कविता-हिन्दी

चोकमा ठिङ उभिएको मुर्ति
बारम्बार जिस्क्याइरहन्छ
हिंडदै गरेको बटुवालाई
कालो सिसाले छोपिएको गाडीलाई
सुटबुट कसिएको मान्छे देख्दा
बरबराउंछ
कसैकसैलाई देखि सहन्न
त्यही चोकमा भाषण गर्न पुगेका नेतालाई
त्यही चोक भएर जाँदै गरेर्को यालीलाई
तथानाम गरेको थियो ।
एक्लै रोएको देखिन्छ
छाती पिटदै !!
चिच्याएको सुनिन्छ,
नजिकैको विष्णुमतीको ढल जस्तै
डुङडुङति गन्हाएको
राज्य ब्यवस्था देख्छ र
धुरुधुरु आँसु बहाएर रुन्छ
रगत बगाएर त देश उभो लागेन
फगत दुई थोपा
आसुको के मूल्य ?
स्वतन्त्रता,समानता र लोकतन्त्र भनेर
नागरिकलाई अधिकार दिन्छौ भनेर
उ जस्तै धेरैले प्राणाहुती गरे
देश बन्छ भन्ने सपनाहरू
बागमतीको पानी जस्तै बगिरहे ।
हरेक चोकमा शालिक बन्लान
पटकपटक ज्ञातअज्ञात भनिएला
तर उसका सपना
प्राथमिकतामा पर्दैनन्
उ निर्जीव भैसक्यो
उसले देख्दैन
उ बोल्दैन
चोक शहरको आवश्यकता हो
आइल्याण्ड चोकको सजावट हो
शालिक चोकको गहना हो ।
उसलाई यो चोक देखेर पनि
दिक्क लागि सक्यो
यो भन्दा त
बागमतीमा बगाएको भए हुन्थ्यो
चार भञ्ज्याङ कटाए हुन्थ्यो ।
सतिले सरापेको देश हो
चोकमा हतकडी लगाएर
अपराधी जस्तै
चारैतिर फलामेबार भित्र
बन्दी बनेको वर्षौ भयो
यताउता जानेले देख्छन्
ठिङ्ग उभिएको ।
न त सत्य देख्छ
न त बोल्छ नै
केवल मनमनै धुरुधुरु रुन्छ
आफू जस्तै रुनेलाई जिस्क्याउँछ
ठिङ्ग उभिएको छ ।
उ मान्छे हो कि मान्छेको शालिक हो ?
मान्छे भने अवश्य होइन
सहिद हो रे
सहिद के मान्छे हुन्छन ?
मान्छे के सहिद हुन्छन ?
उ आफैं दुबिधामा छ
चोकमा ठिङ उभिएको छ
बारम्बार जिस्क्याइरहन्छ ।
कैलासकुमार पाण्डेय
परशुराम १२ जोगबुडा, डडेल्धुरा