• २०८३ श्रावण ४, सोमबार

खेमराज पोखरेलको ‘अर्कै सत्य’ कथासङ्ग्रहको लोकार्पण

कथाकार खेमराज पोखरेलको ‘अर्कै सत्य’ कथासङ्ग्रहको लोकार्पण गरिएको छ । भुँडीपुराण प्रकाशनको आयोजनामा ग्रिनलिफ फुडल्याण्ड पुतलीसडकमा आयोजित उक्त कार्यक्रममा लोकप्रिय साहित्यकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्य र भुँडीपुराण प्रकाशनका प्रबन्ध सञ्चालक केशव पराजुलीको सभा अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि भागिरथी श्रेष्ठ, प्रा.डा. सुरेन्द्र केसी, डा. दीनबन्धु शर्मा, वरिष्ठ कथाकार पुष्कर लोहनी, समीक्षक अनिता कोइराला, साहित्यकार विश्वराज अधिकारी तथा कथाकार पोखरेलले लगायतले एकसाथ कृति लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भागीरथी श्रेष्ठले ‘अर्कै सत्य’ कृति अत्यन्तै सारगर्भित र पठनीय रहेको बताउँदै कृतिकार पोखरेललाई बधाई तथा आगामी दिनमा थप उत्कृष्ट कृतिका लागि शुभकामना व्यक्त गरिन् । श्रेष्ठले पोखरेललाई अत्यन्त ऊर्जाशील, सहयोगी र प्रेमिल स्वभावको भन्दै एक परिष्कृत समालोचकको रूपमा समेत चित्रण गरिन् । उक्त अवसरमा प्रा.डा. सुरेन्द्र केसीले राजनैतिक परिदृश्यमा आंकलन गरिएका सत्यभन्दा वर्तमानमा अर्को सत्य उद्घाटित भएको बताउँदै समकालीन सहकर्मी पोखरेलले जीवन र जगतका यावत कुराको अर्को सत्य उजागर गरिदिएकामा बधाई र कृति सफलताका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कृतिको गम्भीर विवेचना गर्दै चर्चित समालोचक तथा कथाकार डा. दीनबन्धु शर्माले कथाकार पोखरेलले उत्तरआधुनिक चिन्तनका आधारमा कथालेखनको नयाँ धार पक्रिएको र उत्कृष्ट ढङ्गले सामाजिक यथार्थ प्रस्तुत गरेको बताए । डा. शर्माले ‘अर्को सत्य’ कथासङ्ग्रहका हरेक कथामा यौनिक विषयवस्तु आए तापनि तिनको मुख्य उद्देश्य भने मनोवैज्ञानिक विश्लेषण गर्नु रहेको बताए। उनले पोखरेलका कथाहरूले गतिशील समाजको मनोविज्ञानलाई सुन्दर रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे ।

कृतिको परिचर्चा गर्दै समीक्षक अनिता कोइरालाले मानवीय सम्बन्धहरू किन भाँचिन्छन् भन्ने सवालमा कथाहरू मान्छेको मनभित्र गहिरोसँग प्रवेश गरेकाले मनोपरामर्शदाताहरूका लागि समेत यो सङ्ग्रह अध्ययनयोग्य रहेको बताइन् । उनले वर्तमानमा देखिएका उतारचढाव मिहीन रूपमा प्रस्तुत गर्न सक्नु पोखरेलको विशेषता रहेको बताउँदै नेपाली साहित्यको भण्डारमा एउटा ईंटा थपिएको उल्लेख गरिन् । समीक्षक कोइरालाले कथाहरूले गम्भीर र गहन यथार्थ प्रस्तुत गरेको उल्लेख गर्दै यसले वर्तमान नेपाली समाजको यथार्थ तस्बिरलाई जीवन्त रूपमा उतारेको बताइन् ।

उक्त अवसरमा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले छोटो समयमै २÷३ कृतिको लोकार्पण गर्नु सामान्य कुरा नभएको बताउँदै कृतिकार पोखरेलको साहित्यिक यात्राको निरन्तरताको कामना गरे । सो अवसरमा आफ्ना सिर्जनात्मक अनुभवहरू साट्दै कृतिकार खेमराज पोखरेलले कार्यक्रममा उपस्थित भई अमूल्य सुझाव र शुभकामना दिने सम्पूर्ण दिग्गज व्यक्तित्वहरू, परिवारजन एवं पाठकहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । साहित्यकार जयराम बिडारीको अनुसार एन्जल निलुले सहजीकरण गरेको उक्त कार्यक्रममा बज्जिका भाषाका ज्ञाता एवं साहित्यकार विश्वराज अधिकारीले शब्दमार्फत उपस्थितजनलाई स्वागत गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापतिका आसनबाट बोल्दै भुँडीपुराण प्रकाशनका प्रबन्ध सञ्चालक केशव पराजुलीले उत्कृष्ट नेपाली कृतिलाई पाठकहरूसमक्ष पु¥याउने कार्यमा प्रकाशन प्रतिबद्ध रहेको उल्लेख गर्दै उपस्थित सम्पूर्ण साहित्यकार एवं पत्रकारलाई धन्यवाद ज्ञापनसहित सभा विसर्जन गरेका थिए ।