• २०८३ कार्तिक १, शनिबार

प्रा.डा. माधवप्रसाद पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार’

काठमाडौं ।

भाषावैज्ञानिक, समालोचक तथा निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेललाई २०८२ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ। ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित साहित्य सन्ध्याको ४८१औँ विशेष शृङ्खलामा अर्पण गरिएको हो ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. अभि सुवेदीले चार दशकभन्दा लामो समयदेखि साहित्य सन्ध्याले निरन्तर सञ्चालन गर्दै आएको वैचारिक तथा साहित्यिक अभियान अनुकरणीय रहेको बताए। उनले सम्मानित व्यक्तित्व पोखरेललाई अथक अनुसन्धानमा निरन्तर सक्रिय दुर्लभ विद्वान्का रूपमा चर्चा गरे । सम्मानित प्रा.डा. पोखरेलले निरन्तर अनुसन्धान र प्राज्ञिक कर्ममा लागिरहेको आफूलाई साहित्य सन्ध्याले सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा प्रा.डा. हेमनाथ पौडेलले समालोचक तथा कवि गोविन्द भट्टको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए। पूर्वमन्त्री तथा साहित्यकार शान्ता मानवी र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले गोविन्द भट्टको साहित्यिक योगदान तथा पुरस्कृत व्यक्तित्व पोखरेलका अनुसन्धान र प्राज्ञिक कार्यबारे धारणा राखेका थिए ।

नेपाल ल क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीले २०३९ साल पुस २ गतेदेखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण गर्ने उद्देश्यसहित साहित्य सन्ध्याको स्थापना गरेको थियो। वैचारिक तथा साहित्यिक अभियानका रूपमा सुरु भएको यस संस्थाले हालसम्म ७८ जना साहित्यकार तथा विशिष्ट व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरिसकेको छ ।