• २०८१ असोज २४ बिहीबार

‘युगकवि सिद्धिचरण श्रेष्ठ’विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रम सम्पन्न

१६, साउन, काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रज्ञा भवनको देवकोटा सभाकक्षमा सोमबार ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’विषयक विचार–गोष्ठी तथा रचनावाचन कार्यक्रम आयोजना गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन युगकवि सिद्धिचरण श्रेष्ठलगायतका विशिष्ट स्रष्टाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।उहाँले भन्नुभयो- “२००७ सालपछि नेपाली समाजको रूपान्तरण प्रक्रियालाई राम्ररी बुझेर सिर्जना लेख्ने कार्यमा सिद्धिचरणको महत्त्वपूर्ण योगदान रहेको छ । प्रगतिशील रूपान्तरणका लागि समानताका पक्षमा पनि उत्तिकै सशक्तरूपमा युगकवि श्रेष्ठले कलम चलाउनुभएको छ ।”

प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवम्  युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाले युगकवि सिद्धिचरण बुहभाषिक स्रष्टासमेत भएको नयाँ जानकारी नेपाली साहित्यले प्राप्त गरेको चर्चा गर्दै यस विषयमा थप खोज र अध्ययन हुनुपर्ने बताउनुभयो ।

उपकुलपति डा. जगमान गुरुङले युगकवि सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुङ्गा’ रचनाको चर्चा गर्दै स्रष्टा र सजर्कले सयौँ रचना सिर्जना गरे पनि एउटै सिर्जनाले स्थापित र लोकप्रिय बनाउने बताउनुभयो ।