• २०८३ असार २१, आईतवार

लीलाध्वज थापा साहित्य सम्मान-पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान

काठमाडौँ ।

यस वर्षको लीलाध्वज थापा साहित्य सम्मान÷पुरस्कार वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानलेआयोजना गरेको कार्यक्रममा परराष्ट्रविद् एवं साहित्यकार डा. जयराज आचार्यले रु २५ हजार राशिसहित सम्मानपत्रको सो पुरस्कार घिमिरेलाई प्रदान गर्नुभएको हो । आचार्यले समकालीन साहित्यिक विषयमा गहन समाचार छाप्ने साहित्यिक पत्रिका रचनाका सम्पादक घिमिरेलाई पुरस्कार दिन पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार डा देवी नेपालले लीलाध्वज थापाको साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले भाषा, साहित्यको सेवा गर्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो । पुरस्कृत व्यक्तित्व घिमिरेले उपन्यासकार लीलाध्वज थापाका नाममा स्थापित संस्थाले दिएको पुरस्कार पाउँदा खुसी लागेको बताउनुभयो । यो पुरस्कार यसअघि आठ जनालाई प्रदान गरिसकिएको छ । विसं २०७५ देखि यो पुरस्कार स्थापना गर्न सुरु भएको हो । पहिलो वर्ष प्रा डा. वासुदेव त्रिपाठीलाई यो पुरस्कार प्रदान गरिएको थियो । दोस्रो वर्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई यो पुरस्कार प्रदान गरिएको थियो ।

त्यसपछिका वर्षमा क्रमशः प्रा. डा. तारानाथ शर्मा, संस्कृतिविद् कवि तुलसी दिवस, प्रा. गोपीकृष्ण शर्मा, इतिहासविद् ज्ञानमणि नेपाल, आख्यानकारी गीता केशरी र प्रा. डा. दयाराम श्रेष्ठलाई पुरस्कार प्रदान गरिसकिएको छ । प्रतिष्ठानले प्रत्येक तीन/तीन महिनामा लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गर्ने गरेको छ । रु १० हजार राशिको यो सम्मान हालसम्म ८३ जनालाई प्रदान गरिसकिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताउनुभयो ।