• २०८२ माघ ५, सोमबार

वरदानौ घटोत्कच

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

पौराणिक कथामा आधारित कथा:  वरदानौ घटोत्कच: कुरुक्षेत्रको भूमि रक्ताम्य भएको थियो । जताततै रगतको आहाल थियो । लगातारको युद्धले आक्रान्त हस्तिनापुरको जनजीवनमा मात्र होइन प्रकृतिमा पनि सन्त्रास फैलिएको थियो । आकाश पनि रातो नै रातो थियो रगत जस्तै । महारथीका भीषण गर्जनमा त्राहिमाम थियो सारा प्रकृति । युद्धमा प्रयोग भएका हात्ती घोडाका स्वरहरू पनि युद्ध कै लोलीका बोली जस्तै थिए । शंखनाद भयंकर आक्रमणको संकेत दिंदै थिए । शब्दाकाशमा कर्कश आवाज सुनिंदै थियो । जसले सहजै अनिष्टको अनुमान गर्न सकिन्थ्यो । माता प्रकृति कारुणिक स्वरले रोएको आभाष हुन्थ्यो । चिच्याहट, घाइतेहरुको क्रन्दन सुनिन्थ्यो । सुनिने आवाज रणभूमिमा ढलेका वीरहरूको चिच्याहट थियो । त्यस्तै सुनिने भयंकर आवाजले नयाँ घटन जाने दुर्घटनाको पूर्वानुमान गराउथ्यो । धरती थर्थर काँपिरहेको थियो । युद्धले द्वापर युगका निकै ठुला महारथी गुमाएको थियो। इच्छा मृत्युको वरदान पाएका भिष्मपितामह शरशैयामा काल पर्खिरहेका थिए । त्यस्तै पुत्रशोकमा मात्र मर्ने वरदान पाएका द्रोणाचार्य पुत्र जीउँदै हुँदा शोक मनाउँदै देह त्यागेका थिए । राजा द्रुपद, बिराट, जयद्रथ, अभिमन्युसँगै सन्तानब्बे दुर्योधनका भाइहरूले देह त्यागेका थिए । हरेक दिन वीरगती पाउने संख्या बढदै थियो । क्रमैसँग ठुलाठुला वीरहरूले वीरगती प्राप्त गरेको थिए । धेरै गुमाएको अवस्था छ कुरुवंशले । आशाको त्यान्द्रो बोकेका कर्ण शल्यलाई सारथि बनाइ युद्ध हाँकिरहेका थिए। सोलौ दिन थियो। कमजोर मनस्थिति र उच्च महत्वकाँक्षाका साथमा महारथी कर्ण सेनापती भएर युद्ध मैदानमा थिए । त्यसैमा युद्ध भुमिमा महावली भीम पुत्र घटोत्कच पुग्छन् । कुरु सेनामा नयाँ सनसनी फैलिन्छ ।

सेनापती धृष्टधुम्नले अधिल्लो साँझ दोस्रो दिनको युद्ध रणनीति सुनाएका थिए। सबै रथी महारथीहरुलाई मोर्चाको जिम्मेवारी तोकियो। तोकिए अनुसार रथीहरूले सिपाहीहरुको व्यवस्थापन गरेका थिए । त्यसै सैनिक पन्जनीमा महारथी घटोत्कचले सम्हाल्ने मोर्चा तोकिएको थियो । सेनापतिको व्यवस्थापनसँगै श्रीकृष्णजीको थप निर्देश भयो। घटोत्कचले सम्मान गर्ने केहि व्यक्तित्व मध्ये श्रीकृष्ण पनि एक थिए । माता हिडम्बाले दिएको शिक्षा अनुसार श्रीकृष्णकाप्रतिको भक्ती निकै प्रगाढ थियो। समर्पण भावमा रहेको भक्ति त्यो युगमा आवश्यक भए प्रयोग गर्नुपर्ने वचन दिएका थिए घटोत्कचले। श्रीकृष्णलाई दिएको वचन तथा पिता भीमसेनलाई पनि घटोत्कचले जुनसुकै बेला मेरो आवश्यकता पर्‍यो भने बोलाउनु भनेकाले दुवै वचन पूरा गर्न पूर्ण समर्पण भावकासाथ घटोत्कच युद्ध मैदानमा पुगेका थिए। पाण्डवसेनाको युद्धनीति र श्रीकृष्णको निर्देशन अनुसार घटोत्कच कुरुक्षेत्रमा प्रस्तुत भए ।

घटोत्कचले मुख्य प्रहार दुर्योधन बनाउनु पर्ने निर्देशन दिइएको थियो । अन्य महारथीसँग केवल प्रतिरक्षात्मक युद्ध गर्ने र मुख्य निसाना दुर्योधन बनाउदा कर्णले युवराज जोगाउन अन्तिम प्रयास गर्नेछन् र अमोध दिव्याश्त्र प्रहार गर्नेछन् भन्ने रणनीति बनाइएको थियो । पूर्वनिर्धारित योजना अनुरुप घटोत्कचको प्रहार र प्रतिरक्षा चलेको थियो ।

घटोत्कचको उग्र गर्जनले कुरुसेनामा सन्त्रास सृजना हुन्छ । घटोत्कचका आँखा बलेका ज्वालाजस्तै झल्झल्किरहेका थिए सङ्कल्प, आक्रोश र नियतिका रेखाहरू झल्काउने गरि । जीवनको अन्तिम लक्षसहित रणभूमीमा रहेकाले निकै आक्रामक थिए । निरन्तर प्रहार दुर्योधन माथि चलिरहेको थियो । दुस्सासन, शकुनि, कृपाचार्य ,अश्वस्थामा माथिको आक्रमणमा केवल प्रतिरक्षा मात्र गरिरहेका थिए । सैन्यहरू भने जेठ महिनाको डढेलोमा पातपतिङ्गर डढे जस्तै एकै प्रहारमा सयौँ समाप्त हुँदै थिए । कर्णको प्रहारलाई पनि निस्तेज पारिएका थिए । दुर्योधन माथिको प्रहार कुरुसेनाकालागि अति असह्य थियो । दुर्योधनको बचाउका लागि जुनसुकै मूल्य चुकाउन तयार थियो कुरुसेना । अंगराज अमोधअस्त्र प्रयोग गर । अरु कुनै उपाय छैन । यो मायावी दानवलाई परास्त गर्न । मायावी दैत्य बललाई दिव्यास्त्रले मात्र परास्त गर्न सकिन्छ । शकुनीले कर्णलाई आदेशको स्वरमा भने । कर्णले सुने नसुने जस्तो गरि प्रतिरक्षात्मक प्रहारमा लागिरहे । जीवन संकटमा रहेको बेला दिव्याश्त्र लुकाएर किन राख्ने प्रयोग गर्नु पर्‍यो ।सल्लाहको भाषामा दुस्सासनले कुरा राखे। सबै महारथी एकएक गरि अमोध अस्त्रको प्रयोगमा जोड दिइरहेका थिए । केही सीप चलेन । अर्जुन वधकालागि बचाएर राखेको दिव्यास्त्र प्रयोग गर्न बाध्य भए । निकै दुख लाग्यो कर्णलाई यति दुखित कुण्डल कवच दान दिदा पनि भएनथे । यस्तो पीडा पटकपटक अपमानको प्याला पिउँदा पनि भएको थिएन । अर्जुन बाहेक अरु भाइको बध गर्नेछैन भनी माता कुन्ती र श्रीकृष्णलाई बचन दिई सकेका कर्णले यस्तो विवसतामा परि अमोध आह्वान गरे । देह छोडन सजिलो हुन्थ्यो तर यो समय अति असहज भयो। मनभित्र उब्जिएका आरोहअवरोहका कथालाई थन्क्याएर अगाडि बढे । जीवनको अन्तिम लक्ष दुर्योधनलाई साथ सहयोग गर्ने बनेको अवस्थामा दुर्योधनको जीवन संकटमा रहँदा अरु इच्छा आकांक्षा थाती राखेर एउटा साथी, मित्र जोगाउन अमोध अस्त्र प्रहार गरे ।

घटोत्कचको विशाल शरीरबाट रगतको धारा बगिरहेको थियो, तर उनको बोली अझै प्रचण्ड थियो । ती घडी उनका लागि अन्तिम थिए भन्ने अनुमान उनलाई भइसकेको थियो । उनले आफूलाई सम्हाल्दै युद्धभूमिको केन्द्रमा रहेका युधिष्ठिर र भीमतिर हेरे । पिता… तपाईंको रगत मेरो रगतमै छ । यो शरीर आज म भूमिमा छाड्नेछु, तर भीमसेनको छोरो भएर म कायर बन्न सक्दिन । भीमसेन रुँदै पुत्र…! तिमीलाई मैले युद्धका लागि होइन, जीवनका लागि जन्म दिएको थिएँ। तर नियति हामीसँग क्रूर रहेछ । युधिष्ठिर शान्त स्वरमा घटोत्कच, तिमी आज हाम्रो सेनाका आशा हौ । तर म… म एक राजा भएर पनि तिमीलाई यस बलिदानका लागि रोक्न सक्दिन ।

त्यतिकैमा कर्णको रथ नजिक आइपुग्छ। घटोत्कचको दृष्टि कर्णतिर केन्द्रित हुन्छ । घटोत्कच कर्णलाई हेर्दै हे राधेय ! तिमीले आफ्नो अमोधअस्त्र ममाथि खर्च गर्‍यौ । म एक असुरको सन्तान थिएन । तर सम्झ, जुन अमोध अस्त्रले म ढलें त्यहिबाट पाण्डवहरूको विजयको ढोका खुल्यो । कर्ण गम्भीर भएर घटोत्कच, तिमी वीर हौ । तिमीलाई मारेर म पनि लाजले आँखा झुकाउँछु । तर तिमी बाँचेको भए हाम्रो हार सुनिश्चित थियो । यसैले, मेरो अस्मितासंग जोडिएको आमोधअस्त्र तिमीमा प्रयोग गरे ।

विदारक घटना थियो । योजनाबद्ध रूपमा मृत्यु वरण गराउनु पर्ने। द्वापर युगका महावीरहरुमा आत्मग्लानी थियो। तैपनि आ(आफ्नो किसिमको कर्म लागिरहेका थिए। पृथ्वी कम्प भयो। भीमपुत्र ढल्दा वायुको गति रोकिएला जस्तो भयो। माता प्रकृति रोएको भान भयो। महावीरको पराक्रमको देवलोकमा सम्मान भयो। दैत्यदेहमा उत्पन्न घटोत्कच दिव्यदेह रुपान्तरण भइ देवमय स्वरुप प्राप्त गर्दाको क्षण अदभूत थियो। शिवगणहरूमा समाहित हुनै लागेका घटोत्कच सामु रथबाट ओर्लिएर श्रीकृष्ण छेउ पुगेर थुमथुमाए  तिम्रो त्यागले इतिहासमा नयाँ उचाई थप्यो । आउने युगमा वरदानौका नाममा देवमय स्वरुपमा पुजनीय हुनेछौ । समर्पण भावको उदाहरण हौ । शिवालयको अगेवानी शिवगण भइ लोक बिख्यात हुनेछौ । भन्दै श्रीकृष्ण मौन रहि श्रद्धाभाव प्रकट गर्दा पाण्डव सेना स्तव्ध भयो ।


कैलासकुमार पाण्डेय, परशुराम ३ डडेल्धुरा