• २०८३ कार्तिक १८, मंगलवार

शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ सार्वजनिक

काठमाडौँ ।

जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ सार्वजनिक गरिएको छ । पुस्तकमा ग्रामीण परिवेश, विद्यार्थी राजनीति, चुनावी प्रतिस्पर्धा, स्थानीय नेतृत्वका अनुभव तथा पारिवारिक स्मृति र व्यक्तिगत संघर्ष समेटिएका छन् । समीक्षकहरूले कृतिलाई कर्णालीको प्राज्ञिक हस्तक्षेप र भुइँतहबाट नेतृत्व निर्माणको प्रक्रिया बुझाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री उदयशमशेर राणा, संसदीय दलकी सचेतक वासना थापालगायतले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका छन् । पुस्तकमा शाहीले ग्रामीण परिवेशमा हुर्किंदै विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश गर्दासम्मका अनुभव, तरुण दलको नेतृत्व, चुनावी प्रतिस्पर्धा र संगठन निर्माणका चुनौती समेटेका छन्। स्थानीय तहको नेतृत्वमा रहँदा भोगेका अनुभव तथा खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग जोडिएका विकासका विषयलाई पनि उनले पुस्तकमा प्रस्तुत गरेका छन् ।

लेखक शाहीका अनुसार पुस्तक राजनीतिक जीवनका अनुभवमा मात्र सीमित छैन । यसमा पारिवारिक स्मृति र व्यक्तिगत संघर्षका प्रसंगसमेत समेटिएका छन्। दसैं मनाउन घर फर्किने क्रममा बाटोमै ज्यान गुमाएका उनका कान्छा भाइ तथा नेपाली सेनाका जवान सुरेन्द्र शाहीको स्मृति दिवस पारेर पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समीक्षक मनऋषि धितालले काठमाडौंलाई मात्र ज्ञान र सिर्जनाको केन्द्र मान्ने प्रवृत्तिका विरुद्ध ‘आधा अध्याय’ कर्णालीको प्राज्ञिक हस्तक्षेप भएको बताए। पुस्तकले भुइँतहबाट नेतृत्व निर्माण हुने प्रक्रिया र स्थानीय यथार्थ बुझ्न सघाउने उनको भनाइ थियो ।

पुस्तकका सम्पादक तथा प्रकाशक संस्था कुटीरो रिसर्च सेन्टरका अध्यक्ष महेश नेपालीले कर्णालीमा ज्ञान निर्माण र अभिलेखीकरणको परम्परालाई अघि बढाउन पुस्तक महत्त्वपूर्ण हुने बताए। उनका अनुसार कृतिमा लेखकले सांस्कृतिक आस्था, सामाजिक विभेद र सेवाभावका अनुभव समेटेका छन् । कांग्रेस उपसभापति आचार्यले विकासलाई जनताको दैनिक जीवनमा देखिने परिवर्तनसँग जोड्नुपर्ने बताए। महामन्त्री राणाले ग्रामीण भूगोलका अनुभव राष्ट्रिय निर्णय प्रक्रियामा समेटिनुपर्नेमा जोड दिए । कवि महेन्द्र अतलले पुस्तकलाई जनतासँग जोडिएर काम गर्न चाहने राजनीतिकर्मीका लागि उपयोगी कृति भएको टिप्पणी गरे। कांग्रेस संसदीय दलकी सचेतक थापाले ‘आधा अध्याय’ शीर्षकले लेखकको यात्रा अझै जारी रहेको संकेत गर्ने बताइन् ।