एउटा नाता मनमा चाहिं रहिरह्यो - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

एउटा नाता मनमा चाहिं रहिरह्यो

विष्णु पगेनी सिग्देल

विष्णु पगेनी सिग्देल

फेरि रात्तो बत्ती बल्ल्यो । झन् ढिलो भको बेला यस्तै हुन्छ भन्या । यो ठूलो सहरको बेफाइदा नै यहि हो के । आफ्नो ठिक्क समय छुट्टाएर कहिल्यै हिंडन नपाइने । गाडीको सिट अलि अघिल्तिर तान्दै मनमनै मुर्मुरिन्छे माया।
जहिल्यै टार्फिक जाम । चार माइलको बाटोलाई आधा घण्टा छुट्टाएर हिंड्नु पर्ने । अनि फेरि यो अमरिकामा नेपालमा जस्तो सजिलो पनि त छैन जागिर गर्न । यहाँ त जागिरमा कम्तिमा पन्ध्र मिनेट आगाडि त पुगिसक्नु पर्छ । नत्र त जागिरबाट हात नै धुनुपर्ने स्थिति पनि हुनसक्छ । मन एक्लै बोलिरहे पनि उसको आँखा भने टार्फिक लाइटमै हुन्छ । पिल्लिक्क हरियो बत्ती बोल्छ । गाडी अगाडि बढाउछे । एकै छिनमा पार्किङ्ग गर्ने ठाउँ आइपुग्छ । गाडी पार्किङ्ग गर्छे । अनि हतार हतार काममा जान खुट्टा लम्काउँछे ।
उत्तिनै बेला फोनमा घन्टी बज्छ । ह्या उठाउँदिन फोन सोन । जब हतार हुन्छ यहि बेला बज्नुपर्छ यसलाई पनि । घन्टी लगातार बजिरहन्छ । हठात् । ! सम्झिन्छे बच्चाहरूको स्कूलबाट त होइन । अनि भर्खरै आफैँले गरेको वाचा बिर्सिन्छे र पेन्टको खल्तीबाट मोबाइल झिक्छे । पुलुक्क हेर्छे मोबाइलको स्क्रिनतिर लेखिएको हुन्छ, जून ।

हतार त थियो नै तर फोन नउठाई उसको मन मानेन । हेल्लो ! माया । उताबाट उही पुरानो धोद्रिएको, बूढो तर मायालु आवाज. आउँछ जूनको । हाउ आर यु ? आइ एम फाइन । ह्वाट अवाउट यु जून ? अलि अलि लामो सास फेर्दै जवाफ फर्काउँछे मायाले यताबाट । सायद मायाको आवाजको हतारोपन जूनले बुझेर हो कि ? के हो ? उत्ति नै खेर सोधीहाल्छे । आर यु बिजी ? मायाले आफू काममा जान लागेको र भोलि अफ भएकाले फोन गर्ने वाचा गर्दै फोन राखि दिन्छे ।

करिब दुई महिना भइसकेको थियो उनीहरूको कुरा नभएको । मेरिल्याण्ड छोडेर एटलान्टा आएपछि अनेक कुरा मिलाउँदा मिलाउंदै त्यसै व्यस्त भएकी थिई माया । मेरिल्याण्ड छोडेका शुरूवाती दिनहरूमा त जूनले नै बेला बेला फोन गरिरह्न्थी र हालखबर बुझीरहन्थी । तर अहिले त करिब दुई महिना भइसकेको थियो उसले पनि फोन नगरेकी । बेला बेला फोन गरिरहने ऊ यसपालि मायाले गर्छे कि भनेर घुर्क्याएर बसेकी हुँदी हो फोन नै गरेकी थिईन। धेरै समयको अन्तरालपछि आएको फोनले हो कि क्यार । आज दिनभर जूनको याद आइरह्यो मायालाई । दिनभर सम्झिरहि उसलाई ।

फेरि त्यहि ठाउँ दिनहरूको याद आयो जहाँ जूनको र उसको भेट भएको थियो ।

हेर्दै लोभ लाग्दो पहाड अप्लांचेले चारैतिर घेरिएको बीचको समथर जमिनमा बनेको सानो उपत्यका । अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको सानो सहरको नाम हो हेगर्सटाउन । यो सहरमा मानिसको संख्या पनि थोरै नै थियो अन्य ठूला सहरहरूका दाँजोमा । सहर नजिकै रहेका ठूला-ठूला स्याउका बगानहरू, सहरका वरिपरि देखिने सम्म परेका फाँटहरू जुन खेतीपातीका समयमा गहूँ, मकै, जौ, भटमास खेती बालीले भरिएर निकै मनमोहक देखिन्थे । जब त्यहाँ बारीमा गहूँ, जौ लहराएको देखिन्थ्यो एक किसिमको छुट्टै आन्नदको महशुस हुने गर्दथ्यो । त्यसमाथि सहरबाट नजिकै रहेको ग्रीन ब्रायर ताल, ताल वरिपरिको हरियो जंगल । आहा ! कति मोहनी नै लगाउँने त्यो समयले । त्यो समय लाग्ने गथ्र्याे स्वर्गको कुनै एक टुक्रा हो त्यो ठाउँ ।
ठूला सहर भन्दा परको सानो सहर । सहरी कोलाहल, प्रदुषण र भिडभाडबाट मुक्त्त । थोरै मान्छे, थोरै गाडी, स्वच्छ र शान्त वातावरण, सफा नीलो आकाश यो सानो सहरको विशेषता थियो । यी र यिनै प्राकृतिक मनोरम दृश्यसंगको सानिध्यतामा मन्त्रमुग्ध थिई माया । अझ भनौ बैग्लै संसार अनि छुट्टै आफ्नै किसिमको मीठो रमाइलो वातवरण थियो ऊ बसेको ठाउँ ।
जब संसारै हल्लाउन सफल कोविड १९ भन्ने महामारी र महामारीसंगै सुरू भयो बन्दाबन्दी । मनभित्र डर, त्रास आएर यति पकड जमाएर बस्यो कि धेरै समयसम्म त्यसलाई हटाउन निकै गाह्रो परिरह्यो ।

मान्छेले जैविक रूपमा पाएको स्वभावले नै होला भन्नुपर्छ ऊ बाहिर स्वछन्द उड्न, हिँडडुल गर्न, साथीभाइ भेटघाट गर्न रूचाउने खालको हुन्छ । त्यस्तै थिई माया पनि । बाहिर घुम्न पायो कि त फुरूङ्ग परिहाल्थी ।

मान्छेले रहर गरेर मात्र हुँदो रहेछ र ! कहिलेकाहीं मान्छे परिस्थितिको दास बन्नु पर्दो रहेछ । उसको रहरलाई पनि कोभिडको महामारीले अंकुश लगाइदियो । बन्दाबन्दी र मनभित्रको त्रासले घरभित्रै बाँधेर राखिरह्यो मायालाई पनि धेरै दिनसम्म । सँच्चि भन्नुपर्दा  घरबाट बाहिर निस्कन उसलाई मनभित्रको बाघले दिदै दिएन ।

भन्छन नि “सबै कुराको हद हुन्छ र जब हद पार हुन्छ कुनै कुराको पनि सीमा स्वत स्फुर्त भत्किएर जान्छ ।” सायद ठीकै रहेछ । जब डरले पनि हद पार गर्यो केही समय पछि डर र त्रासका कुराहरू बिस्तारै मनबाट ओझेल पर्दै गए । बन्दाबन्दी पनि खुकुलो हुँदै गयो त्यो सहरतिर पनि । अनि मान्छेहरू बिहान बिहान क्रमशः अलि अलि गर्दै हिंडन निक्लन थाले ।

घरमा बस्दा बस्दा वाक्क भएकी माया जब बन्दाबन्दी खुकुलो भयो हिंडन निस्कि हाली बाहिर ।

हिंड्ने क्रममै विभिन्न पहिरन, अनुहार र रङ्ग भएका क्रमशः देखिदै गए । देखिएका मान्छेहरूलाई हाइ र हेल्लो विस्तारै बाक्लिन थाले । यसै बीचमा देखिए दुईवटी चाइनिज मुलुकका जस्ता देखिने मंगोलियन महिलाहरू ।

त्यतातिरका मान्छेहरू साना कदका देखिन्छन तर छुट्किला र फुर्तिला हुन्छन । गोरो, बाटुलो अनुहार, घाँटीसम्म मात्र राखिएको छोटो कपाल, तेज भरिएको चम्किलो अनुहार र सिनित्त परेको पातलो शरीर । सायद यिनै कारणले पनि आकर्षित गरेको थियो मायालाई उनीहरूप्रति । लोभ लाग्थ्यो उसलाई उनीहरूको तन्दुरूस्ती देखेर । उनीहरूको हिंड्ने गति, नियमितता र छरितोपनको एक किसिमको फ्यान नै बनिसकेकी थिई माया । उसले तुलना गर्थी आफ्नो बडेमानको असी किलोको मोटो भद्दा शरीर र उनीहरूको छरितो, चट्ट मिलेको शरीर । आकाश र जमिनको फरक पाउँथी । लाज लाग्थ्यो उसलाई आफैंसँग । आफ्नैँ शरीरले गिज्ज्याएँ जस्तो लाग्थ्यो ।

जति हिंड्दा पनि मोटो शरीर घट्ने होइन ? कहिलेकाहीं त मायालाई हिंडन दिक्क पनि लाग्थ्यो ।

तर उत्तिनै खेर मन परिवर्तन भई हाल्थ्यो र सोच्थी मानिसले जीवनमा आशा मार्नु हुँदैन । निरन्तर प्रयास गरे एकदिन अवश्य सफल भईन्छ । त्यसैले मायाले आफ्नो आशालाई मारिहाल्न दिएकी थिईन । र त हिंड्ने कुरालाई जारी नै राखेकी थिई । कुनै दिन चिटिक्क परेको पातलो शरीर हुने आशमा ।

यसरी नै हिड्ने क्रममा नै उसको दुई महिलाहरूसँग हाइ हेल्लो अल्लि बढी बाक्लियो । यसैक्रमा चिनजान पनि भयो दुवैसंग र आत्मीयता बढ्दै गयो ।

ती मध्ये पनि एउटीसंग उसको घनिष्टता बढ्दै गयो । उसको नाम थियो जोन्सोन हिराइसन । जसलाई माया जून भनी बोलाउने गर्दथी । त्यतिबेला कोरियाकी उत्कृष्ट पप गायिका भएर आफ्नो नाम र दाम कमाइ सकेकी जून कोरियाबाट झन्डै बयालीस वर्ष पहिला मीठा सपना बुनेर अमेरिका आएकी थिई ।

अलि झ्याम्मिसके पछि एकदिन मायाले डराई डराई सोधेकी थिई उसलाई । ऊ डराएकी किन पनि थिई भने यता अम्रिकातिर मान्छेको उमेर सोधेको त्यति राम्रो मानिदैनथ्यो । तर पनि जूनको मन जितिसकेको कारणले र आफ्नो मनको खुल्दुली मेट्न पनि हिम्मत गरेर उसले एकदिन सोधी ।
इफ यु डोन्ट माइन्ड क्यान आई आक्स वान कोइसन्स ?
एस सिवोर । जूनले सहजै जवाफ दिएकी थिई ।

हाउ वोल्ड आर यु जून ?
एनी गेस ? जूनले हाँस्दै भनेकी थिई ।

मे बि सिक्सटी । थोरै मुस्कान र धेरै उत्सुकता भरिएको जवाफ फर्काएकी थिई मायाले ।

थ्याङ्क्यु, यु मेक मी मोर योङ्ग । बट आ एम सेभेण्टि टू इयर्स वोल्ड । मख्ख परेको शैलीमा अनुहारमा मीठो मुस्कान ल्याउँदै बोलेकी थिई जून ।

मायाकी आमाभन्दा ठ्याक्कै दुई बर्ष जेठी रहिछे जून । तर ऊ हेर्दा यस्तै साठीकी उमेर वरपर देखिन्थी । मान्छे पनि उस्तै थिई फुर्तिली, तन्दुरूस्ती । उमेरले डाडा काटेको भए पनि अनुहारमा बेग्लै खालको चमकता थियो उसको । त्यसैले राम्री पनि थिई ऊ । बहत्तर वर्षको उमेरमा त यति राम्री छे जून पन्ध्र सोह्र वर्षको उमेरमा कति राम्री हुँदी हो मायालाई कहिलेकाहीं लाग्ने गर्थ्यो ।

जून मायालाई निकै माया गर्थी । दुईचार दिन नदेखे फोन गरिहाल्ने । हालखबर सोध्ने गरिहाल्थी ।

कहिलेकाहीं मायालाई लाग्ने गर्दथ्यो यसले मलाई किन यति धेरै माया गरेकी होला । किन मरिहत्ते गर्छे म भनेपछि । न यसको र मेरो भाषा मिल्छ न उमेर । न त देश । न कुनै नाता सम्बन्ध नै छ यसको मसंग । तर किन माया गरिरहहन्छे, यतिधेरै ।

हेर्दा हेर्दै, भेट्दा भेट्दै जून त मायाकी साथी बनिसकेकी थिई सुख दुखकी । उसले मायाका निम्ति अथाह प्रेम फैलाउँथी आमाले जस्तैगरी । मायाको लागि नयाँ सहर थियो हेगर्सटाउन । तर जूनले उसलाई त्यसको कत्ति पनि आभाष हुन् दिएकी थिईन । वास्तवमा भन्ने हो भने त्यो विरानो मुलुकमा आमाको न्यास्रो मेटाईदिएकी थिई मायालाई ।

उसँगको सामीप्यता जब बढ्दै गयो मायालाई ऊ अझ प्यारी लाग्न थाली । जूनले आफ्नो भाषा, संस्कृति भन्दै गई मायालाई । माया आफ्ना भाषा संस्कृति भन्दै गई जूनलाई । पछि पछि त दुवैले थाहा पाउँदै गएँ उनीहरूका खानेकुरा लगभग एउटै रहेछन केवल पकाउने तरिका मात्र फरक । जून खुब जाँगर चलाएर मायाका लागि किम्ची बनाउँथी माया उसका लागि मीठो पारेर चिकेन बिरयानी ।

समय आज छ जुन हामीसंगै छ तर भोलि ? अहँ ! भोलि त कसैले देखेकै हुँदैन ? समयकै यही गतिसंग चल्नु पर्ने हामी मान्छेको जिन्दगी । समयकै माग भनू कि के भनु मायाको परिवारले त्यो सानो जूनको सहर छोडेर एटलान्टा सर्नु पर्ने भयो । जब एटलान्टा सर्ने कुरा भयो मायालाई एक किसिमको धर्मसंकट पर्यो । खोइ ? कसरी भनू यो कुरा जूनलाई ।

आज भोलि जून निकै खुसी छे । उसको अनुहारमा निकै चमक छाएको छ । फुर्तिली भाकी छे ऊ पहिले भन्दा । मिस्टर हिराइसन अर्थात जूनको श्रीमान् बेला बेला भन्ने गर्दथ्यो मायालाई । दुई वर्ष पहिला त मैले मायानै मारिसकेको थिएँ । स्तन क्यान्सरले थलिएकी उसको फेरि पुनर्जन्म हुन्छ भनेर मैले सोचेको पनि थिइन् । आँखाभरि आँसु पर्दै उसले आफ्नो बह पोखेको थियो मायासँग ।

सायद यिनै कारणले पनि अर्को ठाउँमा सर्ने कुरा सुनाएर उसलाई दुखी बनाउन चाहन्न थी माया । त्यसैले धेरै समयसंग यो कुरा लुकाइरही आफ्नो मनभित्रै ।

तर कुरालाई कति दिन लुकाएर राख्न सकिन्थ्यो र ! फेरि हिंड्ने दिन पनि त नजिकिदै थियो ।
एकदिन सदाझैं मर्निङ्ग वाक गर्दै थिए माया र जून । गर्मी मौसममा चिसो चिसो मीठो बतासले ठूला ठूला फाँटहरूका हरिया मकैका पातहरू हल्लाई रहेका थिए । मलाई यस्तै चिसो हावा मन पर्छ माया । जून भन्दै थिई । त्यति नै बेला अनुहार मलिन बनाउँदै बताई मायाले आफू अर्को ठाउँ सर्ने कुरा ।
तर जब मायाले यो सब कुरा जूनलाई बताई जूनको अनुहारमा कहिं कतै निराशाका धर्साहरू देखिएन ।
तिमीहरूको उमेर छ । उमेरमै त हो नि हिंड्ने भनेको । तेरो परिवारको लागि यहाँ भन्दा राम्रो हुन्छ भने यहाँबाट सर्दा भइहाल्छ नि निकै सहज तरिकाले सम्झाई जूनले मायालाई ।

मायालाई आफ्नो धेरै दिन देखिको मनको बोझ हल्का भएको जस्तो भान भयो । तर छुटिने कुराले भने मन अमिलो भइरहयो धेरै दिनसम्म ।

माया र मायाको परिवार हिंड्ने भन्दा अघिल्लो दिन खाना खान बोलाएकी थिई जूनले आफ्नो घरमा । निकै मिहिनेत गरेर मीठा मीठा परिकार बनाएकी थिई । डाइनिङ्ग टेबलभरि खानाका परिकार निकै सजाएर राखिएको थियो । उस्तै फुर्ति, उस्तै उर्जा अनि त्यहीं हँसिलो अनुहारले स्वागत गरेकी थिई आफ्नो घरभित्र जूनले उनीहरूलाई ।

जब जूनको उज्यालो हँसिलो अनुहार मायाले ढोकानिरै देखी । मनमनै सोची सायद यस्तै सकारात्मकताले र यहि उर्जाले नै यसले क्यान्सर जस्तो प्राणघातक रोगलाई जित्न सकेकी होली ।

खाना खाइसकेर विदाको समयमा भने जूनको अनुहार मलिन देखिन्थ्यो । भन्दै थिई मेरिल्याण्ड र एटलान्टाको दुरी निकै टाढा छ माया । कम्तिमा पनि दश घन्टाको ड्राइभ । हामी बूढाबूढी भयौं त्यति टाढा ड्राइभ गर्न सक्दैनौं । अब भेट हुन्छ कि हुँदैन । जूनले आफ्ना छेयत्तर बर्षीय बूढा श्रीमान तिर देखाउंदै भनी । जूनका यी कुराले मायालाई पनि नरमाइलो लागिरह्यो ।
आँखाभरि आँसु पारेका थिएँ दुबैले छुटिने बेलामा ।
आज फेरि जूनको फोनले कोट्याई दियो विछोडको पीडालाई । सम्झाईदियो त्यहिँ मायालाई जुन छोटो समयको भेटमा नै गाँसिएको थियो । अनि फेरि ताजगी बनेर आयो त्यो नाता जुन भावनाका बीच जोडिएको थियो । मन र मनसँग गाँसिएको थियो ।


विष्णु पगेनी सिग्देल, एटलान्टा, अमेरिका
[email protected]