• २०८१ माघ १० बिहीबार

दैवी गुण !

धनराज गिरी

धनराज गिरी

मोनालिसा पोइल गई । किन ? उही जानोस् ! तर पोइल गई । यो खबर भाइरल भयो । किन ? किन कि पति खरबपति थियो, पहिलो र लैजाने थियो रोडपति, माइक्रोचालक, एक बालक । अचम्म !
प्रथम पति हरि ॐ डिसुजाको मुखबाट मोनालिसाको तारीफ मात्र निस्किने । दुःख पाई कि भनेर पीर मात्र गर्ने ! गुनासो छैन ।
साले डिसुजा पागल त भएन ! ? विमल ।
बढी आदर्शवादी, पाण्डु पो हो कि ? निर्मल ।

जे पनि हुन्सक्छ, पन्जा र सत्ताको औसत हुनसक्छ ! पैसा मात्र सबैथोक होइन । कन्चन । अति भयो । सामुन्नेमा कसैले केही भन्न सकेनन् । किन ? किन कि ऊ उदार थियो, सबैको गर्जो टारेको, सबैको पेटमा वारुणी पारेको । हाटकको नाटक, खुल्ला उसको फाटक । तर, एउटा कविले हिम्मत गर्यो, किन ? किन कि कवि मात्र यस्तो पात्र थियो जो डिसुजाको नून र गुनबाट दूर थियो । एक जमघटमा कवि नदीमले मुख खोल्यो ।

यो कस्तो बहादुरी हो तिम्रो यार, पोइल गएकी पत्नीप्रति यो मोह ? किन ? नदीम । अरू चकित । मुस्कुरायो डिसुजा । सबैको अनुहार पढ्यो । ला ।।। मो सास फेर्यो । यार कवि, तिम्रो साहसलाई सलाम । लौ सुन, मेरा गुरु प्रोफेसर अजेयराज सुमार्गी अभयानन्द रत्नश्रीले सिकाउनुभएको मानवताको दीक्षा, आफ्नो प्रतिकूल पात्र वा पात्राको पनि भलो चिताउने, चिताउन सक्ने मनको मालिक बन्न सके हामीभित्र दैवी गुण छ, देवकोटाको यात्री कविता छ, बुद्ध छ हामी भित्र । होइन भने, उही औसत मान्छे ? मोनालिसाको पनि अधिकार छ आफ्नो हीरो छान्ने ! अब मेरो मान्यतालाई नै धज्जी उडाए, यसमा पनि खोट देखे मेरो भन्नु केही छैन । मनको अघि धन केही होइन, मोनालिसाबाट सिक्नुपर्ने पाठ । म पनि जोगी हुनेछु । यो वैभवको कुरूप पहाडले किच्छ मलाई ! मनको शान्तिभन्दा ठूलो वैभव अर्को छैन ।  जुरुक्क उठ्यो र नौ- दुई- एघार ! सबै जिल्ल ।  दैवी गुण  सबैको मनमा खेल्यो ।


धनराज गिरी