• २०८१ भाद्र २४ सोमबार

दोस्रो नामबाट प्रसिद्ध यी बलिउड कलाकार

हिन्दी साहित्यमा जस्तै हिन्दी सिनेमामा पनि धेरैका नामहरू परिवर्तन भएर आएका छन् । जस्तो दिलिप कुमारको खास नाम मुहम्मद युसुफ खानबाट परिवर्तित भएको हो भने राज कपूरको फिल्म आउनुअघिको नाम थियो सृष्टिनाथ कपूर । राज कपूरका भाइ शमशेर राज कपूरबाट शम्मी कपूर भएका हुन् भने धरम देवदत्त पिशोरीमल आनन्दबाट देवानन्द र वसन्त कुमार शिवशङ्कर पादुकोणेबाट गुरुदत्त भएका हुन् । अर्का प्रसिद्ध अभिनेता बलराज साहनीको खास नाम युधिष्ठिर साहनी थियो ।

त्यसो त यी अभिनेताहरूभन्दा अग्रज अशोक कुमार नै नयाँ नाम थियो । उनी कुमुदलाल गाङ्गुलीबाट अशोक कुमार भएका थिए । र उनका भाइ आभास कुमार गाङ्गुलीबाट किशोर कुमार बने । सुनील दत्तको खास नाम बलराज दत्त र राज कुमारको कुलभूषण पण्डित थियो । यसरी नै राजेन्द्र तुलीबाट राजेन्द्र कुमार, हरेकृष्ण गोस्वामीबाट मनोज कुमार, धरम सिंह देओलबाट धर्मेन्द्र, रवि कपूरबाट जितेन्द्र, हरिहर जेठालाल जरीवालाबाट सञ्जीव कुमार, जतिन खन्नाबाट राजेश खन्ना हुनपुेका हुन् ।

प्रसिद्ध अभिनेता–निर्देशक गुरु दत्त पनि वसन्त कुमार शिवशङ्कर पादुकोणेबाट परिवर्तित भएको नाम हो । यो त सबैलाई ज्ञात होला– सुविख्यात अभिनेता अभिताभ बच्चनको न्वारानको नाम इन्किलाब श्रीवास्तव थियो । फिरोज खान पनि जुल्फिकर अलि शाह खानबाट परिवर्तित नाम थियो । यस्तै प्रसिद्ध खलनायक अजितको पहिलाको नाम थियो हमिद अली खान । प्रसिद्ध हास्याभिनेता जोनी वाकरको खास नाम बदरुद्दिन जमाल काजी, जगदीपको सैय्यद इश्तियाक अहमद जाफरी, दक्षिण भारतीय प्रसिद्ध अभिनेता रजनीकान्तको शिवाजी राव गायकवाड र प्रभासको वेङ्कटा सत्यनारायण प्रभास राजु उप्पलापति थियो ।

यस्तै मिथुन चक्रवर्तीको खास नाम गोराङ्गो चक्रवर्ती थियो भने डेनीको तेशरिङ्ग फिन्सतो डेन्जोङ्पा । विश्वनाथ पाटेकरबाट नाना पाटेकर, अजय सिंह देओलबाट सन्नी देओल, विशाल सिंह देओलबाट बबी देओल, विशाल देवगणबाट अजय देवगण, राजीव भाटियाबाट अक्षय कुमार, अब्दुल आमिर हुसेन खानबाट आमिर खान, अब्दुल रशीद सलीम खानबाट सलमान खान, अब्दुल रहमान शाहरुख खानबाट शाहरुख खान र साजिद अली खानबाट सेफ अली बनेका हुन् ।

प्रसिद्ध अभिनेत्रीहरूले पनि फिल्ममा आउँदा नाम परिवर्तन गरेका थिए । जस्तो मीना कुमारीको फिल्ममा आउनुअघिको नाम थियो महजबीं बानो, मधुबालाको मुमताज जहाँ देहलवी थियो । रेखाको पुरानो नाम भानुरेखा गणेशन, श्रीदेवीको श्री अम्मा ऐङ्गर अयप्पन, जय प्रदाको ललिता रानी र तबुको तबस्सुम हाशमी खान थियो । बलिउडमा स्वर दिनेहरूले पनि आफ्नो सुरुवाती नाम परिवर्तन गरेका पाइन्छ । गायिका लता मङ्गेशकरको हेमा मङ्गेशकर, गायकहरू मोहम्मद रफीको कोट्ला सुल्तान सिंह र मुकेशको मुकेशचन्द्र माथुर वास्तविक नाम हो ।

पछिल्लो पुस्ताका केही अभिनेता–अभिनेत्रीहरूले पनि नयाँ नामलाई प्रश्रय दिएका छन् । जस्तो: प्रीति जिन्टा सिंह थर निकालेर प्रीति जिन्टा भइन्, त्यसरी नै रीतु चौधरी महिमा चौधरी र फरहान अहब्राहम जोन अब्राहम भएका हुन् । गोविन्दाको सक्कली नाम थियो गोविन्द अरुण भाटिया र शक्ति कपूरको सुनील सिकन्दरलाल कपूर नाम थियो ।