• २०८१ श्रावाण ९ बुधबार

श्रेष्ठको संस्मरणात्मक पुस्तक सोभियत सम्झना लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा इन्जिनियर रामविन्दु श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘मेरा सोभियत संझनाहरु’को लोकार्पण गरिएको छ । काठमाडौंँमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तक विमोचन गर्नुभएको थियो । पुस्तकका लेखक ई रामविन्दु श्रेष्ठले कार्यक्रममा आफ्नो भनाइ राख्दै पुस्तकमा तत्कालीन सोभियत संघमा इन्जिनियरिङ अध्ययन गर्न जाँदा आफूले आर्जन गरेको अनुभूति, नियात्रा, सिकाई र भोगाइका विविध पक्षलाई समेटेर पुसतकको रुप दिएको बताउनु भयो ।

कार्यक्रममा पुस्तकबारे समीक्षा राख्दै नेपाल रुस साहित्य समाजका महासचिव इन्जिनियर चन्द्रकान्त आचार्यले श्रेष्ठको पुस्तकले सोभियत संघमा रहँदाका आफ्ना अनुभूति र सम्झनालाई ताजा गरेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. खेम कोइराला बन्धुले श्रेष्ठले पुस्तकमा आफ्नो स्मृति इमान्दारीपूर्वक प्रस्तुत गरेको बताउनुभयो । पुस्तकमा संस्मरण, नियात्रा र कवितामार्फत तत्कालीन सोभियत संघका संस्कृति, इतिहास, भू्गोल, समाज र साहित्य लगायत विविध आयाम समेटिएको बताउनुभयो । उहाँले पुस्तकमा श्रेष्ठको साहित्यिक गुण र छवि झल्किएकोमा प्रशंसा गर्नुभयो ।

यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नहेन्द्र प्रधानले पुस्तक मार्फत रुसका साहित्य र अनुभवबाट रुस नपुगेकाहरुले पनि त्यसबारे जान्न पाउने बताउनु भयो । कार्यक्रममा मन्तव्य व्यक्तगर्दै प्रमुख अतिथि पूर्वमन्त्री निलाम्बर आचार्यले पुस्तकले सोभियत संघको उतार चढाव पछिको मनोविज्ञानबारे चर्चा गरेको बताउनुभयो । यो पुस्तक श्रेष्ठको नियात्रा, संस्मरण मात्र नभई चिन्तनको फल रहेको उहाँको भनाइ थियो । उहाँले पुस्तक साहित्यमा अनुराग राख्नेका लागि मात्र नभइ राजनीतिमा चासो राख्नेहरुका लागि पनि उपयोगी हुने बताउनुभयो । कार्यक्रम लेखक प्रभा बरालको संचालन, इन्जिनियर सुष्मा खत्री रन्जितको स्वागत मन्तव्य र प्रा. डा. जंगब चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो ।