• २०८१ माघ १ मङ्गलबार

आमा

समिना पृथा

समिना पृथा

आफ्नो सम्बन्धलाई धरामा बिस्तार गरी
धर्तीमा चलमलाएँ म बनेर तिम्री छोरी
माया तिमीले कति पोख्यौ संझेर मलाई परी
कोरीबाटी गरी बनाएर पुतली चिटिक्क सुग्घरी ।।

कोक्रोभित्र सुताएर दौडियौ होला तिमी खेतबारी
मेलापातमा जाँदा चर्कियो होला छाती तिम्रो बिचरी
पिलाउन नपाउँदा बगे होलान् तिम्रा लाम्टा तरतरी
आफ्नो खयाल र सुसारलाई तिमीले राखेर थाती ।।

काखीमा च्यापीच्यापी हिड्यौ काम गर्दै गाउँभरी
कति गास्न सिकायौ तिमीले हासेर पिरती
फकाउने र हसाउने गरेर हुुर्कायौ बनेर कलाकार भाती भाती
रचना गर्यौ तिमीले संसार सुन्दर कलाकार सरी ।।

सारा शक्ति र भक्ति भवनमा बटुुलेर सन्तानका वरिपरी
दिएका खाजा मेलापातमा पन्छाएर पोल्टाभरी
खुवाउँथ्यौ लुकाएर ल्याइ मेरो पेट भरी
भोकायौ कि थाक्यौ कसले सोध्छ आमाले जसरी ।।

कण्टक सहेर बाधा र अड्चन उभिइरह्यौ भै सावित्री
आमा तिमी कति पियारी मेरी जीवनकी सखी
गाहृो हुँदा संझने आमा तिमी मेरी मनकी देवी
घरभरी मिलेर बसेका छन् सबै प्राणी वरिपरी ।।

जति नै भए पनि मानव लाग्दैन कोही आमा सरी
कति सपनाहरू जवानीका बगे होलान् आँखाबाट कठैबरी
प्रगतिका बाटाहरू आफैं कोर्न पर्यो होला संघर्ष गरी
निर्णयमा एक्लो उभिनु पर्दा चस्के होला मुटु घरिघरी ।।

त्यसैले आमा तिमी महान् छौ सर्वोच्च शिखर सरी
झुक्छ शिर मेरो संझेर तिम्रो त्याग सधैंभरी
आमा तिमी करूणा हौ दुःख बिसाउने अनौठो चौतारी
कति कति झेल्यौ होला तिमीले जीवनका कठिन घडी ।।

के होइनौ र तिमी मेरो जीवनकी गुरू सर्वोपरी
त्यसैले त तिमी सबैकी मुमा माता आमा र जननी
हुर्कदै जाँदा झल्याँस्स भएँ तिमी त रहिछौ ईश्वर सरी
तिम्रै भएर उभिन सकुँ साहाराको त्यही लौरो जसरी ।।


(समिना पृथा चर्चित कवि हुन् ।)
[email protected]