काठमाडौं, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीका अवसरमा तीलगंगा, संचारग्रामस्थित त्रिमूर्ति निकेतनमा रहेको महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण सहित कवितावाचन गरेर देवकोटाको जयन्ती मनाइएको छ । देवकोटा जयन्तीका अवसरमा भएको उक्त कार्यक्रममा साहित्यकार डा. तुलसी भट्टराई, त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाई र त्रिमूर्ति निकेतन सदस्य सचिव नरेन्द्रराज प्रसाई लगायतले महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गरेका थिए । साथै देवकोटाको सालीकसंगै रहेको कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण गरिएको थियो ।
डा. भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. डा. महादेव अवस्थी र सदस्य सचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नुनै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए ।
सोही अवसरमा कविहरू ललिता दोषी, यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कवितावाचन गरेका थिए । कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।