काठमाडौँ – अन्तर्राष्ट्रिय बुकर पाउने पहिलो हिन्दी लेखक गीतांजलि श्री बनेकी छिन् । सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार गीतांजलि श्रीको ’द टम्ब अफ स्यान्ड’ ले पाएको छ । सन् २०१८ मा हिन्दीमा ’रेत समाधि’ शीर्षकमा प्रकाशित उपन्यासलाई डेजी रकवेलले अनुवाद गरेकी हुन् ।
पहिले १३ पुस्तकको लङलिस्टमा छनोट हुँदै ’टोम्ब अफ स्यान्ड’ अन्तिम सूचीमा पर्न सफल भएको थियो । जसमा ’हेभन’, ’एलेना नोज’, ’अ न्यु नेम’, ’दबुक्स अफ ज्याकोब’ र ’कर्स्ड बन्नी’ थिए ।
उत्तर भारतीय परिवेशमा आधारित उपन्यास ’रेत समाधि’ ले एक जना ८० वर्षीया महिलाको कथा भन्छ । धर्म, देश र लैंगिक आधारमा हुने गरेका विभेदबीच ’रेत समाधि’ ले समकालीन विषयलाई रमाइलो र वास्तविक रूपमा उठाउन सफल भएको बुकरले जनाएको छ । बुकर पुरस्कारका निर्णायक मण्डलका प्रमुख फ्र्यांक वायने भन्छन्, ’यो भारत र विभाजनका बारेमा चम्किलो उपन्यास हो । जसमा रहेको मन्त्र मुग्धता र उग्र करुणा, यौवन तथा उमेर, महिला र पुरुष, परिवार र राष्ट्रका कुरालाई रंगीन रूपमा प्रस्तुत गरिएको छ ।’
पुरस्कार ग्रहण गर्दै श्री भन्छिन्, ’मैले बुकर पुरस्कार पाउने कल्पना पनि गरेकी थिइनँ । मैले सोचेकी थिइनँ कि म यहाँ पुग्छु । यो एउटा ठूलो पुरस्कार हो । मैले निकै खुसी र सम्मानित महसुस गरेकी छु ।’
दक्षिण एसियामा समृद्ध साहित्यिक परम्परा रहेको उल्लेख गर्दै उनले भनिन्, ’म र यो पुस्तक दक्षिण एसियाली भाषाहरूमा रहेको एक समृद्ध साहित्यिक परम्परासँग जोडिएको छ । विश्व साहित्य यी भाषाका केही उत्कृष्ट लेखकसँग परिचित हुँदै समृद्ध हुनेछ । ’पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ जुन लेखक र अनुवादक बीचमा बराबरी बाँडिनेछ ।
गीतांजलि श्री करिब ३ दशकदेखि लेखन कार्यमा सक्रिय छिन् । उनको पहिलो उपन्यास ’माई’ हो । त्यसपछि ’हमारा शहर उस बरस’, ’तिरोहित’, ’खाली जगह’लगायतका कृति प्रकाशित भएका छन् । थिएटर लेखनमा समेत सक्रिय रहेकी उनका साहित्येत्तर लेखनमा भने हिन्दी र अंग्रेजी दुवै भाषामा लेख्छिन् । उनी वनमाली राष्ट्रिय पुरस्कार, हिन्दी अकादमी साहित्यकार सम्मानबाट समेत सम्मानित लेखक हुन् ।
त्यस्तै अमेरिकामा बसेर साहित्यकर्ममा सक्रिय डेजी रकवेल अनुवाद साहित्यमा चर्चित नाम हो । उनले हिन्दी र उर्दू भाषामा प्रकाशित थुप्रै पुस्तक अनुवाद गरेकी छिन् । उनले विद्यावारिधिनै हिन्दी साहित्यकार उपेन्दरनाथ अश्कको उपन्यास ’गिरती दिवारेँ’ मा गरेकी थिइन् । उनले अश्क सहित खादीजा मस्तुर, भीष्म साहनी, उषा प्रियंवदा, कृष्ढा सोबती लगायतका उपन्यास अनुवाद गरेकी छिन् ।