• २०८३ जेष्ठ १७, आईतवार

‘मीना दिदी पुरस्कार’ स्थापना

काठमाडौँ ।

समाजसेवी तथा प्राध्यापक डा. आरती कार्की र मदन पुरस्कार विजेता लेखक डा. नीलम कार्की निहारिकाले आफ्नी आमा मीना कुमारी कार्कीको स्मृतिमा ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार’ स्थापना गर्नुभएको छ । उक्त पुरस्कार हरेक वर्ष एक जना महिला शिक्षकलाई प्रदान गरिनेछ ।२०२३ सालदेखि अध्यापन सुरु गर्नुभएकी मीना कुमारी कार्कीले अर्घाखाँची र पाल्पाको झडेवास्थित किसान माध्यमिक विद्यालयमा अभिछिन्न २७ वर्षसम्म शिक्षण पेशामा योगदान दिनुभएको थियो । उहाँको शिक्षकीय निष्ठा, सङ्घर्षशीलता र इमानदार सेवाको स्मरण स्वरूप पुरस्कार स्थापना गरिएको डा. कार्की दिदीबहिनीले बताउनुभएको छ ।

‘हाम्रो आमाजस्तै सङ्घर्षशील, उत्प्रेरक र इमानदार महिला शिक्षकहरूबाट छनोट गरेर वर्षमा एक जनालाई पुरस्कार दिने योजना छ, उहाँहरूले भन्नुभयो, ‘यसका लागि स्वयम् शिक्षकले आवेदन दिनु पर्दैन । अभिभावक, विद्यार्थी वा सहकर्मी जो–कोहीले छोटो परिचय सहित सिफारिस गर्न सक्ने प्रावधान राखेका छौँ ।’ सिफारिसहरू [email protected] पुरस्कारका लागि आवेदन आह्वान भइसकेको छ ।

यसअघि किसान माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरूले उमाकान्त पोखरेलको संयोजकत्वमा मीना कुमारी कार्की जीवित रहँदा नै ‘मिना दिदी’ पुस्तक प्रकाशन गरी आफ्नी गुरुआमाप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।मीना कुमारी कार्कीका छोरा डा. देवेन्द्र कार्की र श्रीमान् भद्रबहादुर कार्की २०५६ सालमा दुर्घटनामा परी दिवङ्गत हुनुभएको थियो । मीना दिदीको निधन २०७८ माघ २१ गते भएको हो । उहाँले अध्यापन गरेको किसान माध्यमिक विद्यालयको वार्षिक उत्सव समारोह आगामी ५ फागुनमा आयोजना हुँदैछ । सोही अवसरमा ‘मीना दिदी पुरस्कार’ पहिलोपटक प्रदान गरिने जानकारी दिइएको छ ।

लेखक नीलम कार्की निहारिकाले आफ्ना मन्तव्य तथा अन्तर्वार्ताहरूमा आफ्नो पहिलो साहित्यिक कृति आमाले आफ्नै सञ्चय कोषबाट प्रकाशन गरिदिएको र लेखन यात्राको प्रेरणा पनि आमानै भएको उल्लेख गर्दै आउनुभएको छ ।