समाचार

भिएना ।
नेपाली कला, साहित्य र भाषाको उत्थानमा एउटा आयाम थप्न अस्ट्रियाको राजधानी भिएनामा काव्य्पान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको विशेष आकर्षणको रुपमा अनेसास यूकेका पूर्व अध्यक्ष, वर्तमान सल्लाहकार, वरिष्ठ साहित्यकार एवं कवि डा. रूपक श्रेष्ठ तथा एपेक नेपालका अध्यक्ष, वरिष्ठ साहित्यकार एवं कवि विश्वविमोहन श्रेष्ठ रहेका थिए । अष्ट्रियाको लागि नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा एन आर एन अष्ट्रिया का अध्यक्ष ध्रुब पौडेल साथै अष्ट्रियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरू र नेपाली कला, साहित्य र भाषाप्रेमी डा. श्याम उपध्याय लगायत अन्य अष्ट्रियावासी नेपालीहरूको उपस्थिति थियो ।
लामो समयदेखि अष्ट्रियाको अर्को शहर इन्स्ब्रुकमा सफल व्यवसायीको रुपमा स्थापित तथा एन. आर. एन अष्ट्रियाका पूर्व आइ सिसि सदस्य तथा संरक्षक दिपेन्द्र हिमालय कार्कीको संयोजनमा आयोजित यस कार्यक्रममा संयोजक कार्कीले निकै मिठो शैलीमा यस कार्यक्रममा सहजकर्ताको भूमिका निभाएका थिए । कविता वाचन समेत गरिएको यस कार्यक्रममा सम्झना थापा बोहोरा, डायमण्ड राई, प्रभु श्रेष्ठ, निर्मल पौडेल, रमेश खड्का, प्रकाश पौडेल, सुभद्रा थापा लगायतका साहित्यप्रेमीहरुले कविता वाचन गरेका थिए ।
नेपाली साहित्यको इतिहास र विकासक्रमका बारेमा प्रष्ट्याउँदै वरिष्ठ साहित्यकार एवं कवि डा. रूपक श्रेष्ठ र वरिष्ठ साहित्यकार एवं कवि विश्वविमोहन श्रेष्ठले अष्ट्रियामा यस किसिमको साहित्यिक कार्यक्रम गर्ने माहौल सिर्जना गरेकोमा आयोजक तथा संयोजक दिपेन्द्र हिमालय कार्कीलाई धन्यवाद दिदै आ–आफ्नो कविता वाचन गरेका थिए । नेपाली कला, साहित्य र भाषाको उत्थानमा नेपाली डायस्पोराको भूमिका र योगदानको चर्चा गर्दै अष्ट्रियाको लागि नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीले नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षणमा आफ्नो सहयोग सदैव रहने बताउनु भयो ।
करिब दुइ घण्टा चलेको कार्यक्रम निक्कै चाख लाग्दो भएको र आफू साहित्यकार नभए पनि यस किसिमका कार्यक्रमले अष्ट्रियामा हुर्किरहेको दोश्रो पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृति सिक्न र जान्न उत्साही बनाउने कुरा युवा व्यवसायी दिनेश बैदवारले बताएका थिए ।