• २०८१ भाद्र २७ बिहीबार

डा. भोला रिजालको ‘सेतो कोट’ लोकार्पण

काठमाडौं ।

इटर्नल पब्लिकेसन प्रा.लि.को आयोजनामा सम्पन्न एक कार्यक्रममा डा. भोला रिजालको ‘सेतो कोट’ लोकार्पण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूले डा. भोला रिजालको ‘सेतो कोट’ सार्वजनिक गर्नुभएको थियो । वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. भोला रिजालले लेख्नु भएको पुस्तक सेतो कोटको विमोचन गर्दै मन्त्री बस्नेतले आउदो वर्षदेखि सेतो कोटधारी चिकित्सक र स्वास्थ्यकर्मीको सम्मानमा सेतो कोट दिवस मनाइने समेत बताउनु भयो ।

विश्वका अधिकांश देशका चिकित्सकहरुको सम्मानमा सेतो कोट दिवस मनाइने प्रचलन भएको तर नेपालमा नभएकोले त्यसको सुरुवात गर्न सके चिकित्सा क्षेत्रमा प्रोत्साहनको नयाँ अध्याय सुरु हुनसक्ने सुझाव विज्ञहरुबाट प्राप्त भएपछि मन्त्री बस्नेतले मन्त्रालयले चाडै सेतो कोट दिवस मनाउने बिययमा विज्ञहरुसँग थप सल्लाह लिएर निर्णय गरिने जानकारी दिनुभयो । समारोहमा पुस्तकका लेखक डा. भोला रिजालले आफूले सिकेका, बुझेका र अनुभव गरेका कुरा पुस्तकमा समावेश गरिएको र यसका माध्यमबाट नयाँ पिढीले केही सिकून भन्ने अभिप्रायले सेतो कोट लेखेको बताउनु भयो ।

कार्यक्रमका अध्यक्ष ९८ वर्षीय डाक्टर गौरिशंकरलाल दासले शुभकामना दिदै आफ्नो समयको उपचार अनुभव सुनाउनु भएको थियो । त्यसैगरी पुस्तकको सफलताको शुभकामना दिदै कलाकार निखिल उप्रेती, डा जागेश्वर गौतम तथा डा. सुरेन्द्र केसी लगायतले पुस्तकको चर्चा गर्नुभएको थियो । डा. भोला रिजालको ’सेतो कोट’ चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल तर गहन पुस्तक हो। यो पुस्तकमा चिकित्सा पेशा, चिकित्सा शिक्षा र चिकित्सा आचार–संहिताबारे साङ्गोपाङ्ग विवेचना गरिएको छ। कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र उ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा उल्लेख गरिएको छ ।

किताबमा डा. रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औंल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । पुस्तकमा ’डाक्टर’ शब्दको अर्थबोध गराउने देखि ’सेतो कोट’को शुद्धता, पवित्रता र महानतालाई चिकित्सा पेशा र समग्र मानव कल्याणका लागि कसरी जीवन्त राख्न सकिन्छ भन्नेबारे सविस्तार व्याख्या गरिएको छ। सँधै अरूलाई ’यसो गर्नुस्, त्यसो गर्नुस्’ भनेर सुझाव, सल्लाह र औषधी दिइरहने डाक्टर आफू स्वयं भने कस्तो हुनुपर्छ भन्नेबारे यस पुस्तकले एउटा मानक नै तयार पारको छ ।

किताबमा चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने ब्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे विवेचना गरिएको छ। औषधी र अस्पताललाई हेर्ने आम–दृष्टिकोणलाई पुनः परिभाषित गर्ने प्रयत्न गरिएको यस पुस्तकमा डा. रिजालले नेपालको चिकित्सा क्षेत्रका बिभिन्न विधामा जग वसाएका वा महत्वपूर्ण योगदान पुरयाएका बरिष्ठ चिकित्सकहरूलाई समेत संझने प्रयास गर्नु भएको छ। आफूले चिकित्सा पेशामा लामो समयसम्म काम गर्दाका अनुपम पलहरूदेखि लिएर एउटा चिकित्सकले जीवनको वास्तविक सत्यलाई कसरी बोध गर्न सक्ला भन्ने सम्मका दार्शनिक चिन्तनलाई समेत यो पुस्तकले समेटेको छ । पुस्तकमा नर्सिङ पेशा, यसका संभावना र चुनौतीहरूका साथै नेपालको स्वास्थ्य नीतिको संक्षिप्त सिंहावलोकन पनि छ ।

इटर्नल पब्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको यो पुस्तक १४८ पृष्ठको छ । ३७५ रूपैयाँ मूल्यको यो पुस्तकको विक्रीबाट प्राप्त रकमको निश्चित हिस्सा समाजसेवामा लगाइने लेखकको प्रतिवद्धता छ ।