• २०८१ कातिर्क २५ आइतबार

सद्गत

श्रवणकुमार ढुंगाना

श्रवणकुमार ढुंगाना

त्यो त थाहा भएन । ऊ कहिले, कहाँबाट कसरी आयो भन्ने ठ्याक्कै सम्झना भएको अरू कोही मानिस मैले भेटेको पनि छैन । यत्ति थाह छ- ऊ कतै टाढैबाट आयो । ऊ आएपछि विस्तारै त्यसको मन्दिरको रूपमा ख्याति बढ्दै गएको कुरा साँचो हो । उसको नाम मन हो वा हरि हो वा त्यो दुवै होईन कसैलाई थाह छैन । धेरै मानिसहरू के भन्थे भने, ऊ सँधै ‘मनमा हरि राख्नु पर्छ, यो त हरि राख्न मनलाई खाली गर्न आउने ठाउँ मात्र हो, नत्र त यो मूर्ति ढुंगो मात्र न हो’ भन्थ्यो, तेसैले उसको नाम मनहरि गुरू हुनगयो । आउन त मानिसहरू त्यहाँ मन खाली गर्न पनि आए होलान्, मन भर्न पनि आए होलान्, मनको प्रदर्शन गर्न पनि आए होलान्, त्यो कुरासँग उसलाई चासो भने थिएन । ऊ निरन्तर पूजा, ध्यानमा मस्त रहन्थो । मन्दिर आउनेलाई पूजाविधिमा सघाउन समेत फूर्सद नहुने गरी उसलाई टिका र फूल लगाइदिने हतारो मात्र रहने गरी मन्दिर लोकप्रीय भएको थियो । टिका लगाइदिंदा वेला वेला हात पुछ्न उसले एउटा ढुंगो राखेको थियो, त्यो पनि अविर र केशरीले यति रंगिएको थियो कि कहिले काहीँ मानिसहरू तेसलाई पनि देवता ठानेर फूल प्रसाद चढाइदिन्थे । हाँसो लाग्यो ?
ए ! हो, हो, ठिकै सुनेका हौ । त्यो मूर्ति चोरी भयो । चोरी भएपछि बल्ल मनिसहरूले थाहा पाए, त्यो मूर्ति झण्डै १५ सय वर्ष भन्दा पुरानो रहेछ । त्यसो त मूर्ति चोरी भएपछि कतिपयले भन्नथाले- त्यो मूर्तिको प्राचिनता को कुरा गुरूलाई थाहा थियो र बेला बेला भन्ने पनि गर्थे, तर कसैले ध्यान दिएन ।मूर्ति चोरी भएपछि त्यो मन्दिर रिक्त स्थानझैं  हुँदैगयो । त्यहाँ कहिलेकाहीँ कि त अतिश्रद्धाका कारण वा अति पीडाका कारण पुज्नेहरू आउँथे, कि त शान्त एकान्तमा ध्यान गर्नेहरू फाट्ट फुट्ट आउँथे । तर, मनहरि गुरूलाई भने त्यसले कुनै फरक पारेन । उसको मुहारमा चमक बरू बढेको थियो घटेको थिएन । तर शरीर भने गल्दै गएको थियो ।
त्यो कुरा त तिमीले जस्तै मैले पनि सुनेको मात्र हुँ । चासो राखेको भए देख्थेँ भेट्थेँ होला । अरूले जस्तै मैले पनि विर्सँदै गएँ । विरामी छन् रे भन्ने अलि अलि हल्ला थियो । हो, ठिक भन्यौ । त्यो चौपारोमा अहिले रहेको मन्दिर पछाडि एउटा ठूलो चट्टान लडेपछि बनेको खाडल थियो, त्यो झाडि र त्यहीँ उम्रिएको बयरको काँडाले ढाकिएको थियो । गन्हाउन थाले पछि मानिसले थाह पाए र कुनै आईएनजिओ कर्मीहरू आएर त्यहाँबाट फोहरसँगै उठाएर लगे रे । जलाए वा गाडे थाहा भएन । मानिसहरू पछि सम्म पनि चिन्ता गर्थे, विचराले आफ्नो संस्कार अनुसारको सद्गत पाएकि पाएनन् भनेर । आत्महत्या गरेको होईन, मन्दिर चल्न छोडेपछि खानेकुरा आउन छोड्यो, विरामी थिए हिंड्न पनि सकस हुने अवस्थामा देखें भन्नेहरू पनि थिए । त्यहीँ फलेको बयर खान टिप्न गएका थिए होलान् खाडलमा खसे भन्थे उनको अवस्था देखकाहरू ।
अहिले जुन त्यो चौपारोको स्थानमा भव्य मन्दिर बनेको छ नि, देश देशावरबाट मानिसहरू अगाध आस्था राखेर आउँछन् नि ! हो त्यहाँ मुख्य मानेर पूजा गरिने शिला त्यही मनहरि गुरूले हात पुछ्ने गरेको ढुंगो हो ।


श्रवणकुमार ढुंगाना
[email protected]