शायरा र सलिमा घुम्ने बानी परेका सहेलीहरू हुन् । यसपालि मनकामना जाने योजना मिलाए । घरमा राम्रो बन्दोबस्त छ दुबैको, पतिहरू कारोबारी, घरमा त्यति नबस्ने । शायरा अलि खुल्ला स्वभावकी, बढी राम्री । “म राम्री छु ! “रूपोष्मा पनि छ । सलिमा अलि गम्भीर, प्रियदर्शिनी नै । मन मिलेको छ । सामाजिक सन्जालको जमाना । अतिरिक्त पुरुषहरूसित अलि अलि कुरा हुनु सामान्य, युगानुसार ।
मार्ग महिना । सुन्तला पाकेका । बोटकै टिपेर खाने इच्छा गरेर मगर दाइसित अनुमति लिई लागे सुन्तलाको बुटोतिर । सलिमाले केही सुन्तला टिपी । शायरा एउटा अग्लो बुटोको माथि फलेको सुन्तला टिप्ने असफल प्रयत्न गर्न थाली । सकिन । तर प्रयास जारी । साथीको पारा देखेर सलिमा जिल्ल ।“ अरे साथी, जुन बुटाको खाए पनि उही सुन्तला हो । किन त्यसैलाई मरिहत्ते गरेकी ? जिद्दी स्वभाव के तेरो, अझ पनि गएन । “सलिमाको कुरा सुनेर शायराको अनुहार गम्भीर भयो । “किन त्यस्तो अनुहार बनाएकी ? के भयो ?“ “ धन्यवाद साथी, जय मनकामना माई ! मेरो एउटा उल्झनको हल दियो साथी तिम्रो यो बोलीले ! यो सुन्तलाको बुटोलाई पनि धन्यवाद !“ “ किन यति भावुक बनेकी ? के रहस्य हो ?“ सलिमा अझै दङ्ग । “साथी, मेरो एक जना कविसित लभ पर्ला जस्तो भएको थियो, मन अलि डराएको । च्याटमा लामो कुरा हुन्छ, अझ पनि । मैले नै घरमा बोलाएकी । सुदर्शन छ । मन तानियो । तर अब आँखा खुले । जुन बुटाको सुन्तला खाए पनि उही त हो ! वाह, कति गहिरो जीवन दर्शन ! आखिर सलिमा, हरेक पुरुष उही त हो । हरेक नारी पनि उही त हो ! किन यो मन यस्तो ? धन्यवाद साथी, आजै ब्लक गर्छु त्यो कविलाई !“ “किन ब्लक गर्नुपर्यो, मर्यादित गफ गरे हुन्छ । मेरा पनि छन् फेसबुके पुरुष साथीहरू, खोई त आजसम्म कुनै तनाव छैन । शालीन, सभ्य र विवेकी पुरुषहरू पनि हुन्छन् । मन हो साथी मन !“
“ धन्यवाद साथी ! आज तेस्रो नेत्र खुल्यो !“
धनराज गिरी