• २०८३ कार्तिक १०, सोमबार

शारदा चित्रकारको ‘समय चक्र’ सार्वजनिक

काठमाडौं ।

नेवार महिला समूहको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक तथा कलाकार शारदा चित्रकारद्वारा लिखित कलासम्बन्धी पुस्तक ‘समय चक्र’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति एरिना ताम्राकार लगायतले कृति विमोचन गरे । कृति सार्वजनिक गर्दै कुलपति ताम्राकारले शारदा चित्रकारको समग्र कलाजीवनमाथि प्रकाश पारिन् । उनले अग्रज कलाकार शारदा चित्रकारको यो किताब नेपाली चित्रकलाको महत्त्वपूर्ण दस्तावेज भएको बताइन् । उमेरले ८६ वर्ष भए पनि कामले उनी अझै पनि सक्रिय रहेको बताउँदै कलाकार शारदा हरेक कलाकारका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरिन् ।

उक्त अवसरमा पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले शारदा चित्रकार आफूले चिनेको पुरानो साथी भएको बताउँदै उनको नेपाली कलाक्षेत्रमा ठूलो योगदान रहेको चर्चा गरिन् । नेपाली कलामा जीवन अर्पण गरेकी चित्रकारले कलाको विषय समेटेर लेखेको ‘समय चक्र’ले धेरै तथ्य उजागर गर्ने अभिव्यक्ति दिइन् । कृतिकार चित्रकारले विमोचित किताबमा आफूले कलामा गरेका कामको सचित्र वर्णन गरेको बताउँदै आफ्ना पिता मास्टर तेजबहादुर चित्रकारको योगदानको स्मरण गरिन् ।