ललितपुर महानगरपालिकामा कार्यरत नगर प्रहरीले गरेका गतिविधिलाई समेटेर ‘तस्बिरमा नगर प्रहरी’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकको विमोचन बिहीबार पुल्चोकमा आयोजित कार्यक्रमा सहभागीहरूले एकैसाथ गरेका हुन् । कार्यक्रममा महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सक्रिय हुँदा सेवा प्रवाह परिणाममुखी भएको बताए । उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न नगर प्रहरीले सराहनीय काम गरेको बताए । ‘नगर प्रहरीका कारण हामीलाई काम गर्न सहज भएको छ,’ उनले भने, ‘आगामी दिनमा नगर प्रहरी थप जिम्मेवार बन्दै जाने विश्वास छ ।’
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नगर प्रहरीलाई प्रशासनिक रूपमा थप सहयोग गरिने बताउँदै विपत् व्यवस्थापनमा हातेमालो गर्न सहज भएको जानकारी दिए । पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा काम गर्दा खिचिएका तस्बिरहरू समावेश छन् । महानगरले नगरवासीका गुनासो सम्बोधन गर्न घरघरमा नगर प्रहरी खटाउँदै आएको छ भने एलएमसी अलर्ट एप पनि सञ्चालन गरिरहेको छ । नगर प्रहरी घरघरमा पुग्न थालेयता गुनासो आउने क्रम बढेको र त्यसलाई सम्बोधन गर्न सहज भइरहेको नगर प्रमुख सीताराम हाछेथुले बताए ।