English Poem
घृणा पालेर मनमा तिनीहरू संगसंगै किन बस्या होला
कामदेवको पुजागर्नेले खरानी किन धस्या होला !
प्रेम र घृणाको अनन्त यात्राले पृथ्वीलाई मात्र पिरोलेन
अन्तरिक्षबाट बेगिंदै धर्ति चुम्न उल्का किन खस्या होला !!
अरूलाई मृत्युको कामना गर्नेले आफू मर्ने कुरा बिर्सन्छ
गाउँगाउँमा पुल काट्दै हिंड्नेले खोला तर्ने कुरा बिर्सन्छ !!
वर्तमानले शक्तिशाली बनाई दिंदा समय मुठ्ठीमा छ भन्ने लागेर हो कि ?
सत्ताको भरयाङ चढ्नेले किन किन आफू तलझर्ने कुरा बिर्सन्छ !!
सत्ताको बलले ऊ सबैले मान्ने भाको छ
सिंग फुक्लेको गोरू पनि अचेल हान्ने भाको छ !
आयुर्वेद र चिकित्साशास्त्रको अध्ययन बिनै
गाउँमा रिठ्ठे झांक्री सारै जान्ने भाको छ !!
जाउ ती चरणहरू छोएर आऊ
रोएका नयनहरू धोएर आऊ !!
किसान बाबुको चिन्ता बुझेकै छौ
अब गोठका गाईहरू फोएर आऊ !!
बेकारका कुराहरू गरेर समय खेर फालिरहँदा
लुगा आफैँ च्यातेर नौटंकी गर्दै आफैले टालिरहंदा !!
यो सुन्दर कालखन्डले कति सराप्दो हो तिमीलाई !
आफ्नै मुटु झिकेर सडकमा दाउराझैं दनदनी बालिरहंदा !!
विचार छन्दमा होस् वा स्वछन्द अविरल बगिरहेको हुन्छ
चेतन होस् वा अवचेतन मन निरन्तर जागिरहेको हुन्छ !
रहस्यम संसारमा किन संधै अदृश्य छन् सृष्टि कर्ता ?
तर पनि मनले हरपल उनैसंग बरदान मागिरहेको हुन्छ !!
गोपीकृष्ण प्रसाई, काठमाडौं
[email protected]