समाचार

ज्ञानु अधिकारीको निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्ध माथि विश्लेषण गर्दै विशेष गरी महिलाहरूलाई उत्प्रेरणा दिने भाव व्यक्त गरिन । साथै “क्षमता भए पनि गृह नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको रोचक कटाक्ष निबन्धमा प्रस्तुत गरिएको छ भनि बताइन ।
नेपाली लेखक सङ्घ, कास्कीकी अध्यक्षसमेत रहेकी अधिकारीले विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँ ठाउँमा आख्यान पढिरहे झैँ लाग्ने भनाइ राखिन् । सङ्ग्रहमा ७ खण्डमा ३७ ओटा निबन्ध सङ्गृहीत छन् ।
निबन्धकार ज्ञानुले अग्रज निबन्धकारहरूको निबन्ध उच्च बौद्धिकताले थिचिँदा उत्पन्न भएको निरसताबाट मुक्त भएर आफूले निबन्ध लेख्ने प्रयास गरेको भनाइ राखिन् । “साहित्यकार व्यक्ति मात्र होइन समष्टि हो, साहित्यकारले आफ्नो व्यक्तिगत कुरा मात्र होइन, समग्र समाजको व्यथा र अवस्था लेख्ने गर्छ ।” निबन्धकार अधिकारीले भनिन्, “महिलालाई पितृसत्ताले अघि बढ्न बाधा उत्पन्न गरेको कुरालाई नकार्न सकिँदैन ।” निबन्ध सङ्ग्रहलाई आफूले आफ्नो परीक्षाका रूपमा समेत लिएका उनकोे भनाइ थियो । आफू निकै सचेत र इमानदार भएर निबन्ध लेख्ने प्रयास गरेको बताउँदै उनले निबन्धमा उल्लेख भएका ‘अमुक’ पात्रलाई निबन्ध सङ्ग्रह कुरियर गरेरै पठाइदिएको अनुभव सुनाइन् । पद्मकन्या क्याम्पसमा प्राध्यापनरत अधिकारी समालोचकका रूपमा बढी परिचित छिन् । यसअघि उनका करिब १ दर्जन समालोचनाका कृति प्रकाशित छन् ।
कार्यक्रममा सुरज पौडेल, हसिना बस्नेत, कृष्ण देवकोटा, डा. ईश्वरमणि अधिकारी, हिममाया पौडेललगायतले टिप्पणी गरेका थिए । सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमुले स्वागत गरेकी थिइन् । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।