समाचार

२०१५ साल असार २२ गते
सूर्योदयसँगै इलाममा जन्मेको हूँ
स्कूल पनि त्यही पढेको
अनि इलाम क्याम्पस भर्ना भएँ
पहिलो कविता ४ मा पढ्दा
सरले कविता लेखेर ल्याउन भन्दा
सन्तोष राई सरले निर्देश गरे अनुसार लेखें
पछि क्याम्पसको कविता प्रतियोगितामा
भाग लिएँ, प्रथम भएँ तर
त्यही कविताले थुनामा पनि परें
त्यतिबेला हेमराज ज्ञवाली सिडियो थिए
इलाम क्याम्पसमा पढ्दा पढ्दै
म केही काण्डमा मुछिए
र त्यहाँ छोडेर दार्जिलिङ पढ्न गएँ
विरामी भएर ६ महिनामै फर्किएँ
र त्यो समयमा पाँचथर गएँ जागिर खान
तर कपडा लिन इलाम फर्केको बेला
सुनसरी मोरङ सिंचाइ आयोजनामा
चान्स पाएकोले पाँचथरको जागिर छोडेर
म विराटनगर गएँ र
त्यही महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएँ ।
इलाम हुँदा नै पत्रिका निकाल्न थालें
त्यही क्रम र संलग्नता
विराटनगरमा पनि यथावत रह्यो
साहित्यिक संलग्नता बाहेक
खेलकुदमा पनि मेरो संलग्नता रह्यो
म अञ्चल स्तरिय फुटबल खेलाडी थिएँ
साथ संगत र रुचिले गर्दा होला
विस्तारै म खेलजगतबाट टाढा हुँदै गएँ
र साहित्यतिर नै म बढी लागें
कृष्णभूषण, प्रमोद प्रधान, शैलेन्द्र साकार
मोहन निरौला आदि साथिहरुसँग लागेर
शनिबार साहित्यिक समूहमा सक्रिय भएँ
यस समूहमा लागेपछि काव्यात्मक
गतिविधिहरु/ सम्मेलनहरु गर्न थालियो
त्यही बेला भुट्टो आन्दोलनले गर्दा
हामीले पनि त्यहाँ सडक कबिता क्रान्ति गर्यौं
जनमत संग्रहको बेला मैले
कार्टुन चित्रहरु बनाएर प्रदर्शनी पनि गरें
इलाममा पनि जनमत ताका
बहुदलका पक्षमा भाषण गर्दै हिडिंयो ।
उन्चालिस सालतिर मात्र म काठमाडौं आएं
यहाँ आएर जागिर संगसंगै मैले
रत्नराज्यबाट पत्रकारितामा डिप्लोमा गरें
अनि पछि नेपालीमा कीर्तिपुरबाट स्नातकोत्तर
यही बीच एक वर्ष कानूनपनि पढें
जीवन समान रुपले चलेन
धेरै नै उतार चढाव र बद्लाव आए
सिंचाईमा जागिर त स्टोर किपरको थियो
तर हाकिमको मात्र नभएर
अंचलाधीशको समेत पीए भएर काम गरें
काठमाडौं आएर पनि त्यही सिंचाई साप्ताहिकमा
स्तम्भ लेख्थें र त्यही लेखनका कारण
समातिने खबर पुष्प प्रधानले दिएपछि
म फेरी इलाम जानुपर्यो
यसरी त्यो बेला दर्जनौ पत्रिकामा
स्तम्भ लेख्ने र सम्पादनमा सघाउने काम गरें ।
अब संलग्नता कै कुरा गर्ने हो भने
करिब दुई दर्जन संघ संस्थाहरुमा
विभिन्न पदाधिकारी र सल्लाहकार छु
लेखन/ प्रकाशनको कुरा गर्ने हो भने
६ वटा मुक्तक संग्रह
८ वटा कविता संग्रह
एउटा गीति एलबम प्रकाशित छन्
सम्पादन र अनुवाद भने धेरै त होइन
३०/३५ वटा पत्रिका र किताबहरुको गरें होला
सम्मान वा पुरस्कार पाउँछु भनेर
समाजसेवामा लागेको होइन म
तर पनि साना ठूला गरेर ५६ वटा
सम्मान- पुरस्कारहरुबाट पुरस्कृत भा’छु
म अहिले पनि धेरै पत्रिकामा लेख्छु
तर आफ्नो नामबाट लेख्दिन
बेनामबाट लेख्ने गर्छु
यसरी बेनामबाट लेख्नुको बेग्लै मज्जा छ
लेख्नु बाहेकको मेरो लत नै भनौं
संघ संस्थाहरुमा संलग्न भएर काम गर्नु हो
वास्तवमा म चूप लागेर बस्नै सक्दिन
इलामबाट काठमाडौं आएपछि
पहिले ‘सिसास’ अनि ‘सापस’ मा लागे
साहित्यिक पत्रकार संघमा त
अहिले फेरि आएर अध्यक्ष भएको छु
साँच्चै भन्ने हो भने कतिपय संस्था त
मलाई चलाई दिनु पर्यो/ मृत भयो
भनेर जिम्मा लाउन आउनु भएको छ
र मैले जिम्मा लिएर ती संस्थालाई
सगरमाथाको उँचाई पनि दिएको छु ।
अझै पनि दर्जनौ संस्थामा संलग्न छु
मुख्यतः अनेसास, इलाम बिकास समाज,
शंकर लामिछाने र साहित्यिक पत्रकार संघ
अनि नेपाल भारत साहित्य महोत्सव
यी सबैमा लागेपछि सिर्जना चाहि मर्दो रहेछ
तर पनि समाजसेवाको नशा लागेपछि
चटक्कै छोड्न चाहिं गाह्रो छ ।
२०४० सालमा मागी विवाह गरे
रिपेश र दिपेश दुईजना छोराहरु छन्
ठूलो अस्ट्रेलियाबाट मास्टर्स सकेर
अहिले यहाँ रेस्टुरेन्ट चलाउँदै छ
सानो आइटी इन्जिनियर, उतै छ
अँ ! नामको कुरा गर्ने हो भने
बिराटनगर आएपछि मात्र गुप्ताबाट लेकाली भा’हुँ
बिराटनगरमा मलाइ नामले नचिन्ने
एकथरीले ‘रेड ज्याकेट’ र अर्को थरीले
‘लेखाली’ भन्थे त्यही सुनेर मैले
लेखालीलाई सच्याएर लेकाली भएँ
दुख वा पछुतो भन्ने हो भने
एउटा त लेखन भन्दा संस्थालाई बढी समय दिएँ
र अर्को बाह्र सय पेजको ‘नेपाल भारत सम्बन्ध’
भन्ने किताब कम्प्यूटरबाट उड्यो
र ४० को दशकमा तयार मेरो कविताको पाण्डुलिपी
रामप्रसाद पोखरेलसंगै हरायो
यी कुरा संझे भने साह्रै उदास हुन्छ मन ।
डाहा गर्नेहरु प्रशस्तै छन्
प्रतिशत उही भएपनि मेरो सर्कल ठूलो छ
धेरै मान्छे चिनेको छु, शत्रु नि धेरै होलान
धेरैले धेरै ठाउँबाट उडाउन खोजे
तर सकेनन्, म झन् बलियो भएँ
आफूले गरेको कामको जवाफ आफूसँग भए
कसैले पनि केही गर्न सक्तैन
पुस्तौं पुस्ता व्यापारी घरानामा जन्मेर
पढ्ने, जागिर खाने, साहित्य र समाजसेवामा लाग्ने
म पहिलो व्यक्ति हुँ जसले
फरक धारको यति लामो यात्रा गर्न सकेको ।
राजेन्द्र शलभ
[email protected]