• २०८१ असोज २९ मङ्गलबार

बा

समिना खनाल ‘पृथा’

समिना खनाल ‘पृथा’

‘छोरी !’ झसङ्ग झएँ म, काँधमा हात थियो बा को ।
‘आमा लेखिस् अब बा लेख्दिनस् ?’ बाले गम्भीर चिन्तन गरेछन् आमा पढेर ।
‘लेख्छु नी ।’ त्यसपछि बा एकोहोरो बोलिरहे, बा बोलिरहँदा म स्रोता बनेर सुनिरहें ।
‘आमा पारदर्शी छिन् जस्तो लाग्छ हो ? कि आमाले पीडा देखाउँछिन् भनेर सजिलो भएको हो ? बा लाई अनौठो देखें आज । जवाफ मसँग तत्काल केही थिएन । हो र होइनको असमञ्जसमा मन डुलिरहयो । मेरी पो आमा  थिइन् बा की त श्रीमती थिइन् नि मेरी आमा । सम्बन्धले आफ्नै चौघेरा बनाएको हुन्छ भन्छन् । हुन पनि हो आमाको अगाडि सधैं ओझेल परेका छन् बा । आमा धेरै लेखिएकी छिन् । त्यसैले ओझेल परेका बा लाई झुल्क्याउने असफल प्रयास छ मेरो ।
बा लाई अर्थ लगाउँदा पनि त धेरै शब्द खर्चिनु पर्दैन । बा, बाबु, बुवा, पिता, बाबा यी शब्दहरू नै त हुन् प्रयोगमा आउने । बा लाई जनक पनि भनिन्छ ।
आमालाई धर्ती र बा लाई आकास भनिरहँदा बा माथि अन्याय भयो कि जस्तै लाग्यो । अनि आकास तिर फर्किएँ । आकासको बीचमा एउटा सूर्य थियो । सूर्य उज्यालोको प्रतीक, आकासतिर नफर्केको पनि धेरै पो भएछ । अनि बा लाई आकासको सेरोफेरोमा खोजें । सूर्य नहुँदो हो त संसार कसरी चलायमान हुन्थ्यो होला र ? बा लाई सूर्य बनाएँ ताप, राप, अनि न्यानो स्पर्शको संगम । समय सापेक्ष आवश्यक्ताको अर्को नाम ।
बा बीज, बीज बिना धर्ती मात्रै भएर के होला ? बाझो धर्तीले चरणको काम देला तर स्वास प्रश्वासमा चाहिने अक्सिजन दिन चरणका घाँसपातले मात्रै पुग्दैनन् । बीज बिना सृष्टि संभव हुने कुरै भएन । आमाले बोक्छिन् ब्याउँछिन् भनिरहँदा बा नभए आमाले के बोक्छिन्, अनि के ब्याउँछिन् ?
बा लाई अर्काको काममा जानुपर्छ । समय प्रकृतिले सबैलाई साझा दिए पनि दस बजेपछिको समय बा को आफ्नो हुनन् । न समय आफ्नो हुन्छ न आर्जन आफ्ना लागि हुन्छ । समय नै आफ्नो नभएपछि बा लाई रूने र हाँस्ने फुर्सद पनि नहोला ।
छोरा-छोरीलाई ‘बा पापा’ भनिदिए पुग्छ । बा को खल्ती हेर्ने जिम्मेवारी छोरा छोरीले बोक्नु पर्दैन । बा लाई कान्छो छोरोको किताब किन्ने पिरलोले घेर्छ कहिले, कहिले जेठी छोरीको क्याम्पस भर्नाले लखेट्छ । आमालाई चामलको रित्तो भाँडो बा को अगाडि राखिदिए पुग्छ । बा ले कति पोख्ने ठाउँ पाउलान् । आमालाई जस्तो सजिलो बा लाई कहाँ छ र ? चुलोको आगो, भकारीको अन्न र गोठको भकारो भन्दा पर खेत र बारी त हो आमाको सेरोफेरो । तर बा को फेरो कहाँसम्म फैलिएको हुन्छ भनेर घरमा बस्ने आमालाई के थाहा ? आमाको जस्तो बा को माइती पनि छैन । दिदी बहिनीसँगको सम्बन्ध जस्तो बा को ठुलोबा काकाहरूसँग हुँदा पनि हुन्न । दाजुभाइलाई गर्भै देखिका शत्रु भन्ने चलन पहिले देखि नै छ । हुन त अब एक सन्तानको अवधारणा आएको छ, त्यसैले यो भनाइ पनि ओझेल पर्ला । समयले दिनुपर्ने कुरा दिन्छ, लिनुपर्ने कुरा लिएरै छाड्छ ।
परिवार देख्ने बा ले आफूलाई कहिल्यै देख्दैनन् । हातमा नयाँ जुत्ता सन्तानका लागि बोक्दा आफ्ना गोडाका फाटेका जुत्ताबाट औलाहरू चियाइ रहेका पत्तो नपाउने बा का पीडा कति लेखियो होला कुन्नी ? बा का गोडा गल्दैनन् भन्ने भ्रम बाँचेका सन्तानले बा ले साइकलमा दौडेर आफूलाई चार पाङ्गे्र जोडिदिएको कत्ति बुझ्लान् ?
‘बा यति दुःख गरेर के को आशमा विरूवा रोप्दै हुनुहुन्छ ? बा को जीवनकालमा न फल लाग्ला न छहारी देला ?’ यी प्रश्न समाजले गरिरहन्छ । ‘मेरा त के कुरा तर मेरा छोरा नातिले फल पनि खालान्, छहारी पनि पाउलान् नि । म माथि बसेर हेरिरहनेछु अनि त्यो भन्दा आनन्द के होला र मेरा लागि !’ बा को आशय कहाँ सम्म फैलिएको हुन्छ थाहै हुन्न । त्यसैले बा आवश्यक्ता हुन् ।
आमा कत्ति सहन्छिन् । आमालाई धर्ती र मझेरी भनि रहँदा बा ले आकास र छानो बनेर संरक्षण दिएको भुल्छन् सन्तति कहिले काही । बा हुन सजिलो छैन । गर्भाधारण गर्नु र दुध चुसाउनु मात्रैले सन्तानको हुर्काइ हुन्छ भन्नु पनि त भ्रम नै हो । त्यसपछिको जिम्मेवारी र कर्तव्यले सधैं थिचिन्छन् बा । आफू मैनबत्ति बनेर जवानी सल्काएका बा ले सन्ततीको पालन पोषणको ज्योती निभ्न कहिल्यै दिएनन् ।
बा देह मात्रै होइनन् । बा प्रेरणा हुन्, भाव हुन्, संस्कार हुन् । बा छत हुन् जसको आश्रयमा परिवार हुर्कन्छ । खल्तीमा पैसा नभएको पीडा आफ्नै थुक सँग घुटुक्क निलेर सन्ततिका आवश्यक्ता पुरा गर्न अतिरिक्त समय काम गर्छन् बा सुटुक्क खबरै नगरि । ईश्वरले दिएको सुन्दर उपहार हो बा । आफू गरिव नै रहेर सन्तानलाई धनवान बनाउने प्राणीको नाम हो बा । बा को उपस्थिति मात्रै पनि अर्थपूर्ण लाग्छ । रातमा ढुक्कसँग निदाउन बा को सुगन्ध नै काफी हुन्छ । आफ्नो पट्ट फुटेको पैताला भत्किन लागेको आँगनमा टेकेर सन्तानको गगनचुम्बी भवन हेरेर सन्तोष मान्ने प्राणीको नाम हो बा ।
बा ती हुन् जसलाई बुझ्न सहज सकिन्न जस्तो लाग्छ । पन्छाइ दिए सुख हुन्छ भन्दै पन्छाइमा पर्छन् बा । आमा खोइ भन्न लाई बा चाहिए जस्तो आमा खोइको उत्तर भलै नबोक्लान् बा ले तर जिम्मेवारीको संसार बोकेर हिड्छन् । लोग्ने मान्छे भएर रूनु हुन्न, भनिदिए पुग्ने कुरो भयो । बा का आँसु कति होलान्, लुकाएर राख्दा आँसुले पनि ठुलै ठाउँ ओगट्ला । बा ले रूने ठाउँ पनि पाउलान् कि नपाउलान् । आमालाई जस्तो जहाँ पनि जगल्टा फिजाएर रूने छुट बा लाई समाजले दिएको पनि त छैन ।
आमा स्पर्श हुन्, आमा काख हुन् । बा न्यानो हुन्, बा छाया हुन् । बा भनिरहनु पर्ने कथा होइनन् । बा यथार्थ भन्दा पनि विश्वासको परिधि हुन् । बा सँग सँगै बगेकि छिन् आमा भने विशाल स्वर्गको समुद्र हुन्छ घर । मनको बगैँचामा उडेका रहरका पुतलीहरू बा को काँधमा बसेको दिन कम्ता खुसी लाग्दैन । काँध भन्दा संझिएँ, बा को काँधमा आफैं बसेर गोडा हल्लाएको दिन संसारको अग्लो मान्छे आफू लागि रहँदा बा को उचाइले सगरमाथा छोएथ्यो । साँच्चै बा कसैले उछिन्न नसक्ने उचाइ हुन् ।
आमा माया हुन्, आमा स्नेह हुन्, आमा वर्तमान हुन् । यी त्रिवेणीको संगम बा, समग्रको भविष्य हुन् । बा आजलाई होइन भोलिलाई हेर्ने द्रष्टा हुन् । वर्तमान हेर्न आमाको आँखामा आँखा मिलाउँछन् बा र त सन्तानको भविष्य सुन्दर बनाउँछन् । त्यहाँ हुन्छ बा को त्याग । आमासँग डराउँदैनन् होइनन् नि बा, आमाले गाली गर्छे भन्दै हातको घडी हेर्दै भान्छा छिर्छन् बा । सुकिलो लुगालाई नै इज्जत भन्छ समाजले भन्ने बुझ्नै चाहेनन् बा ले र त मैला धैला भिरिरहन्थे आमालाई दुःख हुन्छ भनेर अनि ‘तेरा लुगा त मैला भएछन् नि ’ भनिदिन्थे बा । समाजलाई कसरी बुझेका थिए बा ले थाहै नहुने ।
बा को त्यागले उमेरको हिसाब गर्दैन, समयको ख्याल गर्दैन । ‘ए म त बुढो भएछु’ भनि रहँदा सन्तान उभि सक्छ सुन्दर भविष्यको बगैचामा । त्यही बगैचा हुन् बा, त्यही माली हुन् बा । फूलहरूलाई फुलिदिए हुन्छ । मलजल र बीज बा को जिम्मेवारी । त्यही जिम्मेवारी भित्र लुकेको हुन्छ बा को अदृश्य समय । जीवन भरि आफ्नो समय सन्तानका लागि बेच्न खप्पिस हुन्छन् बा । भलै बा ले बेचेको समयको लेखाजोखा कति गर्लान् सन्तानले । उनीसँग बेच्नलाई समय बाहेक केही नहुन पनि सक्छ । आफूले पाएको प्रकृतिको निःशुल्क उपहार त्यही समय बेचिरहन्छन् बा ।
आसु अभिव्यक्ति हो पीडाको हर्षोल्लास को । बा त व्यक्त हुन पनि सक्दैनन् । पीडाको आँसु पोख्नन जान्नका लागि बा ले पछिल्लो आँसु पनि देखाउन जान्दैनन् । नजानेर पनि कठोरको उपमा भिरेका छन् बा ले । आँसुले ह्दयको मापन गर्छ भनेर बुझेकै छैनन् । कोमल मनकी आमा र कठोर ह्दयका बा यही परिभाषा भित्र अटाएका छन् बा ।
आमा लड्न दिन्नन्, मायाको घेराभित्र राख्छिन् । बा लड्न दिन्छन् र त अघि बढ्न दिन्छन् तर खस्न दिदैनन् । अदृश्य सुरक्षाको लट्टाइ आफ्नै हातमा राखेर स्वतन्त्र चङ्गाझैं उड्न सिकाउँछन् । त्यसैले त बा तरवारका ढाल हुन्, सुरक्षा कवच हुन् । बा ती हुन् नि त । बा सन्तानका लागि सम्यक हुन्, पूर्ण हुन्, संपूर्ण हुन् ।
बा झरिका छाता हुन्, बा अफ्ट्यारो पहाडका बाटा हुन् । बा यी र यस्तै थुप्रै हुन्, ओत हुन् । धेरै कुराका स्रोत हुन् । बा आशा हुन्, भरोसा हुन् । बा लेखिरहँदा धेरै कुरा छुटेका होलान् । बा जस्तै दोहोरिएका पनि होलान् । एउटै बाटो बा ले हजारौं पटक सन्तति उभ्याउन ओहोरदोहोर गरे झैं लेखनीको गोरेटोमा शब्दहरू दौडिएका छन्, हिडेका छन्, घस्रिएका छन्, अन्तमा थकित बा को अनुहार जस्तै थाकेर उभिएका छन् । भोलि बिहान नयाँ उर्जा लिएर उठ्न सुतेका बा जस्तै मेरा शब्दहरू भोलि बा का लागि थुप्रै नयाँ शब्दहरू लिएर उठ्ने अठोट गर्दै अहिलेलाई बा सँगै विश्रान्तिमा छन् । जय होस् यस्ता बा हरूको ।


समिना खनाल ‘पृथा’
[email protected]