भियतनामी कविता

काठमाडौं, साउन १५ गते ।
१२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता- २०७९’ घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्षको प्रतियोगिता घोषणा गरिएको हो । यो कथा प्रतियोगिताको चौंथो संस्करण हो । नेपाली आख्यान साहित्यमा स्थापित साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहितगर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।
यस वर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइराला, साहित्यकार सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा हुनुहुन्छ । प्रतियोगितामा प्राप्त भएका कथा मध्यबाट ब्राहखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छानेर ती मध्यबाट निर्णायक समूहले उत्कृष्ट कथा २०७९ पुस्तकका लागि २५ वटा छान्ने र त्यसमध्यबाट प्रथम, द्वितीय र तृतीयकथाको घोषणा गरिनेछ ।
प्रतियोगितमा सर्वोत्कृष्ट तीन कथालाई अघिल्लावर्ष जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ । त्यस्तै, अन्तिम चरणसम्म पुग्न सफल भएका २५ कथाको पुस्तक प्रकाशन गरिनेछ र संग्रहमा प्रकाशित हुन बाँकी २२ कथालाई जनही पाँच हजार रुपियाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनमा मुख्य निर्णायक प्रा.डा. कुमारप्रसाद कोइरालाले सबैभन्दा कलात्मक र सुन्दर सञ्चार माध्यम नै साहित्य भएको बताउनुभयो । कोइरालाले सर्जकसँगै पाठकको पनि उत्तिकै महत्त्व रहेको जानकरी दिनुभयो । बाह्रखरी कथा प्रतियोगिताका पहिलो संस्करणका विजेता बिना थिङ तामाङले आफ्नो अनुभव बताउँदै कथामा चरित्र स्थापित गर्नु नै कथाकारको दायित्व रहेको बताउनु भयो । कथाकारले आफ्नो कथामा मनोदशा र मनस्थितिलाई उतार्नु पर्ने उहाँको अनुभव छ ।
प्रतियोगितामा भागलिन इच्छुक कथाकारले आफ्नो कथा २०७९ भदौ १४ गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ । कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा- २०७९’ को लोकार्पण समेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगिता’मा भागलिन सक्नेछन् ।
प्रतियोगितामा भाग लिन यस्ता छन् नियम:
कथा नेपाली भाषामा लेखिएको हुनु पर्नेछ ।
अघिल्लो वर्षको प्रतियोगिताका लागि प्राप्त कथा दोर्होयाएर पठाउन पाइने छैन ।
कथा अप्रकाशित र अप्रसारित हुनु पर्नेछ । प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन ।
छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
‘बाह्रखरी कथा प्रतियोगिता’मा भागलिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १५ सय शब्द र बढीमा चार हजार शब्दसम्मको हुनुपर्नेछ ।
प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हाल सालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोन मार्फत् सम्पर्क गर्नेछ ।