अर्कैको पर्खालमाथि कुर्सिमा बसेर
तल–तल हेर्दै
ऊ बेस्सरी कुर्लियो म देखाइदिन्छु
कि म को हो भनेर
यो हैसियत र बिरासत
आदि–आदि
ढल्नै लागेको पर्खाल हेर्दै
स्रोताहरू भने किचिने भयले
परपर सर्दै थिए
निमेषमै गर्ल्याम्म आवाज आयो
धुलो र धुँवाले केहि देखिएन
स्रोताहरू खोज्दैथिए
यहींँ कतै भेटिन्छ कि भनेर
र पनि केहि भेडाहरू
वहाँ अझै माथि नै हुनुहुन्छ भनेर
माथि माथि हेर्दैथिए
तर अफसोस !
ऊ
टुपी पनि नदेखिने गरि पुरिएछ
सायद
धर्तीमा उचाइ र धुलोबिच
गहिरो नाता रहेछ ।
युवराज अधिकारी