• २०८३ श्रावण २८, बिहीबार

दुर्गा खनाल काफ्लेको ‘अनुराग र वियोग’ लोकार्पण

दमक,  झापा ।

साहित्य कला सङ्गम दमकले साहित्यकार तथा उपन्यासकार दुर्गा खनाल काफ्लेको नयाँ कृति ‘अनुराग र वियोग’ लोकार्पण गरेको छ । गोखाृ डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’को अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो । कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा। गोपालप्रसाद भण्डारी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कृतिमाथि साहित्यकार शिव रेग्मी ‘प्रणत’ र भीम दाहालले समीक्षात्मक टिप्पणी गरेका थिए। उनीहरूले ‘अनुराग र वियोग’ले प्रेम, सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई साहित्यिक रूपमा प्रस्तुत गरेको चर्चा गरे ।कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार हेम अधिकारी, दमक क्याम्पसका पूर्वक्याम्पस प्रमुख एवं साहित्य कला सङ्गमका सल्लाहकार डा. उत्तम भट्टराई, सल्लाहकार सदस्य पुस्ता राई, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, मिक्लाचोङ साहित्य समाजका अध्यक्ष इन्द्र घिमिरे, नेपाली साहित्य समाज उर्लाबारीका अध्यक्ष यज्ञ परिश्रमी र नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलीप घिमिरेलगायतको उपस्थिति थियो ।

त्यस्तै, कोशी साहित्य प्रतिष्ठानका अध्यक्ष केशु बिरही, ऊर्जाशील साहित्य कला प्रतिष्ठान चारपानेका अध्यक्ष डी. पी. शर्मा, प्रगतिवादी समालोचक प्रा. डा. बद्री विशाल पोखरेल, छथर साहित्य समाजका अध्यक्ष दिनेश थापा, प्राज्ञ सुमित्रा वाङ्देल ‘चेली’ र प्रा. डा. गोपालप्रसाद भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कवि तथा साहित्यकार डा. खगेन्द्रप्रसाद दाहाल, मीना अधिकारी, चिरञ्जीवी काफ्ले, विवश बलिभद्र कोइराला, रोशन यात्रीलगायतले रचना वाचन गरेका थिए ।

संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी ‘झाक्रीखोले’ले स्वागत मन्तव्य राखेको कार्यक्रममा सुरसुधा संगीत विद्यालयको तर्फबाट संस्थाकी उपाध्यक्ष चन्द्रा गडतौलाको टोलीले स्वागत गीत तथा सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम र तेह्रथुमलगायत जिल्लाका करिब तीन सय साहित्यकार तथा स्रष्टाको सहभागिता रहेको आयोजकले जनाएको छ । ‘अनुराग र वियोग’ उपन्यासकार दुर्गा खनाल काफ्लेको चौथो कृति हो । यसअघि उनका ‘मनको विचलन’, ‘प्रेम सरोवर’ र ‘चाँदनी’ उपन्यास प्रकाशित भइसकेका छन् ।