• २०८३ आश्विन ३०, शुक्रबार

हीरा खड्का अधिकारीको ‘बन्द खाम’ विमोचित

सुन्दरहरैँचा ।

कवि हीरा खड्का अधिकारीद्वारा लिखित कविता सङ्ग्रह ‘बन्द खाम’ विमोचन गरिएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समितिको आयोजनामा सोमबार सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित समारोहमा कृति सार्वजनिक गरिएको हो ।

समितिका अध्यक्ष डा.दीपक न्यौपानेको अध्यक्षता तथा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राज्ञ विवश पोखरेल, पूर्वसांसद तथा साहित्यकार हर्कमान तामाङ, सुकुना क्याम्पस प्रमुख अर्जुनप्रसाद अधिकारी, पूर्वक्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, साहित्यकार मेदिनिप्रसाद बराल, समालोचक अमृतप्रसाद आचार्य, वरिष्ठ सङ्गीतकार गुरु कुशेश्वर राईलगायतले कृति विमोचन गरेका थिए । समीक्षकद्वय साहित्यकार सीमा आभास र कवि मनु मञ्जिलले ‘बन्द खाम’माथि समीक्षा गर्दै कृतिका वैचारिक र शिल्पगत पक्षबारे चर्चा गरेका थिए । उनीहरूले कवितामा अभिव्यक्त भाव, दृष्टिकोण र सिर्जनात्मक पक्षमाथि टिप्पणी गर्दै कृतिकारको लेखन यात्रालाई हौसला प्रदान गरेका थिए ।

कार्यक्रममा गजलकार युवराज ठकुरी, कवि प्रयाग नेउपाने, कवि बादलदेवी चाम्लिङ र गजलकार रूपनारायण श्रेष्ठले सङ्ग्रहभित्रका कविता वाचन गरेका थिए । कोशी साहित्य कला परिषद्का अध्यक्ष तथा अनुसन्धाता केशु विरहीले कृतिकार अधिकारीको साहित्यिक व्यक्तित्वबारे प्रकाश पारेका थिए । कृतिको रचनागर्भ प्रस्तुत गर्दै कवि अधिकारीले आफ्नो सिर्जनायात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गरेकी थिइन्। समितिका सदस्य कवि पुरन राई याख्खाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन समितिका सचिव गीताप्रसाद श्रेष्ठले गरेका थिए ।

समारोहमा प्रलेस केन्द्रीय उपाध्यक्ष तिला लेकाली, कोशी प्रदेशका विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, साहित्यकार, लेखक, समाजसेवी, विद्यार्थी र कृतिकारका शुभेच्छुकहरूको उपस्थिति थियो। विराटनगर, इटहरी, धरान, बेलबारी, उर्लाबारी, केराबारी, लक्ष्मीमार्ग, विराटचोक तथा झापालगायत स्थानबाट साहित्यकार तथा साहित्यप्रेमीहरू कार्यक्रममा सहभागी भएका थिए ।