• २०८१ माघ २ बुधबार

करुण थापा

राजेन्द्र शलभ

राजेन्द्र शलभ

छ दिन छ रात गीत गाएर
मेरी आमालाई जितेर
बिहे गर्नुभएको हो बाले
त्यसैले होला मभित्र पनि
गीत- सङ्गीतले बिउ रोपेको
त्यही लोकगीतले नै हो
मभित्र साहित्य- मोह जगाएको ।
म्याग्दी जिल्लाको बेनीभन्दा
अलिक मास्तिर जन्मिएँ
त्यही गाउँको स्कुलमा पढेँ
पढाइमा राम्रो थिएँ
दुई क्लासमा होल फस्र्ट भएर
एकैचोटि चारमा पुगेँ
चारमा पढ्दै गर्दा नै हो
बूढानीलकण्ठमा म्याग्दीबाट
स्कलरसिप पाएर काठमाडौँ आएँ
यहाँ पनि चारमा नै भर्ना भएँ
जिल्लामा टप भए पनि
यहाँ धेरै जान्नेहरूका बीच
अलिक कम जान्ने भएजस्तो लाग्थ्यो
तर नेपालीमा चाहिँ सधैँ पहिलो नै भएँ ।

००
म सात क्लासमा पढ्दादेखि नै
कविताहरू लेख्थेँ
सातदेखि दस क्लाससम्म स्कुलमै
हातेपत्रिकाको सम्पादन पनि गरेँ
३६/३७ सालतिरै ‘मधुपर्क’ र ‘रूपरेखा’मा
मेरा कविताहरू प्रकाशित भए
यो सबैको श्रेय म स्कुलको वातावरणलाई दिन्छु
त्यतिवेला मनोरञ्जनका माध्यमहरू
धेरै थिएनन्
किताब पढ्नु नै मनोरञ्जन थियो
रमाइलो कुरा के भने
मैले रवीन्द्रनाथ ट्यागोरको
‘गीताञ्जली’ नेपाली र अङ्ग्रेजीमा पढेपछि
बङ्गालीमा हस्तलिखित किताब भेटेँ
र, त्यो पढ्नका लागि मैले
बङ्गाली लिपि सिकेँ र पढेँ
यस्तो थियो साहित्यप्रतिको लगाव ।

००
सिनेमाका कथाजस्तो छ मेरो विगत
एसएलसी सकेपछि स्कुलले
सबैलाई आ- आफ्नो घर जान भन्यो
मेरो जाने ठाउँ थिएन
बा- आमा नभएपछि गाउँ जाने कुरै भएन
स्कुलको गेटमा दुई बजेदेखि छ बजेसम्म
सबैका प्यारेन्ट्स् आएर लिएर गएको
हरेर बसेँ/सोचेर बसेँ
आफूलाई न लिन आउने कोही थियो
न त कतै जाने ठाउँ नै थियो
साँझ सात बजेतिर भगवानले
आफ्नो दूतलाई पठाए मलाई लिन
मभन्दा तीन/चार क्लास जुनियरलाई लिन
उनका बुबा जी पी रिजाल आउनुभयो
मलाई देखेर भाइले सोध्यो-
दाइ तपाईं कहाँ जाने हो ?
मैले मेरो जाने ठाउँ नै छैन भनेपछि
बुबाले मलाई पनि हिँड, भाइलाई पढाउनू
भनेर सँगै लिएर जानुभयो
र, काठमाडौँमा मेरो टेक्ने ठाउँ भयो ।

००
त्यहाँ भाइलाई पढाएर बस्थेँ
तर समय मनग्ये हुन्थ्यो
स्कुलमा टिचरले भनेको सम्झेँ
र कम्प्युटर सिक्ने मन गरेँ
तर कहाँ सिक्ने थाहा थिएन
त्यो पनि बुबाले नै आफ्नो साथीकहाँ
कम्प्युटर सिक्न मिलाइ दिनुभो
एड्भान्स कोर्स पढ्ने वेलासम्म
त्यही इन्स्टिच्युटमा काम गर्ने भइसक्याथेँ
त्यहीँ काम गर्ने अनि पढ्ने
टाइप गर्न सिकेँ, सरहरूलाई सघाउन थालेँ
अरूको प्य्राक्टिकल हेरिदिन थालेँ
र टेक्निकल को- अर्डिनेटर भएँ
त्यही वेला हिमाल सिमेन्ट र
कृषि विकास बैङ्कका लागि सफ्टवेयर बनाएँ
पहिलो नेपाली टाइप गर्ने सफ्टवेयर बनाएँ
पहिलो मतदाता नामावली बनाएँ ।
यो सबै मैले साहित्यबाट नै गर्न सिकेँ
यहीबीचमा अस्कलमा स्कलरसिप पाएँ
यसरी सङ्घर्ष गर्दै अगाडि बड्दै गएँ
पछि कम्प्युटर नै पढ्नुपर्छ भनेर
दिल्ली जाँदा पनि मैले
पढ्नुपर्ने कुरा धेरै पहिले नै जानेकाले
बिहान कलेज पढ्ने र
बेलुका तिनीहरूकै इन्स्टिच्युटमा पढाउने गर्थे
फर्केर आएपछि यहाँ पनि इन्स्टिच्युट खोलियो ।

००
तीन- चार वर्ष पढाएपछि
स्कुलमा कम्प्युटर एजुकेसन सुरु गरियो
कम्प्युटरका किताब लेखियो
त्यसपछि एनिमेसन सुरु गरियो
एनिमेसनपछि कम्प्युटरमै एडिट गर्न सुरु गरियो
यसरी सिनेमातिर लागियो
पहिला पनि नयाँ नयाँ काम गरियो
सिनेमेट्रिक्स बन्द गरेर बसेको वेला
‘पानस साउथ एसिया’ मा
ट्रेनिङ दिन आउने जर्मन नआएपछि
त्यसको साटो मैले ट्रेनिङ दिन थालेँ
र करिब आठ वर्ष त्यही संस्थामा आवद्ध भएँ ।

००
यसरी विभिन्न कामको अनुभवपछि मात्र
आफ्नो अफिस खोलियो
तर त्यसबीचमा साहित्य पूरै छुट्यो
बीचबीचमा सिनेमाका गीतचाहिँ
त्यही फिल्मको काम गर्ने वेलामा लेखेँ
यसरी कविताबाट म गीत लेख्न थालेँ
पहिलो गीत चाहिँ- ‘पहाडले छेक्यो’ ०४४ सालमा
किशोर गुरुङले सङ्गीत गर्नुभएको हो
त्यसको १० वर्षपछि फिल्ममा लेखेँ
मन परेको गीत हिट भएन
हिट भयो- ‘आगो लाग्यो दिलैमा…’
यसरी अहिलेसम्म करिब १२५ वटा गीत रेकर्ड भए
लेखेका गीतको लेखा छैन
तर पनि आफूलाई मनपर्ने गजल नै हो
र अहिलेचाहिँ आफैँले सङ्गीत नै गर्न थाल्या छु
आफ्नो मात्र होइन, अरूका गीतमा पनि सङ्गीत गर्छु
करिब आठवटा गीत मेरो सङ्गीतमा रेकर्ड भइसके
तथापि मज्जा आउने चाहिँ लेख्नमै हो
लेख्न मज्जा मात्र आउँछ, खान दिँदैन
खानलाई त फेरि आइटीकै काम गर्नुपर्छ-
बाँचुञ्जेल आइटीले बाँच्छु
मरेपछि गीतले बाँच्छु ।

००
आफ्नै हिसाबले १९/२० वर्षमै बिहा गरेँ
पूर्णिमा, स्वीकृति र सुहानी तीन छोरी छन्
यी सबै मेरी श्रीमती छिरिङका देन हुन्
सन्तुष्टि आफैँ आउन्न, लिनुपर्दो रहेछ
आफूले सिकाएका मान्छेको प्रगति देखेर
म त्यत्तिकै रमाउँछु
तर साहित्यलाई समय दिन नपाएकोमा पछुतो हुन्छ
मैले चाहेको या सोचेकोचाहिँ
म रिटायर्ड भएँ भने
मेरो घरमा दुईवटा विशेष कोठा बनाउँछु
एउटा साहित्यका किताबहरूले भर्छु
अर्कोमा सङ्गीतका वाद्ययन्त्रहरू राख्छु
मन लागुञ्जेल किताबहरू पढ्छु
किताब पढ्न मन नलागे सङ्गीत गर्छु
अहिले पनि म लोकदेखि ज्याजसम्म सुन्छु
लोकगीत सबै देशका एउटै हुन्छन्
लोकगीत अग्र्यानिक हुन्छन्- माटोको सुगन्ध आउँछ
हो पुस्तक निकाल्न सकिनँ
अबचाहिँ चाँडै निकाल्ने तयारीमा छु
नेपाली मात्र होइन, अङ्ग्रेजीमा समेत ।


राजेन्द्र शलभ
[email protected]