• २०८३ जेष्ठ २६, मंगलवार

पत्रकार गोपाल गिरीको “सदरमुकाम भद्रपुर गाथा” लोकार्पण

झापा ।

झापा सदरमुकाम भद्रपुरको नालीबेली समेटिएको पहिलो कृति सदरमुकाम भद्रपुरको गाथा लोकार्पण गरिएको छ । झापाली पत्रकार गोपाल गिरीले लेखेको सो पुस्तक शुक्रबार लोकार्पण गरिएको हो । पत्रकार गिरी भद्रपुरका बासिन्दा हुनुहुन्छ । शिक्षण, पत्रकारिता र रेडक्रसकर्मीको छवि बनाउनु भएको गिरीको यो पहिलो कृति हो । भद्रपुरको इतिहास समेटिएको सदरमुकाम भद्रपुरको गाथाको नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष शिव गाउँले, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रेस काउन्सिलका मुख्यअधिकृत झविन्द्र भुसालले संयुक्त रूपमा लोकापर्ण गर्नु भएको हो ।

भूमिका, लेखकीय र विषयवस्तु गरि कृतिमा तीन खण्ड र ३५ अध्याय छन् । गोर्खापत्रका पूर्वप्रधान सम्पादक युवराज गौतम र अग्रज झापाली पत्रका नकुल काजीले भूमिका लेखेको कृति ३६० पृष्ठ र मूल्य ६७५ राखिएको छ । अढाई वर्ष बढी समय लगाएर लेखिएको कृतिमा एकीकृत भद्रपुर (साविक चन्द्रगढी, भद्रपुर, महेशपुर र पृथ्वीनगर) जात, धार्म, सांस्कृति, स्वास्थ्य, शिक्षा, खेलकुद, पेसा (व्यवसाय, उद्योग र भद्रपुर स्थापनाको चित्रण गरिएको छ । भद्रपुर स्थापनामा भूमिका निर्वाहको नालीबेली उल्लेखित कृतिमा २००७ सालको क्रान्तिको पृष्ठभूमिसमेत समेटिएको छ ।

प्रजातन्त्रवादी नेता नरेन्द्रनाथ बाँस्तोलासँगको संगत र दिग्गज पत्रकार एसएल शर्माको संघर्ष र लेखनीको प्रभाव कृति लेखनको आधार भएको लेखक गिरीले बताउनुभयो । मातृकाप्रसाद कोइराला, कमल कोइराला, ध्रुवकन्या आचार्यसँगको भेट र संस्मरणले आफूलाई इतिहास लेखन चेत आएको बताउने लेखक गिरीले आफ्नो कृति पत्रकारिता र इतिहासको फ्युजन भएको सुनाउनुभयो ।

एसएल शर्माको कतिपय पाण्डुलिपि पुनर्लेखन गर्दैगर्दा आफूमा लेखनको चेत आएको र त्यसकै समष्टिगत रुप सदरमुकाम भद्रपुरको गाथा भएको लेखक गिरी बताउनु हुन्छ । लेखक गिरीले नेपालकै पुरानो शहरको इतिहास बोकेको भद्रपुर चिनाउने प्रयास स्वरूप पुस्तक लेखिएको बताउनुभयो । भद्रपुर २००७ सालमा नगर पञ्चाय घोषणा भएको मुलुककै पुरानो शहर हो ।
कृति लोकार्पित गर्दै वक्ताले नेपालका शहर आफ्नै पृष्ठभूमिमा रहेकोले पुराना शहरहरुको इतिहास उजागर गर्दै जानु पर्ने समयमा गिरीको कृति अग्रणी र सान्दर्भिक भएको टिप्पणी गर्नुभयो । उहाँहरूले कृति भद्रपुरको इतिहास समेटिएको एउटा महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । सरलभाषा शैलीमा लेखिएको कृतिले आएको पुस्तक भद्रपुरको पहिचानलाई राष्ट्रव्यापी बनाउन महत्वपूर्ण दस्तावेज हुने धारणा राख्नु भएको थियोे ।