एक
दुख्छ नि मन दुखाउनेले दुखाइदिएपछि
टारीखेतमा लाग्ने कुलो सुकाइदिएपछि ।
यो जीवनै सुम्पेको थेँ मैले तिम्रो हातमा
भूइँमा फाली कुल्चिदियौ रूवाइदियौ आत्मा
चोटमाथि चोट थप्यौ घातमाथि घात
भुमरीमा घुमेजस्तै भए पिपल पात ।
जल्छ नि मन जलाउनेले जलाइदिएपछि
पूजा गर्दागर्दै मूर्ति ढलाइदिएपछि ।
कोमल फूल नै बनेपछि बिझाउने काँडा
अब जान नपर्ने भो बैरी खोज्न टाढा
त्यही काँडाले दुखाएको घाउ छ धेरै गहिरो
जुन घाउमा जाने गर्छ घरिघरि पहिरो ।
रून्छ नि मन रूवाउनेले रूवाइदिएपछि
पाती भनी झुक्काई सिस्नो छुवाइदिएपछि ।
दुई
सलल बग्छ मस्र्याङ्दी नदी दरौँदी बोलाउँदै
तिमीलाई सम्झी म किनार बसी हेर्दैछु टोलाउँदै…
बगरैबगर हिँडेथ्यौँ पहिले किनारैकिनारमा
ढुङ्गालाई पुजी बालुवा टीका लाएथ्यौँ निधारमा
खसेर गयो बालुवा टीका झझल्को रहिरह्यो
यो देब्रेतिर छातिको कुना बोझिलो भैरह्यो ।
दरौँदी आयो मस्र्याङ्दी भेट्न खैरेनी घाटैमा
म भने यता पर्खेर बसेँ छुटेको बाटैमा
आइदिए हुन्थ्यो मङ्गले सम्झी गएकी मालती
नपर्दै साँझ उतार्थें मैले उनैलाई आरती
ढाकेर राख्थेँ हियारैभित्र कमलो कपासले
उडाइदेला भनेर छेक्थेँ बैगुनी बतासले ।
मस्र्याङ्दी रम्यो दरौंदी भेट्दा मलाई भो खिन्नता
कहिलेसम्म म राखूँ भन म मनमा रिक्तता ।
(रूपा–५ देउराली–उकाली, कास्की)