• २०८१ पौष २९ सोमबार

छोरीलाई चिठ्ठी

अप्सरा आचार्य

अप्सरा आचार्य

प्यारी छोरी !
मेरो मुटुको ढुकढुकी
हृदय भरिको असीम प्यार तिमीलाई
तिम्रो आगमनको स्वागत गर्दैछ !
बोटबिरूवामा नयाँ पालूवा पलाएर
रंगीचंगी फूलले कोपिला सजाएर
चराचुरूंगीहरूले चिर्बिराएर
शिरशिर चल्ने मिठो बतास संगै
वसन्तऋतुको आगमनले

म बन्दैछु पहिलो पटक आमा
यो अनुपम सौभाग्य सम्झदा
तनमन रोमाञ्चित मात्र हैन
हर्षले काउकुती लागेझैँ भएको छ
खुसिले पुलकित छन् मेरा पलपल

नौ महिनासम्म तीसबै दुःख कष्टहरू
यतिखेर मलाई मिठा सपनाझैँ लागिरहेछ !

छोरी ! म तिमीलाई मेरो
काखमा राखेर सुम्सुम्याउन आतुर छु,
तिमीलाई त थाहा पनि नहोला
तिमी एउटा इतिहास रच्दैछौ भनेर
किनकी
पुरै विश्व यतिबेला कोरोनाको
महामारीबाट आक्रान्त बनेको छ,
सन्सार रोइरहेको छ
देशमा लकडाउन भएको छ,
तिम्रीआमाले यो पत्र तिमीलाई
घरमै आइसोलेसन मा बसेर कोर्दैछू
म तिमिलाई यो भयानक भाईरसबाट
सुरक्षित राख्न चाहन्छु !

कल्पना पनि गरेकी थिईन छोरी
यस्तो परिस्थितिमा तिमीलाई
मैले जन्माउनु पर्छ भनेर
तर म बिचलित भएकी छैन
तिम्रो सुखद भविष्यको कामना
गर्दै म तिमिलाई भन्न सक्छु
यो माहामारीले
संसारलाई जुन पाठ सिकायो
त्यसबाट तिम्रो पुस्ताले अझ धेरै सिक्नेछ,
नयाँ नयाँ अनुसन्धान गर्नेछ,
मान्छे र प्रकृतिको सम्बन्धलाई
गहिरिएर केलाउने छ
अनी आउँदो पिढीले नयाँ युगको थालनी गर्ने छ

यी दु:खद दिनहरू इतिहास हुनेछन् र
इतिहास साक्षी हुनेछ
तिमीले
कुरा किताबमा पढ्न पाउने छौ
संसार तहस नहस भएको कुरा र
तिम्रो सुखद आगमनको कुरा
प्रतिक्षामा तिम्री आमा


अप्सरा आचार्य (इमाडोल, ललितपुर)
[email protected]