• २०८१ मंसिर १७ सोमबार

यसवर्ष मातृभाषा कविता साहित्य महोत्सव नहुने

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा आयोजना गर्दै आएको मातृभाषा साहित्य महोत्सव यो वर्ष स्थगित गरेको छ । प्रतिष्ठानमा कुलपति लगायत प्राज्ञ परिषद् नियुक्त नहुँदा हरेक फेबु्रअरी २१ तारिख (फागुन ९ गते) हुने महोत्वस स्थगित भएको हो । प्रतिष्ठानले सन् २०१० देखि निरन्तर दुई दिने मातृभाषा गोष्ठी, बहुभाषिक कवितावाचन तथा सांस्कृतिक झाँकी प्रदर्शनको आयोजना गर्दै आएको थियो । त्यसका लागि एक महिना अघि सार्वजनिक सूचना दिएर मातृभाषाको कविताको आह्वान गर्दै आएको थियो ।

एउटा भाषाको बढीमा दुई कविको कवितावाचनका निम्ति छनोट गरिन्छ । ती कवितालाई समेटेर ‘मातृभाषा दिवस–मातृभाषा कविता सँगालो’ संग्रह प्रकाशन गरिँदै आएको थियो । साथै राष्ट्रपतिबाट महोत्सवको उद्घाटन गरिन्थ्यो । प्रतिष्ठानको मातृभाषा दिवस आयोजन समितिका पूर्व उपसंयोजक पदम राईका अनुसार गत वर्ष संस्कृत लगायत ४० भाषाका कवितावाचन गरिएका थिए । युनेस्कोले सन् २०२२–२०३२ लाई ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरेको छ । ‘यही दशकको दोस्रो वर्ष नेपालको भाषा, साहित्य, संस्कृति, इतिहास प्रवद्र्धन गर्ने आधिकारिक निकाय मातृभाषा प्रति मौन रहनु हाम्रो निम्ति दुर्भाग्य हो,’ भाषाशास्त्री राईले भने ।

प्रतिष्ठान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको छ । ‘सरकारले प्राज्ञ परिषद नियुक्त गरेको छैन,’ प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारीले कान्तिपुरसित भने, ‘कर्मचारीमात्र रहेकाले महोत्सवको आयोजना गर्ने अनुमति छैन । त्यसैले यो वर्ष मातृभाषा कविता महोत्सव सम्भव भएन ।’ यसैगरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भने मातृभाषा दिवसमा बहुभाषिक कविता गोष्ठी नियमित राखेको जनाएको छ । प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङले भनिन्, ‘अन्तर्राष्ट्रिय मातृभाषा दशकको अवसरमा मातृभाषा कविता गोष्ठी गर्ने निर्णय सहित सूचना जारी गरेको छ ।’