• २०८३ भाद्र २३, मंगलवार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति साहित्यिक स्रष्टाको सामूहिक श्रद्धाञ्जलि

काठमाडौँ ।

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको महाविनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति साहित्यिक संस्था समन्वय समितिको संयोजनमा सामूहिक श्रद्धाञ्जलिसभा आयोजना गरिएको छ । पशुपति-गुह्येश्वरी मन्दिरअगाडि बागमती नदी किनारमा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक संघसंस्था तथा स्रष्टाहरूले सामूहिक रूपमा दीपप्रज्वलन गर्दै बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

शोकसभामा साहित्यिक संस्था समन्वय समितिका संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र वरिष्ठ कलाकार मदनदास श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शोक मन्तव्य व्यक्त गरे । उनीहरूले विपद् र संकटका समयमा लेखक, कवि, कलाकार तथा सम्पूर्ण स्रष्टा समुदाय एकजुट भएर पीडितका पक्षमा उभिनुपर्नेमा जोड दिए ।

नेपाली भाषा, साहित्य तथा कला क्षेत्रमा क्रियाशील करिब एक सयभन्दा बढी संस्था आबद्ध साहित्यिक संस्था समन्वय समितिको आयोजनामा श्रद्धाञ्जलिसभा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्रष्टाहरूले दीप तथा मैनबत्ती प्रज्वलन गरी बाढीमा परी ज्यान गुमाउनेहरूको स्मरण गर्दै मृतात्माको चिरशान्तिको कामना गरे । उनीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावित सबैप्रति ऐक्यबद्धता प्रकट गरे।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार तीन सय ५५ पुगेको छ । बिहान ११ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट चार हजार नौ सय ९६ जना अझै सम्पर्कविहीन छन् ।