समयको गति छड्केको छड्क्यै छ । यो छड्क्याइमा विगत करिब दुई महिनायता गाउँ–बस्ती, सहर–बजार, टोल सर्वत्र सुनसान छ । सबैतिर बन्दाबन्दी छ । मानिसको मनका नानाथरी आशङ्काहरू छड्किरहेका छन् । गति छ तर केवल कोरोना कहरको र खुला छ खालि यसको त्रासदी । इतिहासको सबैभन्दा आतङ्कित र भयावह समय अहिले हामी बाँचिरहेछौँ, भोगिरहेछौँ– घरघरमा बन्दी भएर । समय बढो बलवान हुन्छ भन्थे बूढापाकाहरू । तर मानिसलाई समयले यति निरीह पनि बनाउँदो रहेछ । हामी अहिले यो बलवान समयले निरीह पारेको परिस्थितको यस मोडमा उभिएर आफैँलाई बोध गर्ने कोसिस गरिरहेछौँ ।
हामी बाँचिरहेछौँ । तर बाँच्नुको परिभाषा र भावार्थ सच्याएर बाँचिरहेछौँ । किनभने जीवन बाँच्नुको पुरानो अवधारणा अब भत्किएर नयाँ अवधारण स्थापित हुँदैछ । मृत्युलाई वरण गर्ने र यसको नजिकबाट यात्रा गरेर फर्केकाहरूका कारण हाम्रो जीवन अर्कै आयाममा रूपान्तरित भएका छ, भइरहेका छ । यही जमातमा हामी छौँ । त्यसैले यो सन्नाटा–मुटुमा अनेकौँ तरङ्गहरू छड्किरहेछन् । तापनि हामी सर्जकहरू जीवनलाई नयाँ आयाम दिँदै, नयाँनयाँ सिर्जनाहरूमार्फत् जीवनलाई पुनः परिभाषित गर्दै यस प्रतिकूलतामा पनि आफ्नै धरातलमा टेकेर अरूलाई सान्त्वना दिँदै बाँचिरहेका छौँ । आममानिसका लागि यो चुनौतीपूर्ण समय हो । सर्जक पनि मानिस नै हो र यसका लाग पनि यो समय चुनौतीपूर्ण छ । तर आममानिस र एउटा सर्जकबीच यस चुनौतीलाई ग्रहण गर्ने र चुनौती स्वयम्लाई प्रतिचुनौती दिने तरिका फरक छ । स्रष्टा–सर्जकहरू त्यसैले पुजनीय छन्, किनभने उनीहरू चुनौतीहरूसँग जुध्दै पनि सिर्जना नै उमारिरहेका हुन्छन् । महाकवि देवकोटोले मृत्युशय्यामा असह्य पीडा सहेर पनि कविता सिर्जना गरेका थिए–
रहेछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान
आखीर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान, न भो विवेक
सच्चा सर्जकको यो एउटा अनुपम उदाहरण हो । यसपटकको यो कोरोना–कहरमा हाम्रा स्रष्टाहरूले पनि यसको सुन्दर उदाहरण प्रस्तुत गरिरहेका छन् ।
वास्तवमा सिर्जना त औषधी पनि पो रहेछ । ‘अक्षरङ्ग’ ले यस बन्दाबन्दीको अवस्थामा ‘कसरी समय व्यतीत गरिरहेछन् र कसरी समय व्यतीत गर्नुपर्छ’ भनेर विभिन्न कवि–लेखकहरूसँग वार्ता गरेको थियो । यस क्रममा सबै कवि–लेखकहरू कुनै न कुनै सिर्जनामा तल्लिन रहेको देखियो । कोहीले व्यस्तता र समयाभावले पहिला अधुरा छाडेका पृष्ठहरू पल्टाएर तिनलाई पूर्णता दिनतिर लागेको बताए भने अधिकांशतः नयाँनयाँ सिर्जनाहरू उमारिरहेको पाइयो । थोरैले मात्र कोरोना–त्रासको कुरा गरे ।
निश्चय नै यो समय भयावह छ । यसको अन्त्य विकसित र अत्यन्त शक्तिशाली मुलुकका वैज्ञानिकहरूले पनि किटान गर्न सकिरहेका छैनन् । सारा विश्व अलमलमा छ, अनिश्चयको भुमरीमा फसेको छ । निकासका विभिन्न अनुमानहरू प्रकाशमा आए पनि ती कुनै आधिकारिक होइनन् भनेर विश्व स्वास्थ्य सङ्गठनले खण्डन गरिसकेको छ । यति हुँदाहुँदै पनि ‘अक्षराङ्क’ मार्फत् सम्पूर्ण कवि–लेखहरूले यस चुनौतीसँग कस्सेर प्रतिरोध गर्ने सङ्कल्प गरेका छन् । आफ्ना सचेतनापूर्ण सिर्जनाका माध्यमले ‘आर्तहरूको चह¥याइरहेको घाउ’ मा मल्हम लगाउन उत्साहको ऊर्जा थपेका छन् । यो प्रशंसनीय कार्य हो ।
हो, प्रत्यक्षरूपमा हजारौँ चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरूले तिरिनसक्नु गुन लगाएर मानवीय सेवामा अहोरात्र आफूलाई समर्पण गरिरहेछन् । ईश्वरको अवरतार भएर प्रस्तुत भइरहेका यिनीहरू सबै हाम्रा लागि वन्दनीय छन् ।
स्रष्टा–सर्जकहरू पनि आ–आफ्ना सिर्जनाका माध्यमले विचलन र विसङ्गतिको यस संवेदनशील घडीमा मानव–मनहरूलाई सान्त्वना र प्रोत्साहनको ओखती लगाइरहेछन् । यो त्यतिकै प्रभावकारी छ ।
अहिलेको यस दुरूह परिस्थितिमा मानिसका मन–मनमा हिम्मत र हौसला बढाउनु सबैभन्दा ठूलो उपचार, उपकार हो । विभिन्न सामाजिक सञ्जालमा होस् या अनलाइन पत्रपत्रिकाहरूमा– सबै कवि–लेखकहरू आफ्ना कलमका माध्यमले मानिसलाई यो विकराल परिस्थितिविरुद्ध प्रतिकार गर्न शक्ति दिइरहेका छन्, उत्साह जागृति गरिरहेका छन् ।
कविहरू कविता लेखिरहेछन्, गीतकारहरू गीत लेखिरहेछन्, सङ्गीतकारहरू सङ्गीत भरिरहेछन् र गायक–गायिकाहरू गाइरहेछन् । हुन त उनका मन पनि अवश्य विलित होलान् । उनीहरूको परिवार, नातागोता, इष्टमित्रहरू पनि यस कहरको सिकार भइरहेका होलान् । तर सर्जक भएका नाताले उनीहरू आफ्नो कत्र्तव्य र दायित्व निर्वाह गर्न पटक्कै चुकेका छैनन् । एउटा साधकको धर्म साधना गर्नु हो– चाहे अनुकूलतामा होस् या प्रतिकूलतामा । तर प्रतिकूलतामा पनि आममानिसलाई जीवनबोध गराइराख्ने सिर्जना उमार्नसक्नु अझ सार्थक साधना हो । मानिसलाई कठिन समयमा लड्न सक्ने शक्ति दिने सिर्जना दिनु अझ समयोचित हुन्छ । इतिहासमा कुनै बेला आजको दारुण र निस्साहाय घडीको चित्रण हुने नै छ तर यति बेला इतिहास लेख्ने समय होइन । यो त मानिसको मनमनमा शान्ति र सहास सिञ्चन गरेर विचलनविरुद्ध लड्न सामथ्र्य खन्याउने समय हो । वर्तमान जटिलतासँग लड्ने बेला हो । अधिकांश कवि, लेखक र कलाकारहरूले घरघरबाटै यसको सन्देश दिइरहेछन् । यो सारै सराहनीय कुरा हो । यस अर्थमा हाम्रा सर्जकहरू कहरको यस कुरुक्षेत्रमा श्रीकृष्ण बनेर भनिरहेछन्– ‘हुने हुनामी त कसै गरे पनि टर्दैन तर जे हुन्छ त्यो पनि राम्रैका लागि हुन्छ ।’ र भनिरहेछन्– ‘जस्तै परिस्थितिमा पनि आफ्नो कत्र्तव्य गरिरहनुपर्छ ।’ त्यसैले उनीहरू लेखिरहेछन् शान्ति र सहासका कविता, सान्त्वना र आशाका गीत अनि गाइरहेछन्– मानवमनलाई आत्मविश्वासले छताछुल्ल भिजाउने लय ।
सहजता र सुविधामा त पशु पनि बाँच्छ तर त्रासदी, आतङ्क र अन्योलामा बाँच्नेचाहिँ मानिस हो । हामी पनि सम्पूर्ण नेपालीहरूमा आह्वान गर्छौं– केही वर्षअघिको महाभूकम्पले थिलथिलो पर्दा पनि हामीले जीवनसँग हरेश खाएनौँ भने यस कोरानाको महामारीबाट पनि हरेश नखाई बाच्नेछौँं । यो निश्चय नै सजिलो छैन तर हामी अप्ठ्यारोमा पनि बाँच्न अभ्यस्त भइसकेका छौँ । एक दिन फेरि त्यही समय फर्किनेछ । फेरि हामी सडकपेटीहरूमा हातेमालो गर्दै हिँडौँला । फेरि दिगदिगान्तरको यात्रामा निस्कौँला । एकै ठाउँमा भेला भएर सभा–सम्मेलनहरू गरौँला । तर अहिलेको अवस्थामा घरभन्दा सुरक्षित अर्को ठाउँ छैन । हामी घरमै बसेर यस कष्टसाध्य स्थितिलाई जित्ने प्रयत्नमा सिर्जना गरिरहने छौँ । यही हाम्रो प्रतिज्ञा हो ।