• २०८१ बैशाख ६ बिहीबार

युगीन दिन

सुमन थापा सङ्गम

सुमन थापा सङ्गम

चराहरू उडेर गएपछि
आकाश रित्तो भएको थियो
छालहरू
नदीकिनारमा आएर
आत्मदाह गरेपछि
किनार एक्लो भएको थियो
नयाँ बिहानी लिएर
फर्की आउने वाचा गर्दै
मुटुबाट वर्षको अन्तिम दिन
बिदाइ भएपछि
विचार भत्किएर
मन एक्लो भएको थियो

जहाँ-
केही नपुगेजस्तो गरी
युगीन दिन तिमी-
थोरै फेरिएर अनि धेरै उस्तै भएर आउँदा
जीवनले अर्को एक खुट्किलो
उकालो मात्र चढ्यो
तिमी यसरी आउँदा
मान्छेहरू अधुरै रहन्छन्
उसै गरी हृदयको गन्तव्य अधुरो नै रहन्छ

नवीन सृष्टि रच्न
नवीन मिति तय गर्न हिँडेको
यात्री नअलमलियोस्
हिंसाका घाउहरू नफैलियोस्
भुइँभरि सुस्ताएर बसेका
माटो, ढुङ्गाहरू पनि आकाशतर्फ फर्किएर
आकाशसँगै हाँसेझैँ
दूरदेशबाट उदाउने
घामको किरणहरू फैलिएर
आँगनभरि पोखिएझैँ
नयाँ सोच, नयाँ विचार, नयाँ उत्साहमा
खुसिहरू छर्दै
नयाँ वसन्तको सुन्दरतामा
तिम्रो आगमन पर्खी बसेको छु

नयाँ वर्ष !
मुटुभरि प्रेम
आँखाभरि नयाँ पालुवाको वीजारोपण गर्नु
सत्य र न्यायको पङ्क्तिमा उभिएर
गुन्जिनु शून्य आकाशभरि र बग्नु अविरल
उत्साह र उत्कर्षको
स्वर्णिम विपनाहरू लिएर ।


(साहित्यका अन्यान्य विधाहरूमा कलम चलाउँदै आएकी ‘सङ्गम’ को मूल रूचिको विधा कविता हो । उनको एउटा कविता-सङ्ग्रह प्रकाशित छ ।)
[email protected]