वात्सल्य र रंगीन सिउदोको चुनावमा
मेरी आमाले दोश्रो विकल्प रोजिन् ।
मध्य-दिनको घनघोर अध्यारोमा
जब मलाई,
अज्ञातको झाडीमा छाडियो,
आमाको चिन्तित अनुहारमा
सुनिश्चित भविष्यको आभा टल्कियो ।
सायद, मेरी आमा “दयालु” थिइन् !
नत्र, झाडीमा नछाडी,
मृत्युको खाडीमा गाडिदिएको भए !
अथवा, एक मुटु ढुकढुकी छँदै
दुर्भाग्यको बाढीमा बगाइदिएको भए !
आमाका मनभित्र मडारिएका
अन्यौलका घनघोर घनघटा बीच,
सयौंचोटी मर्दामर्दै जन्मिएँ,
र, जन्मिएर पनि हजारौंचोटी मरें ।
सबैभन्दा पहिले,
निरोधको ताल्चा थुनेर,
मेरो अस्तित्वलाई बन्द गर्न खोजियो,
त्यसपछि, बारम्बार
ममाथि भएका हमलाहरूले
हार खाएपछि,
निषेधका सबै बारहरू भत्काएर
जीवनको खुला कारागारमा पाइला राखे ।
चक्रपथ झैं घुम्दाघुम्दा
चटकेको पात्र बनें,
भिखारीको औजार बनें,
भट्टीको धुवाँभित्र
असफलताको सपना माझें,
कुल्ली बनेर
दुखका गल्ली र चोकहरू घुमें,
जीवनको बाटो
अन्त्यहीन घुम्तीमा निरन्तर घुमिरह्यो ।
आकांक्षाका सडकहरूमा
जब मडारिन्थ्यो कालो बादल,
सांगुरो गल्ली फहराउँथ्यो
प्रतिरोधको रातो झण्डा,
कस्सिन्थे मित्रताका हातहरू,
गुन्जिन्थे स्वतन्त्रताका गीतहरू,
फक्रन्थे उत्सर्गका फूलहरू ।
म बुझ्दिनथें कुनै मुक्तिको भाषा,
बुझ्थें केबल भोकको भाषा,
मेरा लागि
मुक्ति, केबल एक पेट तृप्ति थियो ।
पहिचानको महल मौन थियो,
सहस्र संज्ञाले सजिएको थिएँ,
ठेगानाको ठाउँ खाली थियो,
तसर्थ सर्वत्र ठेगाना थियो,
समाजको नजरमा खाते थिएँ,
घुमन्ते, आवारा, मगन्ते थिएँ ।
आन्दोलनको अवसरमा
मेरो मागले
सगरमाथाको माथा छुन्थ्यो,
ब्यूह रचनामा
मेरो भागमा
शिखन्डीको मोर्चा पथ्र्यो,
मरि नै हाले पनि
चस्कने कुनै छाती थिएन,
बिदाइका दुई थोपा शब्दहरू,
श्रद्धाञ्जलीका दुई हरफ अश्रुहरू,
हृदयको मसीले रचिदिने कोही थिएन ।
जब निषेधका रेखाहरू तोडिन्थे,
मेरो मागको ग्राफ अचानक ओरालो लाग्थ्यो ।
प्वाल परेको जुटको बोरा ओढेर,
पेटीमा सुतेको मलाई देख्दा,
जुन नारी आँखाले मायालु स्पर्श गर्छ,
म अनुमान गर्छु-
ऊ कसैको आमा हुनुपर्छ ।
अनन्त प्रकृतिमा
हराएका अनगिन्ती रंगहरूमध्ये,
कुनै एउटा रंग
आँखाबाट नदेखिदै टुटिएको
मेरो आफ्नै सपनाको रंग हुनुपर्छ ।
इतिहासका
असंख्य वेदीहरूमा समर्पित,
अथाह बलिहरूमध्ये,
कुनै एउटा बलि
लेख्न बाँकी छँदै छुटिगएको
मेरो आफ्नै भविष्यको बलि हुनुपर्छ ।
वैभवका भव्य महलहरूमा
जति धेरै झुमर बालिएको होस्,
एउटी आमाको उपस्थिति बिना
लाखबत्ती अन्धकार हुन्छ ।
मानव सभ्यताको सबैभन्दा सुन्दर शब्द
सायद “आमा” हुनुपर्छ ।
स्मृतिमा सबैभन्दा बढी आउने बिम्ब
“आमा” कै बिम्ब हुनुपर्छ ।
हृदयमा सबैभन्दा बढी गुन्जिने ध्वनि
“आमा” हुनुपर्छ ।
मनको सबैभन्दा न्यानो अनुभूति
र सुरक्षा को अन्तिम प्रत्याभूति,
संभवतः “आमा” हुनुपर्छ ।
कहिलेकाहीं सोच्छु, सोच्ने गर्छु-
यो विराट धर्तीमा
मेरी आमाजस्तै
असंख्य आमाहरू छन्,
तीमध्ये, केवल एउटी आमाले
वात्सल्यको आँचलले
विरहको आँसु पुछिदिए हुन्न ?
“पुत्र !” सम्बोधन सुन्न म,
कुन्ती पुत्र झैं
प्रत्याशाको अन्तहीन सागरमा
युगौंयुगदेखि तडपिरहेछु ।
दीपक चौलागाईं