लीलाध्वज थापा साहित्य प्रतिष्ठानले भव्य कार्यक्रमको आयोजना गर्दै साहित्यकार श्री श्रीओम श्रेष्ठ ‘रोदन’ लाई लीलाध्वज श्रष्टा सम्मानले सम्मानित गरेको छ । उहाँ वरिष्ठ साहित्यकार तथा पत्रकार हुनुहुन्छ । लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक हुनाको साथै उहाँले गोरखापत्र दैनिकको प्रधान सम्पादक जस्तो जिम्मेवार पद सम्हालि सक्नुभएको छ । यशस्वी उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक श्रोतमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा मिति २०७९/१२/११ शनिवारका दिन प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले सम्मान प्रदान गर्नु भएको हो ।
सम्मानित स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको व्यक्त गर्दै शहरदेखि टाढा दुर्गम स्थानमा समेत साहित्यको चेतना फैलँदै जानुको कारण साहित्य प्रतिको प्रेमले हो । साहित्यकार कहिले बेइमान हुन सक्दैनन् र अमर हुन्छन् भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ भन्नु भयो । प्रतिष्ठानले हरेक महिना यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्तगर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।
हाँको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्रीवृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ । लीलाध्वज थापाको नाउँ नै ठूलो हो भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचनावाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो । आफूले काम गर्दा कहिले सानो ठुलो, कालो गोरो, आफ्नो अर्काको नभनि सबैलाई समान ब्यबहार गरेको उल्लेख गर्नुभयो । सो कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार श्रीओम श्रेष्ठकोबारे प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा डा. गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाले रचना गर्नुभएको दुर्लभ कविता ‘कालो झण्डा’ वाचन गर्नु भयो । कवि ममता मृदुलले यस प्रतिष्ठानले आजसम्म सम्मान गर्नै पर्ने, ओझेलमा परेका अग्रज स्रष्टालाई खोजि खोजी सम्मान गरेको देखेको भन्नु भयो । अध्यक्ष थापाले सम्मानित स्रष्टा लामो समयदेखि नेपालीभाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनु भएको अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाको साथै उहाँले सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको छ भन्नुभयो ।