हुन त धेरै नै बर्ष भइसक्यो
पुरानो भयो, फाट्यो
अन्त्यमा मक्किएर धुजाधुजा भइ
खै कहाँ मिसिन गयो त्यो जुत्ता
हजुरबाले यस्तै दशैँमा
बजारबाट त्यहीँ मिल्ट्री जुत्ता ल्याइदिनु हुँदा
लागेको थियो
संसारमा म भन्दा भाग्यमानीको होला ?
पुरानो भयो, फाट्यो
अन्त्यमा सक्किएर हावामा, खोलामा, आकाशमा
खै कहाँ मिसिन गयो त्यो जुत्ता
हुन त धेरै बर्ष भइसक्यो
हजुरबाले किन्दिएको मेरो त्यो जुत्ता जस्तै
हजुरबा पनि उमेर र आयुको जिन्दगीबाट
क्रमशः मक्किदै मक्किदै
अन्त्यमा यो सांसारिकता बाटै सक्किएर
खै कहाँ मिसिन जानू भो
हुन त धेरै नै बर्ष भइसक्यो
आज म बाउ बनिसक्दा सम्झिरहेछु
हजुरबा भएर अभावमा पनि
दशैँ जस्तो पर्वमा
नातिप्रतिको उत्तरदायित्वको कठघरामा
आफैँलाई उभ्याइरहेको छु
हुन त धेरै बर्ष नै भइसक्यो
तर मलाई पनि सम्झनाका बच्पनाहरूले छोडेका छैनन्
हजुरबाको र मेरो त्यो दशैँ
मैले मिल्ट्री जुत्तापाएको दशैँ पोहोर नै जस्तो लाग्छ
तर, यस्ता दशैँ र यस्ता पोहोरहरू धेरै आएछन्
र ,यसपाली पनि आएको छ एउटा त्यस्तै दशैँ
अक्सर यस्ता दशैँहरू
प्रत्यक साल आउने गर्छन्
मेरो हजुरबाको प्रतिबिम्ब लिएर ।।।
असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]