म शरीरको कवि हुँ अनि आत्माको कवि
स्वर्गको सुख छ मसँग
अनि क्रन्दन छ नर्कको मसँग
खुसीलाई म बनाउँछु अनि बढाउँछु
दुःखलाई नयाँ परिभाषामा बदल्छु ।
म त्यति नै महिलाको कवि हु, जति पुरुषको
अनि म भन्छु-
महिला हुनु पुरुष हुनुजतिकै गरिमामय छ
म भन्छु-
मान्छेको आमाभन्दा महान् केही हुँदैन ।
म समृद्धि या गौरवको गीत गाउँछु
धेरै भयो लुक्ने-लुकाउने खेल
म आकार स्वाभाविक परिवर्तन हो भन्ने देखाउँछु ।
तिमी अरूभन्दा महान् के भयौ ?
राजा हौ र ?
यो झिनोमसिनो कुरा हो,
सबै आउँछन् र जान्छन् ।
म त्यो हुँ-
जो फैलिँदो जटिल र व्याप्त रातसँग हिँड्छु
रातको शिथिल अँगालोमा
धर्ती र समुद्रलाई
म डाक्दछु ।
मेरो समीप आऊ-
ए खुल्ला रात
अझै समीप आऊ
जिजीविषा बढाउँदो चुम्बकीय रात !
दक्षिणी हावा सिर्सिराएको रात
अलिक धेरै तारापूर्ण रात ।
अहिलेसम्म अनिँदो रात- ए नाङ्गो बहुलाहा गर्मीको रात ।
ए चिसो सासयुक्त विशाल धर्ती, मुस्कुराऊ !
उँघ्दो र पग्लिँदो वृक्षयुक्त धर्ती !
व्यतीत सूर्यास्तवाला धर्ती
तुवाँलोमा पुरिएको
शैलशिखरयुक्त धर्ती !
सिसाजस्तै चम्किलो
हल्का नीलो पूर्णिमाको चाँदनीपूर्ण धर्ती !
नदीको छालमा टल्केको
मेरा लागि निर्मल अनि छायाँपूर्ण धर्ती ।
तुँवालो-कुहिरोपूर्ण धर्ती
क्षितिजलाई अँगालोमा हाल्ने धर्ती
फुल्दै गरेका स्याउको
गाढा सुगन्धपूर्ण धर्ती !
मुस्कुराऊ !
तिम्रो प्रेमी आइपुगेको छ
ए अनन्त दानी !
तिमीले मलाई प्रेम दियौ
यसैले म पनि प्रेम दिन्छु तिमीलाई
ए निःशब्द अगाध प्रेम !
अनुवाद: रमण घिमिरे