छोरा त जन्मिँदा खेरी नै पिण्ड रोगी
कहिले खाँदा खाँदैको गाँस छाडेर वैद्य कहा पुर्याउँथे
कहिले मध्ये रातमा झाँक्रीकहाँ पुर्याउँथेँ
कहिले निमोनिया भयोकी भनेर अविजाले झार खुवाउँथे
सपनामा तर्सिदा सातो गायोकी भनेर सातो डाक्थेँ
फेरि कहिले सातो नजाओस् भनेर
एक मुठी चमाल फुकेर मेरो खाँडीको मजेत्रोमा
सात गाँठो पार्थे ।
छोरा !
तेरो उमेर बढ्दै गयो, रोग घट्दै गयो
मन मनै उद्देलित हुँदै भन्थेँ, हाम्रो बुढेसकालको लौरो दरो भयो
आधा पेट खाएर पटुकीको भरमा काम गर्थौ
उब्जाउँथ्यौँ र बेच्थ्यौँ अन्न
त्यहि अन्नको गेडाले किनेको हो तेरो खुशीको एक एक अक्षर
तेरो बाले हलो जोतेर बसाएका थिए हत्केलामा अनौको छाप
मेटाएर आफ्ना हत्केलाका भाग्यरेखाहरू
तेरो भाग्य कोर्न सन्तोष उमारिरहें आँखामा
छोरा तँलाई महिनावारी खर्च खेप्नु पर्दा
म पनि खेपिएँ दुःखकै भुमरीमा
कहिले थकानले भुसुक्कै निदाउँथेँ,
कहिले दिनभरि पटुकीले अघाएको पेट रातभरि गानो दुःखेर निदाउनै सक्दिनथेँ
रातभरि अनिदो बसेर तेरै खुशिको सपना उमारी रहन्थे आँखामा
तलाई याद छ नी छोरा ?
ठूलो घरे अन्तरेको पाँच हजार रुपैयाँ ऋण तिर्नको लागि हो
तेरो बा चोहिली काट्न आसाम गएको
हो, त्यही बेला गिँडियो दाहिने खुट्टाको बुढी औंला
रगत बगी रहँदा तेरै खुशिको मलमपट्टी बाँधेको रे
छोरा ! जब तैँले नोकरी पाएको खबर तेरो बालाई चिठी पढेर सुनाउदा
धेरै खुशी भएकी थिए जीवनको सबै भन्दा खुशीको दिन थियो त्यो
अब यी दुःखका दिनहरू किनारा लागे भन्दै
मनका सागरमा हर्षका छालहरू छल्केका थिए
तर आज,
बुढेसकालको यो बेकामे शरीर थन्किएको छ थोत्रो मतानमा
असारे हिले हलो झैँ
वर्षौ थलिएका यी मेरा लुला हातगोडाहरु लालायित छन् तेरो प्रेमील स्पर्शको
जुन बेला त मेरो हात समातेर ताते ताते गर्थिस् अहिले मलाई पनि लाग्छ, तेरो हात समातेर ताते ताते गरूँ
त बच्चा हुँदा सातो नजाओस् भनेर मेरो खाडीको मजेत्रोमा
एक मुठी चामल फुकेर सात गाँठो पार्थे हो ।
आज त्यसरी नै यी मनका कुण्डहरू मेरो छातीमा सात गाँठा परेका छन्
र पनि केही दुखेसो छैन छोरा !
तर एउटा कुरो चाहिँ सोध्छु झिझो नमानी जबाफ दे है
तँ त धेरै पढेको विद्वान मान्छे र सयौं शिष्यहरुको गुरू
भन् त छोरा
तेरो शिष्यहरूलाई कस्तो नैतिक शिक्षा पढाउँछन् ?
लक्ष्मी राई
[email protected]