परेको पुरूष अगाडि उभिदिए मात्रै पनि कस्तो खुशीको मादकता चढछ स्त्री मनमा ।
एकदिन एकान्तमा मैले देवरको हात समातिदिए ।
मै तिर नजर विस्फारित गर्दै मुसुक्क हासेर उनी कलेज गए । पहिलो चोटि देखेँ देवर राजाले यति मीठो मायालु हासोले मलाई तृप्त पारेका । नत्र उनी ज्यादै कम हास्ने पुरूष हुन् ।
म भाउजू हुँ । तर पुरानी प्रेमीका पनि त हुँ नि । उनले पो मेरी देउरानीलाई मन पराएका थिए तर मैले त उहाँलाई मन पराएकी थिएँ नि । भन्न पो सकिन त । भनेकी भए पनि के गर्नु र देवर एकोहोरो भाका थिए पुष्पाको प्रेममा । तर पुष्पाको मनमा अर्कै पुरूष थियो मेरो लोग्ने ।
हरेक पुरूष अहममा बाँचिरहन्छ र स्त्रीलाइ आफू अनुरूपको बाच्न र हास्न सिकाउँछ । सबै स्त्री सबै पुरुषको इच्छा र इशारामा बाच्न सक्तैनन् र चाहँदैनन् पनि । सम्झौता नै गरेर बाँचेको जिन्दगी त्यो आधा जिन्दगी मात्रै हो । स्त्रीको आधा खुसीमा पुरूषको आधा खुशी थपिए मात्रै पो त्यो पूर्ण हुन्थ्यो होला ।
एकदिन देउरानीले मलाई प्रस्ताव गरिन-
“दिदी मलाई मेरो प्रेम फिर्ता गर्नु सक्नु हुन्छ ?”
“बुझिन पुष्पा के भन्न खोजेकी ?”
“तपाईको लोग्ने मलाई दिनुस म तपाईंलाई मेरो लोग्ने ”
“के यो सहज होला र ?”
“सहज बनाउने अरूले होइन हामी ले त हो नि दिदी ”
“लोक- लाज सासु ससुरा समाज नि ?”
“मलाई थाहा छ तपाईं केशवलाई कति धेरै माया गर्नुहुन्छ ।
हामी सँगै स्कुल पढदा तपाईले लुकाएर केशवलाई चकलेट दिनुहुन्थ्यो । तपाईंको मात्रै एकोहोरो चकलेटि माया थियो त्यो । केशव तपाईलाई होइन मलाई मात्रै माया गर्थयो । म हजूरको लोग्नेलाई माया गर्थेँ । यी दुई दाजुभाइले हामी दुवैको प्रेमलाइ बुझेनन् है दिदी । अब गर्नुहोस दिदी केशवलाई धित पुर्याएर माया गर्नुस तर मलाई मेरो किरण दिनुस् । बिन्ती म किरण सँग मात्रै खुसी रहन सक्छु ।
“पुष्पा चकलेटि माया के माया जो खाउन्जेल मात्रै मीठो निले पछि स्वाद्ले भुलेर जान्छ तर स्वाद लिनेले चै भुल्दैन ”
“चिन्ता नगर्नुस केशवलाई मैले बृतान्त सुनाइ सकेकी छु ”
“उनी त मेरा देवर हुन अब सामाजिक बन्धन पनि त छ नि ”
“देवर त हो नि छोरा त होइन नी ”
पुष्पा उ आफ्नो प्रेम प्राप्तिका लागि जे गर्न पनि तयार छे ।
म भित्र दमित त्यो माया फेरि फक्रन खोज्यो । किरणको प्रतिबिम्बित हो केशव जसलाइ मैले मेरो आत्माले चाहेको थिएँ । जब म यहाँ किरणसँग बिहे गरेर आएँ त्यो केवल केशव प्राप्तिको एउटा महत्त्वपूर्ण बाटो थियो । प्रेममा बहस हुँदैन । प्रेममा वक्तृत्व पनि हुँदैन । प्रेममा केवल मौनता हुन्छ ।
मौनता प्रेमको नदी हो । चुपचापमा नै फक्र्यौं हामी र मैले कहिले व्यक्त गर्न सकिन केशव प्रतिको मेरो आत्मिक प्रेम किन कि ऊ पुष्पालाइ माया गर्थ्यो । मैले खोसिन उसको खुशी मुटुलाई । कहिले पनि । दैहिक प्रेम थियो भने शरीर भोग पछि तिर्खा मेटिन्थ्यो र आफैँ किनार लाग्थ्यो प्रेम । तर यो आत्मिक प्रेम थियो जो मुटुको छायामा टुसा उम्रेको छ ।
केशव पुष्पालाइ (आफ्नै श्रीमतीलाई) एकोहोरो माया गर्छ । तर पुष्पा किरणलाई (जेठाजु) लाई एकोहोरो माया गर्छे । म केशव अर्थात मेरो देवरलाइ माया गर्छु । यो कथाका हामी तीन पात्र मनोद्वन्दमा फसेका छौँ । यसको समाधान के हुन सक्ला !
खोइ के हो म बहुलाउन थाले जस्तो लाग्यो । किरण निदाए पछी म देवर देउरानी सुतेको कोठा बाहिर ढोकामा कान थापेर बसिरहन्छु आजकल ।
निन्द्रा नलागेर आखाको भृकुटीनै कालो कालो भएको छ । उनीहरूले स्वास फेरेको सुनिरहन्छु । कल्पना गर्छु मेरो देवर (मेरो प्रेमी) ले कसरी भोग्छन होला पुष्पालाइ । मेरो दमित यौन भाव त्यो ढोकामा पुगेपछि उभारिन्छ । र त्यहाँ उभिएर कान थापेपछी तिनीहरूको मन्द श्वास सुन्छु । म एकाएक उत्तेजित हुन्छु । अनि शिथिल हुन्छु ।
एउटा अचम्मको रोग लागेको छ मलाई ।
महिलालाई लाग्ने हिस्टेरिया भएको छ मलाई ।
निद्रा नआएको धेरै रात भो । एक प्रकारको बिमारी भएँ म । निन्द्रा लाग्ने गोलिले पनि काम गर्न छोडे छ अब त । एक दिन त डबल डोज परेछ । किरणले हात जोडी बिन्ती गरे डबल डोज स्लिपिङ टयाबलेट नखाउ भनेर । म भित्र उकुसमुकुस छ ।
बेचैनी छ । पुरूष भन्दा महिला शान्त र सितल हुनुपर्ने हो तर म हुन सकिन । म भित्र एउटा अभाव बाँचिरहेको छ अतित देखि । मैले केशवलाई चाहे तर पाइन । नपाएको कुरा नै किन महत्त्वपूर्ण हुन्छ यो सँसारमा हँ ? हरेक रात देवर देउरानी सुतेको ढोकाको कापबाट तिनलाई चिहाएर हेरेपछि मात्रै म मानसिक र शारीरिक तृप्ती पाउथे । यो क्रम धेरै दिन रह्यो ।
असन्तुष्ट देउरानीले एक्दिन साचो कुरा खोलीन-
“दिदी मरि जाम हामी सँगै सुत्दैनौ ”
“एकै ओछ्यान अनि त्यसो भन्ने बच्चा जस्तो कुरा नगर न ”
“ओछ्यान एक भएर के भो मन दुई भएपछि ?”
पुष्पाको कुरा सहि लाग्यो । ओछ्यान एकै भएर के काम ? सिरानी पनि एक भएर के काम ? जब सपना फरक फरक छन भने, उदेश्य फरक छ भने, मन भिन्न छ भने । अनि मैले केशवलाई माया गर्नु पनि त्यहि त होला नि ।
एकै ओछ्यानमा जव फरक मन निदाउँछ त्यहाँ अपनत्वको अभावमा न्यानोपन पनि रहँदैन । सिरक एकै ओढ्नु प्रेमको न्यानो ताप्नु पनि होइन नि । माया ओछ्यानुपर्छ माया नै सिरानी हुनुपर्छ र माया नै सिरक हुनुपर्छ अनि सपना पनि एकै देखिन्छ । त्यो बिनाको माया माया होइन त्यो त केवल बासना हो । लोग्नेको स्वाद के सहवास मात्रै हो त ? लोग्ने हुनु आइमाई सुरक्षीत हुन मात्रै हो त ? स्वास्नी हुनुलाई उ पुरूषको अकोपाइड मात्रै हो त ? यो त महिला कोटामा परी लोकसेवा परिक्षा पास गरे जस्तो भएन र ?
म किन यतिबिघ्न केवश भन्दा भुतुक्क भाको ? उ पुष्पालाइ पो माया गर्छ मलाई त गर्दैन नि । अनि ? अनि किन म ऊ भन्दा भुतुक्क हुनु ? के छ त त्यस्तो उसमा जुन चिज किरण सँग छैन ।
देउरानी खुशी छैन । म पनि किरणसँग खुशी छैन । हामी दुवै जोइपोइ भित्र एउटा असन्तुष्टिले बास गरेको धेरै भो । उहाँहरू दाजुभाइ हुन । तर त्यति खुलेर पनि बोल्दैनन । किरणको व्यापार छ उसलाई प्रेम, स्वास्नी, यौवन, यौनसँग चासो छैन ।
ऊ केवल मेरो ओछ्यानमा साथी बनि दिन्छ बस । सुतिदिन्छ ।
निदाउँछ मस्तले । घुर्छ । मलाई घुर्ने बानी भाको मान्छे बिल्कुल मन पर्दैन । किरण चुरोट पिउँछ । पिउन त केशव पनि पिउँछन तर खोइ स्वास गन्हाए जस्तो लाग्दैन ।
मन परेको मान्छेले जे गरे पनि सुहाउने है । हिजो भात पस्किदा देवर र भन्नू भो- “भाउजू कति मीठो तरकारी”। कस्तो पुलकित भएँ म । बोली नै मीठो मेरा देवरको । ओठ नै स्वादिलो । महिलालाई यदि जे गर्न पनि छुट भाको भए म देवर राजाको गालामा म्वाई खाइदिन्थे । आइमाईलाई किन बलात्कार गर्ने छुट छैन हँ ? नत्र मैले जानेथेँ ।
आज स्लिपिङ टयाबलेटको डोज कम भएछ । बिचरी म । किरण निदाएछ । फेरि उही देवर सुतेको ढोकाबाट कान थाप्न थाले ।
आज देवर देवरानी झगडा गरेको सुने । देवराजले एक थप्पड हाने देउरानीको गालामा । ऊ रून थाली । त्यो क्षण मलाई आनन्द लाग्यो । म चाहन्छु यी दुइको झगडा होस । केशव म तिर फर्कियोस । केशव र पुष्पा बीच यौन सम्बन्ध पनि नहोस् । केसव चोखो रहोस । कुनै दिन आउला उसको सबै कुमार बैँस म भित्र पोखोस । म भिजु निथू्क्क । मलाई हलहली पसिना आवोस । म आनन्दले मुर्छा परुँ । म भित्रको दमित वासना केशवको शरीरलाई भोग चढाउँ । कति आनन्द होला त्यो बेला । उसको छायाले मलाई निलोस । खप्पै खावोस मलाई त्यो अगालोले । म हलुका हुन्थे हुँला । किन केशव सोच्दैमा मलाई उत्तेजना हुन्छ । केशव आगोको अगुल्टो हो जसलाइ म आफ्नो शरीरमा झोस्न चाहन्छु । के हिस्टेरिया यहि हो ? । दमित वासना ? । म मा अलिकति पागलपनको सिम्टम आइसकेको छ ।
झगडा सुनेपछि ढोकाबाट फर्किए । आनन्द आयो । किरण घुरिरहेकै थियोे । म नहुँदा चुरोट पिएछ । मुखबाट एउटा नमीठो दुर्घन्ध फैलिरहेको थियोे । एउटा भिन्दै सिरक लिएर त्यो रात म भैमा सुते । त्यो घर कति उदार छ म अचम्मित हुन्छु । त्यहाँको स्वन्त्रता साच्चिकै अनमोल छ । ससुराले कहिले गाली गर्दैनन् ।
सासु यो उमेरमा पनि हासखेल रमाइलो गर्छिन ।
एक्दिन सासुले मलाई एक्लै बोलाएर भनिन-
“ठुली तिमी मेरो कान्छो केसुलाइ मन पराउछ्यौ हो ?”
“हो, तर हजूरलाइ कसरी ? म उहाँलाई सानैदेखी मन पराउथेँ”
“मैले तिमी राती राती केसुको ढोकाबाट फर्केको देख्थे ”
“तर त्यस्तो केही होइन आमा म उनीहरू झगडा गरेकी भनेर बेलुकी चिहाउँथे ”
“केसुले गल्ती गर्यो ठुली दुलै पुष्पाले किरणलाई पो मन पराउदि रैछन् । हामी सोच्दै छौ के गर्नी भनेर । तिम्रा ससुरा लाई यो सबै घटना थाहा छ । हाम्रो घरको समस्या हामी नै मिलाउनुपर्छ ठुल दुलै ।”
सासुबुहारीको गन्थन लामो भो । त्यो रात मलाई खोइ किन पो हो स्लिपिङ टयाबलेट नखाई निन्द्रा पर्यो । ओखतीले निन्द्रा ल्याउने होइन रहेछ । निन्द्रा ल्याउने चिज त मनको खुशी पो रहेछ । मन नै हो रेछ सबैभन्दा ठुलो शत्रु पनि सबैभन्दा ठुलो मित्र पनि । कसरी देवरसँग बिहे गर्नु के भनेकी होलिन हाम्री सासु आमोइले । किरण मस्त निन्द्रामा थियो । पहिले जस्तो म पुन देवर राजाको ढोकाबाट चिहाउन गइन । मन सम्हालिन थाल्यो । किरण जसले मलाई बिहे गरेर ल्यायो उसलाई म किन यति विघ्न घृणा गरुँ । उसको गल्ती के छ र ? मेरो पुष्पाको र केशवको गल्तीले किन किरणलाई पल पल मारुँ । ऊ पनि त पुरूष हो ।
पुष्पाको असन्तुष्टि उस्तै थियो । एक्दिन ससुराले हामी चरैजनालाइ आफ्नो कोठामै बोलाउनु भो । थालमा माला अवीर थिए । कुनै मन्दिरबाट आएका होलान प्रसाद दिन बोलाका होलान् भन्ठाने । सासू ससुरा म देवर र किरण सँगै थियौ । ससुराले देवर राजाको मुखमा हेर्दै भने-
“केसु पुष्पालाई तिमीले मन परायौ बिहे गर्यौ तर पुस्पा तिम्रो कहिले पनि हुन सकिनन् । पुष्पा किरणलाई मन पराउँछिन यो कुरो तलाइ पनि था थ्यो । अनि तेरि भाउजू किरणलाई होइन केशवलाई मन पराउँछे । यहाँ पुरूषले मन पराउनुको कुनै अर्थ रहन्न । नारीले मन पराइदिइन भने मात्रै पुरूषको घर पक्काको हुनेरहेछ ।
त्यसैले मैले यी बुहारीहरूको प्रेमलाइ सम्मान गर्दै पुष्पलाइ किरण र केशवलाई ठुल दुलहीसँग बिहे गराउँदैछौ । ल माला पहिराउ बुहारी हो आफूले मन पराको पुरूषलाई ”
सासू ससुराको साक्षा त मन्जुरीमा हाम्रो दोस्रो बिहे भो । मैले सोचें दमित वासना होइन रहेछ दमित प्रेम पो रहेछ जिन्दगी त !
लक्ष्मण सिटौला
[email protected]