समाचार

हामी हिँडिरह्यौँ
चुपचाप हिडिरह्यौँ
उनी मौन थिइन्
म पनि मौन थिएँ
मौनताको त्यस घडीमा
म हाम्रा पदचापहरू
मात्र सुनि रहेथेँ
उनी पनि सायद
त्यै सुन्दै थिइन्
तर हामी बोल्न सकेनौँ
सङ्कोचको पर्दा खोल्न सकेनौँ
म सँग पनि थियो
उनी सँग पनि थियो
भन्नु पर्ने केही कुरा
तर हामी बोल्न सकेनौँ
मन कुँडिदै थियो
सास बेचैन थियो
शब्दहरू जिब्रोसम्म आएर
फेरि मनतिरै फर्किन विवश थिए
तर हामी बोल्न सकेनौँ !
घरीघरी मैले उनलाई हेर्थें
छिन छिनमा उनले मलाई हेर्थिन्
उनका आँखा केही भन्दै थिए
मेरा आँखा केही भन्दै थिए
तर हामी बोल्न सकेनौँ
हामी हिडिरह्यौँ
चुपचाप हिडिरह्यौँ,
सायद हामीले सोच्यौँ
हामी यसरी नै जुनीभर हिँडिरहन्छौँ
जसरी शरीर सँग छाया हिँडिरहन्छ
जसरी विचारले मनलाई
मनले विचारलाई पछ्याई रहन्छ।
यसरी हामी निकै बेरसम्म हिँडिरहयौँ
र आखिरमा
हामी दोबाटोमा पुग्यौँ
उनलाई दायाँ जानु पर्ने थियो
मलाई बायाँ जानु पर्ने थियो
हामी छुट्यौँ
तर
जसरी किनारलाई पछ्याउँदै छालहरू आइरहन्छन्
मलाई पछ्याउँदै ती यादहरू आइरहन्छन्
र हरदिन हरपल अनुभूत गरिरहन्छु
म ती पदचापहरू सुनिरहन्छु !
युवराज भण्डारी (मन्ट्रियल, क्यानडा)
[email protected]