आऊ, बाहुपाशले बाँध मलाई
आकाशको छातीभित्र ताराजस्तै लुक्न मन छ ।
बर्षातको यो रिमझिम रातले
बादलझैँ उडेर, सँगै पुगौँ भन्छ ।।
पर्खाइको पीडाले नीरस अङ्गअङ्ग ।
जलाएर दिल यो भतभती पोल्छ ।।
आँसु धुने पानी माग्छु गडगडाउँछ मेघ अनि ।
गगनसँगै नयन मेरा बर्सिदिन्छन् झरी बनी ।।
जून आज मलिन छ हराएर चाँदनी ।
झिल्को बनी नाचिरहेछ एक्लै सौदामिनी।।
बतासजस्तै बहकिएर उडौँकि निर्बन्ध ।
हावाले बोकी ल्यायो तिम्रै मीठो सुगन्ध ।।
भिजाएर तन- मन मस्त छ यो मौसम ।
हराएर तिमी भित्रै बनौँ लाग्छ प्रेमान्ध।।
नाच्छ मयुर मदमस्त इन्द्रेणी पङ्ख खोलेर ।
रुँदैन न्याउली आजकल विरही भाका बोकेर ।।
सुस्त- सुस्त पवन पनि छुन्छ प्रीत घोलेर ।
प्रतीक्षाका रात कट्छन् आफैसँग बोलेर।।
रुझेर सर्वाङ्ग झरीमा, लोभ्याउँछन् वृक्ष- लतिका मनलाई ।
आऊ, भिजाऊ वर्षा बनेर अँगेठी तनलाई ।।
मेघमाला बनी बेर, रूझाऊ यो वदनलाई ।
हराएर तिमीभित्र भेट्टाउनु छ आफैँलाई।।
भरिएर पूर्ण यौवन बगिरहेछन् नदी- नाला ।
छचल्किरहेछु म आज आई प्यारले सम्हाल ।।
तिर्खालु अधरले खोजिरहेछन् प्रेम- प्याला ।
भरेर जीवनरस मायाले अङ्गाल।।
प्रेम उन्मादमा मात्तिरहेछ देह सारा ।
झमझम दर्केर भिजाऊ बाँझा गरा ।।
नव- सिर्जना फुलाउन पर्खिरहेछिन् धरा ।
मिलनको मदहोशमा पारौँसृष्टि हराभरा ।।
(पोखरेल चर्चित साहित्यकार हुन् ।)
[email protected]