• २०८१ श्रावाण ११ शुक्रबार

आजको वर्तमान

बसन्त चौधरी

बसन्त चौधरी

प्रकृतिको छत्रछायाँमा
जीवनलाई आश्रय दिँदै
युगौँ देखि
प्रकृतिसँग गरिरहेछौँ
खेलबाड
र भैरहेछौँ सर्वोत्कृष्ट
दिएर चुनौती प्रकृतिलाई
विजयी बन्ने ध्याउन्नमा !

यही होडबाजीमा
बिर्सेर आफैँले टेकेको माटो
बिर्सेर आफैँले फेरेको सास
भुलेर आफैँले पिएको पानी

यही भूलले
मानवीय सभ्यतामा
ऊब्जाएको छ सङ्कट
वर्तमानलाई प्रतिबिम्बित गर्दै
दिँदो छ चुनौती विज्ञानलाई
सायद !
प्रकृतिको संयमताको घडा
भरिएको हो !!

आधुनिक विश्व र
मानवीय सभ्यताले
घुँडा टेकेको यो क्षण
मानवजातिले
आफ्नो धरातल चिन्ने समय हो

प्रकृति त प्रकृति नै हो
ऊसँगै रमाउनु
उसको आफ्नो अस्तित्वभरि
उसलाई रमाउन दिनु
प्रतिद्वन्द्वी नमानी
हितैषी मान्नु
विश्व तथा मानवीय
सभ्यतालाई
प्रकृतिमय बनाउनु
वर्तमानको चुनौती तर
शिक्षा पनि हो

वर्तमानले यही भन्छ
तिमी मेरो सम्मान गर
म तिम्रो संरक्षण गर्नेछु ।

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)