समाचार
सम्झनामा
सम्झिरहने सम्झनाहरू मात्र छैनन्,
समयको बाक्लो लेपले छोपिएका
र मैले अक्सर बिर्सेका
तिनै सम्झनाहरूकै भीडभाडमा
अनगिन्ती सम्झनाहरू पनि छन् ।
समयले अपहरण गरेर
कति सम्झनाहरू
सम्झनाभित्रै बेखबर छन्,
कति सम्झनाहरू
अकस्मात् बाडुलीमा
फड्को मार्दै आउँछन् ।
कहिले फेरि-
नसम्झेका सम्झनाहरू
निष्पट अन्धकारमा
बुर्कुसी मार्दै आउँछन् सपनीमा
र मलाई झकझकाएर ब्युँझाई भाग्छन् ।
अनि, फेरि कहिले-
जूनको एक झुप्पा उज्यालोजस्तै
बिनासंकोच
खुसुक्क कोठामा छिर्छन्
बदमास सम्झनाहरू।
एक पाखानेर-
बयेलीले सुटुक्क सोहोरेर ल्याउने
शीतल सम्झनाहरू छन्,
अर्को पाखातिर-
आँखामा सिमसार जमाएर
रात गिलै पार्ने सम्झनाहरू छन् ।
यी बग्रेल्ती सम्झनाहरूको तरेलीमा
ओइ, ‘दाउरी’ !
तिमी मेरो धर्तीमा कहिल्यै नझर्ने
माथि सगरको त्यो जून भए पनि,
नसम्झिँदा पनि हुने तिमीलाई
आज किन हो-
बेस्सरी सम्झिरहेको छु ।
सुबास प्रधान